शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : जेनजी आन्दोलनबारे दुई वटा आयोगमा ओलीको बयान, ओली–प्रचण्ड भेटवार्ता

आइतबार, २० पुस २०८२, २२ : ००
आइतबार, २० पुस २०८२

सारांश

  • केपी शर्मा ओलीले जेनजी आन्दोलनबारे दुई वटा आयोगमा बयान दिए।
  • रास्वपाले बालेन शाहसहित २६ जनालाई केन्द्रीय समितिमा मनोनयन अनुमोदन गर्यो, र पदाधिकारी थप्ने निर्णय गर्यो।
  • कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशनको माग गर्नेमाथि एक्सन लिने तयारी थालेको छ।

आज २०८२ पुस २० गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा जेनजी आन्दोलनबारे दुई वटा आयोगमा ओलीको बयान, रास्वपामा बालेन पक्षबाट को–को बन्दैछन् पदाधिकारी ?, विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस संस्थापन पक्षको ‘एक्सन’, ओली–प्रचण्ड भेटवार्ता, एमालेका शीर्ष नेता कहाँबाट लड्दैछन् चुनाव ?, सुमो दुर्घटनामा ६ जनाको मृत्यु लगायत छन् ।

१. जेनजी आन्दोलनबारे दुई वटा आयोगमा ओलीको बयान
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनबारे दुई वटा आयोगमा बयान दिएका छन् । उनले राष्ट्रिय मानव अधिकार आयोगको टोली र जाँचबुझ आयोगलाई बयान दिएका हुन् । ओली जेनजी आन्दोलन हुँदा प्रधानमन्त्री थिए ।

२. रास्वपामा बालेन पक्षबाट को–को बन्दैछन् पदाधिकारी ?
राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहसहित २६ जनालाई केन्द्रीय समितिमा गरिएको मनोनयन अनुमोदन गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले २६ जनाको मनोनयन अनुमोदन गर्नुका साथै पदाधिकारी थप्ने निर्णयसमेत गरेको छ । थपिने पदाधिकारीमा अधिकांश बालेन पक्षका रहनेछन् ।

३. विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस संस्थापन पक्षको ‘एक्सन’
कांग्रेसमा विशेष महाधिवेशनको माग गर्नेमाथि संस्थापन पक्षले ‘एक्सन’ लिने तयारी थालेको छ । सोही क्रममा प्रदेशका विभिन्न कांग्रेसमन्त्रीले पद गुमाउने भएका छन् । विशेष महाधिवेशनको पक्षमा खुलेका मन्त्रीलाई हटाउने तयारी भएको स्रोत बताउँछ । यसैबिच कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकसमेत बोलाएको छ ।

४. ओली–प्रचण्ड भेटवार्ता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबिच आइतबार भेटवार्ता भएको छ ।

५. एमालेका शीर्ष नेता कहाँबाट लड्दैछन् चुनाव ?
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले प्रत्यक्षतर्फ धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ । आइतबारसम्म एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत लगायत नेताहरू उम्मेदवारका रूपमा सिफारिस भइसकेका छन् ।

६. सुमो दुर्घटनामा ६ जनाको मृत्यु
मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा आइतबार भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

७. दश जना उपसचिवको सरुवा
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको छ ।

८. विद्युतीय गाडी सम्बन्धी नयाँ मापदण्ड कहाँ अड्कियो ?
नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को आयात नियमन गर्न यातायात व्यवस्था विभागले नयाँ मापदण्डको मस्यौदा तयार पारेको १० महिना पुगिसक्यो । मापदण्ड बनाउने समितिको नेतृत्व विभागको सवारी परीक्षण, अन्तरदेशीय यातायात व्यवस्थापन तथा मापदण्ड शाखाका निर्देशक ई. श्रीकान्त यादवले लिएका थिए, तर उक्त मस्यौदा अहिलेसम्म छलफलका लागि मन्त्रालयमा पुगेको छैन ।

९. चार दशक अघिको जग्गा समस्या समाधान उन्मुख
चार दशकभन्दा अघिदेखिको जग्गा समस्या समाधान उन्मुख देखिएको छ । झापाको गौरादह नगरपालिका वडा नम्बर ४ र ५ अन्तर्गतको महारानी झोडा जग्गाको स्वामित्व हासिल गरेका जग्गाधनीको नक्सा अनुसारको लालपुर्जा प्राप्तिको बाटो खुला भएको हो ।

१०. माग सम्बोधन नभए वार्ता तोड्ने दुर्गा प्रसाईंको चेतावनी
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्ना माग सरकारले पूरा नगरे वार्ताको प्रक्रिया भंग गर्ने चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप