बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
महाधिवेशन विवाद

पदाधिकारीसहितका सदस्यले नै साथ छोडेपछि दबाबमा कांग्रेसको संस्थापन समूह

शुक्रबार, २१ कात्तिक २०८२, २० : ००
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेसमा महाधिवेशनको मिति टुंगो लाग्न सकेको छैन, दुई फरक कार्यतालिका प्रस्तुत भएका छन्।
  • महामन्त्री थापाले निर्वाचन अगाडि र सहमहामन्त्री यादवले निर्वाचनपछिको महाधिवेशन प्रस्ताव गरेका छन्।
  • संस्थापन पक्षमाथि इतर समूह र केन्द्रीय सदस्यहरूको दबाब बढेको छ, जसले महाधिवेशनबारे अन्योल सिर्जना गरेको छ।

काठमाडौँ । नेपाली कांग्रेसमा महाधिवेशन सम्बन्धी विवाद सुल्झिन सकेको छैन । पदाधिकारीसहितका केन्द्रीय सदस्यहरूले महाधिवेशनसम्बन्धी विवादमा इतर समूहलाई साथ दिएपछि संस्थापन पक्ष दबाबमा परेको छ । गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा १५औँ महाधिवेशनबारे दुई कार्यतालिका पेस भएका छन् । 

महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने तालिका मंगलबारको बैठकमा पेस गरेका थिए । महाधिवेशनसम्बन्धी यी दुई तालिकाको अर्को अर्थ पनि छ । महामन्त्री थापाले प्रस्तुत गरेको तालिका आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन अगाडि हो भने सहमहामन्त्री यादवले प्रस्तुत गरेको तालिका निर्वाचन पछाडिको हो । यादवले संस्थापनको प्रतिनिधित्व गर्दै र थापाले पार्टीभित्रको इतर समूहको प्रतिनिधित्व गर्दै बैठकमा तालिका प्रस्तुत गरेका हुन् । 

बैठकमा विधानविपरीत तालिका प्रस्तुत भएको भनेर अधिकांश नेताहरूले प्रश्न गरेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री यादवको कार्यतालिकालाई व्यक्तिगत भएको भन्दै सामसुम पार्ने प्रयास गरे । बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा खड्काले यादवको तालिका व्यक्तिगत भएको बताएपछि संस्थापन पक्षका नेताहरू उनीसँग रूष्ट बनेको बताइन्छ । 

तर, निकटस्थ स्रोतका अनुसार सिंगापुरमा उपचारको क्रममा रहेका सभापति शेरबहादुर देउवासँगको कुराकानीपछि कार्यवाहक सभापति खड्काको अनुमतिमा यादवले कार्यतालिका पेस गरेका थिए । यादवले प्रस्तुत गरेको तालिकामा पार्टीका पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला, डा.प्रकाशशरण महतसहित सिङ्गो संस्थापन पक्षको साथ छ । 

संस्थापनलाई बिहीबारसम्म इतर समूहका नेता डा. शेखर कोइरालाले महामन्त्री थापासँगको इगोका कारण आफूहरूलाई साथ दिन्छन् भन्ने लागेको थियो । जब नेता डा. कोइरालाले शुक्रबार बिहान आफ्नै सम्पर्क कार्यालयमा केही केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिहरूसँग निर्वाचन अगाडि नै महाधिवेशन गरेर नयाँ नेतृत्वसहित निर्वाचनमा होमिनुपर्छ भनेपछि संस्थापन पक्ष छाँगाबाट खसेझैँ भएको छ । 

‘१५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्छ भनेर धेरै पहिलेदेखि भन्दै आएको छु । समयको चाप, अवस्था आदिका कारण मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्छ,’ डा.कोइरालाले भने, ‘आउँदो आमनिर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा निर्वाचनमा जानुपर्छ ।’

त्यतिमात्रै होइन, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशनको माग गर्दै २ हजार ४८८ जनाको हस्ताक्षरसहित गत असोज २९ गते कार्यवाहक सभापति खड्कालाई बुझाएका छन् । पार्टी विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर हस्ताक्षरसहित निवेदन दिएमा तीन महिनाभित्र विशेष महाधिवेशन गर्ने व्यवस्था छ । त्यो हस्ताक्षर संख्या ४० प्रतिशतभन्दा बढी भएकाले दबाब महसुस गरेको संस्थापन पक्ष झन् महाधिवेशनको कार्यतलिकामा बहस भइरहँदा १४ औँ महाधिवेशनमा संस्थापन प्यानलबाट जितेका पदाधिकारी र सदस्यहरूले नै साथ छोडेपछि दबाबमा परेको छ । 

केन्द्रीय कार्यसमितिमा सहज बहुमत भएको संस्थापनको भित्री रणनीति सहमहामन्त्री यादवको कार्यतालिका बहुमतबाट पास गर्ने थियो । बैठकमा धारणा राख्ने क्रममा आफ्नो पक्षका सदस्यहरूले नै त्यो कार्यतालिकाको विपक्षमा मत राखेपछि संस्थापन पक्ष अप्ठ्यारोमा परेको नेताहरू बताउँछन् । 

२०७८ सालमा भएको १४औँ महाधिवेशनमा वर्तमान सभापति देउवा प्यानलबाट सहमहामन्त्री जितेका फरमुल्लाह मन्सुरले केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै बुधबार स्पष्ट रूपमा आफूले सहमहामन्त्री यादवले प्रस्तुत गरेको महाधिवेशनको कार्यतालिकामा आफ्नो समर्थन नरहेको बताइदिए । 

त्यतिमात्रै होइन, मन्सुरले संस्थापन पक्षलाई सकभर नियमित, नभए विशेष महाधिवेशन गरेर भए पनि घोषित प्रतिनिधि सभा निर्वाचनपछि महाधिवेशन गर्न नदिन कम्मर कसेर लागेका महामन्त्री थापालाई भावी सभापति र प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा जानुपर्ने बताए । ‘जनताको चाहना र नेताको प्रभावका आधारमा गगनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा जानुपर्छ,’ मन्सुरले भने ।

मन्सुरमात्र होइन, संस्थापनका अरु नेताहरू पनि महाधिवेशनलाई निर्वाचनपछि लैजान नहुने पक्षमा छन् । अहिलेसम्म धारणा राख्ने संस्थापन पक्षका केन्द्रीय सदस्यहरूमध्ये केहीले खुलेरै थापाको समर्थन गरेका छन् । 

केन्द्रीय कार्यसमिति बैठकमा बिहीबारसम्म ९५ केन्द्रीय सदस्यले धारणा राखेका छन् । संस्थापनइतरका सबैले थापाको कार्यतालिकाको समर्थन गरेका छन् । संस्थापनका सबैले यादवको तालिकालाई समर्थन नगरी केहीले थापाको तालिकालाई समर्थन गरेका छन् । 

केन्द्रीय सदस्यहरू डिला संग्रौला, मोहन आचार्य, तारामान गुरुङ, मदन अमात्य, आङ्गेलु शेर्पा, दिलमान पाख्रिन, बहादुर सिंह लामा तामाङ, जिपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, भरतकुमार शाह, अब्दुल सत्तार, नैनसिंह महर, विनोद चौधरीलगायतले निर्वाचनअघि नै पार्टीको महाधिवेशन गरी नयाँ नेतृत्व लिएर निर्वाचनमा जानुपर्ने बताएका छन् । 

बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा केन्द्रीय सदस्य बहादुर सिंह लामाले केन्द्रीय समिति बैठकमा आफूलाई मुख्यमन्त्रीबाट हटाउन २४ घण्टामा निर्णय गर्न सक्ने संस्थापनका नेताहरूलाई पार्टीको महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अगाडि गर्न केले रोक्यो भन्दै प्रश्न गरेका थिए । संस्थापनकै पूर्वपदाधिकारीहरू निधि, डा. कोइराला, सिंह, डा. महत र गोपालमान श्रेष्ठको दबाबमा लामालाई मुख्यमन्त्रीबाट हटाएर कांग्रेसकै सांसद इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाइएको थियो । कार्यवाहक सभापति खड्का समेत आफ्ना विश्वासपात्र बानियाँलाई मुख्यमन्त्री बनाउन कम्मर कसेर लागेका थिए । 

अर्का केन्द्रीय सदस्य तारामान गुरुङले त आफूले कृष्ण सिटौलालाई नेता माने पनि निर्वाचनपछि महाधिवेशन गर्ने उहाँको धारणामा सहमत हुन नसक्ने धारणा केन्द्रीय कार्यसमिति बैठकमा राखेका थिए ।

बैठकमा अधिकांश केन्द्रीय सदस्यले जेनजी आन्दोलनले पार्टीमा नयाँ नेतृत्व र संगठन खोजेको भन्दै त्यो भनेको नियमित महाधिवेशनबाट मात्रै सम्भव हुने बताएका छन् । 

महाधिवेशनबारे पक्ष र विपक्षमा बहस लम्बिएपछि कांग्रेसले राष्ट्रिय राजनीति, प्रतिनिधि सभा विघटन र निर्वाचनबारे संस्थागत निर्णय लिन सकेको छैन । केन्द्रीय कार्यसमिति बैठक सुरु भएको तीन साता बित्दा पनि महाधिवेशनबाहेक अन्य विषयमा छलफल हुन सकिरहेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप