१२ बजे १२ समाचार: हेभिवेटसँगको भिडन्तमा कांग्रेसका महिला उम्मेदवार, बालेनविरुद्ध उजुरी
सारांश
- पछिल्लो ६ महिनामा करिब ६ लाख युवा रोजगारीको लागि विदेशिए।
- प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले ११ महिलालाई उम्मेदवार बनाएको छ, र बालेनको सक्रियता बढ्दैछ।
- नेपाल आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटबाट बाहिरियो, र पूर्वराजा ज्ञानेन्द्र जनकपुर पुगे।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. ६ महिनामै ६ लाख युवा बाहिरिए
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत विभिन्न राजनीतिक दल तथा उम्मेदवार गाउँ केन्द्रित हुन थालेका छन् । यद्यपि, रोजगारीका लागि युवाहरू विदेश जानुपर्ने बाध्यताका कारण गाउँ सुनसानजस्तै छ । पछिल्लो ६ महिनामा मात्र करिब ६ लाख युवा विदेश गएको तथ्याङ्क छ ।
२. ‘हेभीवेट’सँग प्रत्यक्षतर्फ निर्वाचनमा भिड्दैछन् कांग्रेसका ११ महिला
नेपाली कांग्रेसले प्रतिनिधि सभाको आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ ११ महिलालाई उम्मेदवार बनाएको छ । उनीहरूले आ–आफ्नो क्षेत्रमा चर्चित तथा ‘हेभीवेट’ प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।
३. देशका तीन चर्चित निर्वाचन क्षेत्रका प्रत्येक वडामा कति मतदाता ?
आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५, सर्लाही–४ र रुकुम पूर्वलाई चर्चित निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ । झापा–५ एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहको उम्मेदवारीका कारण चर्चामा छ । यस्तै सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाबाट उम्मेदवार बनेका अमरेश कुमार सिंहबिच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ भने रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड उम्मेदवार छन् । यी तीन निर्वाचन क्षेत्र अन्तर्गत प्रत्येक वडामा कति मतदाता छन् भन्ने विवरण रातोपाटीले तयार पारेको छ ।
४. बालेनको सक्रियता बढ्दो
राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेसँगै बालेन्द्र (बालेन) शाहको सक्रियता बढ्दो छ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ मा उम्मेदवारी दर्ता गरेपछि पूर्वी पहाडी जिल्लाको भ्रमण सकेर काठमाडौँ फर्किएका उनी अहिले पश्चिम नेपालमा विभिन्न कार्यक्रमका साथ पुगेका छन् ।
५. नेपाल विश्वकप छनोटबाट बाहिरियो
नेपाल आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको छ । सोमबार भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ६८ रन बनायो ।
नेपालका लागि विन्दु रावल र रोमा थापाले समान १४–१४ रन बनाइन् । त्यस्तै रुविना क्षेत्रीले १० रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
६. ओली र बस्नेतको अभिव्यक्तिले मधेसमा एमालेलाई कस्तो प्रभाव पार्ला ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सोही पार्टीका सचिव महेश बस्नेतले मधेससँग सम्बन्धित विषयमा हालै दिएका अभिव्यक्ति विवादित बनेका छन् । उनीहरूको अभिव्यक्तिले मधेसमा एमालेलाई कति प्रभाव पार्ला भन्नेबारे लेखाजोखा हुन थालेको छ ।
७. कांग्रेसमा देउवा–शेखर पक्षकालाई कति ‘स्पेस’ देलान् गगनले ?
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णय अनुसार चाँडै नै केन्द्रीय कार्यसम्पादन समिति गठन हुने भएको छ । समिति गठनको जिम्मेवारी सभापति गगन थापालाई दिइएको छ । उक्त समितिमा सभापति थापाले शेरबहादुर देउवा र शेखर कोइराला पक्षलाई कति ‘स्पेस’ देलान् भन्नेबारे चासो बढेको छ ।
८. सर्लाहीमा गगन
९.बालेनविरुद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौँ महानगरपालिकाका पूर्वनगर प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । बालेनले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिलाई लिएर उजुरी परेको हो । यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका पूर्वमन्त्री शक्ति बस्नेतसँग आयोगले निर्वाचन आचारसंहिता उल्लंघनको उजुरीका आधारमा स्पष्टीकरण सोधेको छ ।
१०. नेकपामा माओवादी पृष्ठभूमिका उम्मेदवारको लेखाजोखा
नेपाली कम्युनिस्ट पार्टीमा माओवादी पृष्ठभूमिका चर्चित पुराना उम्मेदवारमध्ये १० जना यस पटक पनि उम्मेदवार बनेका छन् । चर्चित र पुराना दुई जनाले भने साविकको दल त्यागेका छन् ।
११. जनकपुर पुगे पूर्वराजा
पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार जनकपुरधाम पुगेका छन् । परिवारका केही सदस्यसहित उनी जनकपुरधाम पुगेका हुन् ।
१२. शिक्षकमाथि जातीय विभेद
कञ्चनपुरमा विद्यालय व्यवस्थापन समिति अध्यक्षमाथि जातीय विभेद गरेको आरोप लागेको छ । कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लास्थित बैजनाथ आधारभूत विद्यालयका अध्यक्ष सागर कुमार भण्डारीले सोही विद्यालयका सहायक प्रधानाध्यापक गजीराम सार्कीमाथि जातीय विभेद गरेको आरोप लागेको हो ।
गत शुक्रबार (माघ ९) सरस्वती पूजाको दिन अध्यक्ष भण्डारीले आफूमाथि जातीय विभेद गरेको शिक्षक सार्कीले बताए । शिक्षक सार्कीले अध्यक्ष भण्डारीले टिका पातमा ल्याई हातमा दिएर अपमानजन्य, अमानवीय र जातीय विभेद गरेको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण