शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : ‘प्रधानमन्त्री सुशीलाको पदभार ग्रहण’देखि ‘सुमनाले त्यागिन् रास्वपा’ सम्म

आइतबार, २९ भदौ २०८२, २२ : ००
आइतबार, २९ भदौ २०८२

आज २०८२ भदौ २९ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा प्रधानमन्त्री सुशीलाले औपचारिक रूपमा सम्हालिन् जिम्मेवारी, सुमनाले त्यागिन् रास्वपा, आन्दोलनको निसाना बनेका सरकारी कार्यालयमा जे देखियो, रेशम चौधरीले छाडे नागरिक उन्मुक्ति पार्टी, कार्यसम्पादन समिति बैठकमा देउवाबारे मौन कांग्रेसले अर्को विज्ञप्तिमा समेट्यो आक्रमणको प्रसङ्ग, महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त लगायत छन् ।

१. प्रधानमन्त्री सुशीलाले औपचारिक रूपमा सम्हालिन् जिम्मेवारी 
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार औपचारिक रूपमा जिम्मेवारी सम्हालेकी छन् । आइतबार सिंहदरबार परिसरस्थित कार्यालयमा उनले पदभार ग्रहण गरेकी हुन् ।

२. सुमनाले त्यागिन् रास्वपा
पूर्वमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेकी छन् । उनले विभिन्न विषयमा असन्तुष्टि जनाउँदै पार्टीबाट अलग भएको घोषणा गरेकी हुन् ।

३. आन्दोलनको निसाना बनेका सरकारी कार्यालयमा जे देखियो 
जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा विभिन्न मन्त्रालयका साथै सरकारी कार्यालयहरू निसाना बने । आगजनी र तोडफोडबाट नष्ट भएका कार्यालयहरूमा सरसफाइको काम सुरु भएको छ ।

४. रेशम चौधरीले छाडे नागरिक उन्मुक्ति पार्टी
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेको घोषणा गरेका छन् । उनले नयाँ पार्टी खोलेर राजनीतिमै अघि बढ्ने घोषणा गरेका छन् ।

५. कार्यसम्पादन समिति बैठकमा देउवाबारे मौन कांग्रेसले अर्को विज्ञप्तिमा समेट्यो आक्रमणको प्रसङ्ग 
कार्यसम्पादन समितिको बैठकमा नेपाली कांग्रेसले आफ्ना सभापति शेरबहादुर देउवा दम्पतीमाथि आन्दोलनका क्रममा भएको आक्रमणबारे कुनै प्रतिक्रिया जनाएको थिएन । आइतबार अर्को विज्ञप्ति जारी गर्दै कांग्रेसले देउवा दम्पतीमाथि भएको आक्रमणको निन्दा गरेको छ । 

६. महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त
सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् । यसअघि सो पदबाट रमेश बडालले राजीनामा दिएका थिए ।

७. कारागारबाट बाहिरिनु रविका लागि ‘ब्याक फायर’ भएकै हो ?
जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा नख्खु कारागारबाट बाहिरिएका रास्वपाका सभापति रवि लामिछाने फेरि कारागार पुगेका छन् । उनी जेलबाट बाहिरिएको विषयलाई लिएर जेनजी युवाले कडा आपत्ति जनाएका थिए । आइतबार रास्वपाकै नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् ।

८. माओवादीसँग एकता गर्न नेकपाले बनायो वार्ता टोली
विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसहित विभिन्न कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि वार्ता टोली गठन गरेको छ । केन्द्रीय कार्यालय कपिलवस्तुमा भदौ २३ देखि २५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्य वार्ता समिति गठन गरेको हो ।

९. जेनजीको पत्रकार सम्मेलनमा कुटपिट
आइतबार जेनजीको पत्रकार सम्मेलनमा कुटपिट भएको छ । जेनजीका विषयमा भइरहेको विवाद लगायतमा ‘हामी नेपाली’ नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा कुटाकुट भएको हो ।

१०. दसैँमा यातायात सञ्चालनबारे सरोकारवालाको ६ बुँदे निर्णय 
चाडपर्वका बेला यात्रीलाई सहजीकरण गर्ने सम्बन्धमा सरोकारवालाको बैठकमा ६ बुँदे निर्णय भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा ती निर्णय गरिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप