शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: महराविरुद्ध अभियोगपत्र पेस, प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा एमाले अडिग

मङ्गलबार, २८ असोज २०८२, ०० : ००
मङ्गलबार, २८ असोज २०८२

सारांश

  • कृष्ण बहादुर महराविरुद्ध अभियोगपत्र पेश गरिएको छ।
  • एमाले प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा अडिग रहेको छ ।
  • नेपाली कांग्रेसमा महाधिवेशनको विषयमा बहस भइरहेको छ।

काठमाडौँ । आज २०८२ असोज २७ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

१. महराविरुद्ध अभियोगपत्र पेस

पूर्वसभामुख कृष्ण बहादुर महराविरुद्ध सरकारी वकिलले अदालतमा अभियोगपत्र पेस गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो ।

२. प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा एमाले अडिग
नेकपा एमाले प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा अडिग देखिएको छ । सडक र अदालतबाट आफ्नो एजेन्डा स्थापनाका लागि अघि बढ्ने एमालेको निधो छ ।

३. जेनजी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने तेन्जिङमाथि अनुसन्धान जारी

जेनजी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने तेन्जिङ दावामाथि प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान जारी राखेको छ । उनको घरबाट नक्कली पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

४. अन्ततः अस्ताइसकेछन् विपिन जोशी

हमासको नियन्त्रणमा रहेको भनिएका विपिन जोशी अन्ततः जीवित नरहेको पुष्टि भएको छ । हमासले जोशी जीवित नरहेको सोमबार जानकारी दिएको हो ।

५. नियमित महाधिवेशनतिरै मोडिँदै कांग्रेस

नेपाली कांग्रेसमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने बहस भइरहेको समयमा संस्थापन पक्ष र इतरपक्षकै कतिपय नेता नियमित महाधिवेशनकै पक्षमा खुल्न थालेका छन् । उनीहरू कार्यवाहक सभापति तोकेर नियमित महाधिवेशनमा जानुपर्ने तर्क गरिरहेका छन् ।

६. दलित समुदायबाट एआईजी हुने पहिलो बने विक

डम्बर विक दलित समुदायबाट नेपाल प्रहरीको एआईजी हुने पहिलो व्यक्ति भएका छन् । उनले प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागको जिम्मेवारी सम्हालेका छन् । 

७. लयमा फर्किने तयारीमा सर्वोच्च अदालत

जेनजी आन्दोलनबाट भौतिक संरचनामा क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका रिट बाहेक अन्य सेवा स्थगित गरेको सर्वोच्च अदालतले मंगलबार (भोलि)देखि नियमित रिट दर्तासहितका काम थाल्ने भएको हो ।

८. निर्वाचनको पक्षमा खुल्यो एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले आफूलाई निर्वाचनको पक्षमा उभ्याएको छ । सचिवालय बैठकमार्फत एकीकृत समाजवादीले पार्टी एकताका लागि चलिरहेको वार्तालाई निष्कर्षमा पुर्‍याउने तथा निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको हो ।

९. कांग्रेसको महाधिवेशन कहिले ?

नेपाली कांग्रेसको बिहीबार र शुक्रबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक तथा शनिबार र आइतबार कार्यसम्पादनसहित पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसे पनि कुन महाधिवेशन गर्ने र कहिले गर्ने भन्ने टुङ्ग्याउन सकेको छैन ।

१०. अनुदान रोकिएपछि निर्यात उद्योगी–व्यवसायी चिन्तित

सरकारले एक दशकदेखि निर्यात उद्योगी व्यवसायीहरूलाई दिँदै आएको अनुदान खारेज गरेको छ । स्रोत अभावको कारण देखाउँदै सरकारले अनुदान खारेज गरेको हो । व्यवसायीहरूले सरकारको निर्णयले नेपालको विदेशी मुद्रा आर्जन र आयात प्रतिस्थापनमा गम्भीर असर पर्ने प्रतिक्रिया दिएका छन् ।

११. दुर्गा प्रसाईंको दाबी– यो सरकार टिक्दैन

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दाबी गरेका छन् ।

१२. भयावह बन्दै नसर्ने रोग 

पछिल्ला केही वर्षयता नेपाल सरुवा रोगभन्दा नसर्ने रोगबाट प्रभावित हुन थालेको छ । 

जनस्वास्थ्यविद्हरूका अनुसार फैलिँदो नसर्ने रोगहरूका कारण जनस्वास्थ्य प्रणालीमाथि नै चुनौती थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुख्यतः नसर्ने १० रोगहरूमा तीव्र गतिमा वृद्धि भइरहेको छ; जसमा मधुमेह, क्यान्सर, सीओपीडी, दम (दम), पुरानो मिर्गौला रोग, बाथ मुटु रोग, स्ट्रोकका केसहरू, हृदयघात र थाइरोइडजस्ता रोगहरू छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप