काठमाडौं । डिजिटल सञ्चार समाधान प्रदायक कम्पनी ‘आकाश एसएमएस’ले प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम एसएमएसबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।
निर्वाचनको नतिजा आउने क्रममा समाचार वेबसाइटहरूमा हुने अत्यधिक चाप (ट्राफिक), इन्टरनेटको पहुँच नभएका स्थान वा स्मार्टफोन प्रयोग नगर्ने नागरिकलाई मध्यनजर गर्दै यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।
यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलको 'मेसेज बक्स'मा गएर एउटा सन्देश टाइप गर्नुपर्ने हुन्छ । त्यसपछि मेसेज बक्समा EC <स्पेस> आफ्नो जिल्ला/क्षेत्रको नाम <स्पेस> क्षेत्र नम्बर टाइप गर्नुपर्नेछ । त्यसपछि उक्त सन्देशलाई ३१००३ मा पठाउनु पर्नेछ ।
काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्।
प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अगाडि छिन्। काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ र काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता बनाइरहेका छन्।
यस्तै काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७००, काठमाडौं–४ मा पुकार बम २ हजार ५२९, काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ र काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अघि छन्।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रकेश रन्जितले ३४५२ मत ल्याएर फराकिलो अग्रता कायम राखेका छन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले १ हजार ९८२ मत ल्याएका छन् । त्यस्तै, नेपाली कांग्रेसका किरण न्यौपानेले ५२९ मत ल्याएका छन् ।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत काठमाडौँ क्षेत्र नम्बर ६ को मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले २२३८ मत ल्याएर फराकिलो अग्रता कायम राखेका छन् ।
उनका निकटम प्रतिद्वन्द्वी कृष्ण बानिया क्षेत्रीले ६०० मत ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका अमन कुमार मास्केले ३६७ मत तथा नेपाली कम्युनिस्ट पार्टीका हिमाल शर्माले १०९ मत ल्याएका छन् ।
दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतगणना परिणाम सार्वजनिक भएको छ। कुल २२३२ मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै फराकिलो अग्रता कायम गरेको छ। प्राप्त पछिल्लो विवरण अनुसार रास्वपाले १५१६ मत प्राप्त गरी अग्रस्थान सुरक्षित गरेको छ।
रास्वपाको तुलनामा अन्य ठूला दलहरूको मत परिणाम निकै कम देखिएको छ। नेपाली कांग्रेस (रूख) २९२ मतका साथ दोस्रो स्थानमा छ भने नेकपा एमाले (सूर्य) ले २२२ मत प्राप्त गर्दै तेस्रो स्थान ओगटेको छ। त्यस्तै अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा निकै पछाडि परेका छन्। तारा चिन्हले ८९ मत ल्याएको छ भने हलो चिन्हका उम्मेदवारले २५ मत प्राप्त गरेका छन्।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार गिलास चिन्हले ४८ मत, आँपले १३ मत, स्वतन्त्र उम्मेदवार (चेस गोटी) ले १३ मत र गुलाफको फूलले ८ मत प्राप्त गरेका छन्। यस्तै छाताले ३ र मोबाइल चिन्हले २ मत पाएका छन्। गणना भएका कुल मतमध्ये १०१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन् ।
शुक्रबार बिहान ४ः४५ बजेसम्मको ताजा मत परिणाम अनुसार, गौतमले ९२५ मत प्राप्त गरेकी छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले ६७९ मतका साथ पछ्याइरहेकी छन् ।
त्यसैगरी, नेकपा (एमाले) का उम्मेदवार शंकर राज थपलिया २०२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन २ मा एमालेले अग्रता कायमै राखेको छ । जारी मतगणनामा चितवन २ अन्तर्गतको इच्छाकामना गाउँपालिकाका ३ वटा वडाका मतदान केन्द्रको मतगणना गर्दा
एमालेका अस्मिन घिमिरेले ७९५ मत पाएका छन् भने उनलाई रास्वपाका सभापति रवि लामिछानेले पछ्याइरहेका छन् ।
रास्वपाका लामिछानेले ५३१ मत पाउँदा नेकपा प्रताप गुरुङ तेस्रो स्थानमा रहेका छन् । उनले २९५ मत पाएका छन् । कांग्रेसकी उम्मेदवार मिना खरेलले २५६ मत पाएर चौथो स्थानमा रहेकी छिन् ।
धनगढी । सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये चार क्षेत्रमा मतगणना जारी रहेको छ । कैलाली क्षेत्र नम्बर १ र कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना भइरहेको हो ।
कैलाली-१ र कञ्चनपुर-१ मा शुक्रबार बिहानबाट मतगणना सुरु भएको हो भने कञ्चनपुरका अन्य दुई क्षेत्रमा यसअघि नै गणना सुरु भइसकेको थियो ।
कैलाली क्षेत्र नम्बर १ मा शुक्रबार बिहान ४ बजे सर्वदलीय बैठक बसे लगत्तै मतगणना प्रारम्भ गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, कञ्चनपुर क्षेत्र नम्बर १ मा पनि भर्खरै मतगणना सुरु भएको छ ।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा जारी मतगणनामा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् ।
पछिल्लो मत परिणामअनुसार, घिसिङले १८४६ मत प्राप्त गरी शीर्ष स्थानमा रहँदा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजु नाथ पाण्डेले १५६० मतसहित पछ्याइरहेका छन् । घिसिङ आफ्ना निकटतम प्रतिस्पर्धी पाण्डेभन्दा २८६ मतले अगाडि छन् ।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ५८३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का रामेश्वर फुयालले ४५६ मत पाएका छन् ।
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ ।
देशका विभिन्न स्थानमा मतपेटिका संकलन ढिला भएका कारण अधिकांश क्षेत्रमा मतगणना सुरु हुन सकेको छैन । तर काठमाडौँ उपत्यकाका काठमाडौँ र भक्तपुर जिल्लाका केही निर्वाचन क्षेत्रमा भने मतगणना सुरु भई धमाधम प्रारम्भिक परिणाम सार्वजनिक हुन थालेका छन् ।
निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार शुक्रबार बिहान साढे ३ बजेसम्म हालसम्म देशका १६ वटा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये १२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरुवाती अग्रता बनाएका छन् ।
काठमाडाैँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभरबाट सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नं. ५ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णयअनुसार शुक्रबार बिहान २ बजेदेखि मतगणना प्रारम्भ गरिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यस क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना जारी छ । प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पछि परेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले ३२५ मतसहित अग्रता लिएका छन् ।
उनलाई रास्वपाका सभापति लामिछानेले २११ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १६१ मत प्राप्त गरेका छन् ।
बायाँबाट क्रमश: मोहम्मद इश्तियाक राई, सुरेश कुमार चौधरी
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाँकेमा जारी मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार बाँकेको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी र क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवारले अग्रता लिएका छन् ।
क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश कुमार चौधरीले ९७४ मतसहित अग्रता कायम गरेका छन् । उनलाई नेपाली कांग्रेसका नारायण प्रसाद गौडेलले ४६३ मतसहित पछ्याइरहेका छन् । एमालेका उम्मेदवार सूर्य प्रसाद ढकाल २३८ मतका साथ तेस्रो स्थानमा छन् ।
यसैगरी मतगणना जारी बाँके– २ मा नेकपा (एमाले) का उम्मेदवार मोहम्मद इश्तियाक राईले ६८५ मत प्राप्त गरी अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसका सुधान्सु कोइरालाले ४०२ मतसहित पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेक कुमार श्रेष्ठले २८९ मत प्राप्त गरेका छन् ।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ४ मा जारी प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बमले सुरुवाती अग्रता बनाएका छन् ।
सार्वजनिक पछिल्लो मत परिणाम अनुसार बमले ८६२ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार राजन भट्टराईले २७३ मत पाएका छन् ।
भक्तपुर ।प्रतिनिधि सभा निर्वाचन अन्तर्गत भक्तपुर–२ मा एमाले महेश बस्नेतलाई सुरुवाती अग्रता लिएका छन् ।
जारी मतगणना बस्नेतले २४२ मत प्राप्त गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले २१८ मतसहित पछ्याइरहेका छन् । बस्नेत र खत्रीबिचको मतान्तर २४ रहेको छ ।
त्यसैगरी, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार रमेश वैद्यले २२ मत प्राप्त गरेका छन् ।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ७ को प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुलीले फराकिलो अग्रता बनाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पहिलो मतपरिणाम अनुसार उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठुलो मतान्तरले पछि पारेका हुन् ।
सार्वजनिक विवरण अनुसार, पराजुलीले ७२१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रमोदहरि गुरागाईँले १६६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, तेस्रो स्थानमा रहेका नेकपा ९एमाले० का उम्मेदवार प्रकाश श्रेष्ठले १३४ मत पाएका छन् ।
धनगढी । सुदूरपश्चिममा प्रतिनिधि सभा निर्वाचनको मतगणना क्रमशः सुरु हुँदै गएको छ।
कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भइसकेको छ भने निर्वाचन क्षेत्र नम्बर ३ मा केहीबेरमै मतगणना सुरु हुने तयारी गरिएको छ। निर्वाचन क्षेत्र नम्बर १ मा भने मतगणना सुरु हुने समय अहिलेसम्म निश्चित भएको छैन ।
यसैगरी कैलाली जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा भने बिहान मात्रै मतगणना सुरु गरिने बताइएको छ। पहाडी जिल्लाहरूमा भने पनिउज्यालो भएपछि मात्रै मतगणना गरिने तयारी गरिएको छ।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ८ मा रास्वपाका विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता कायम गरेका छन् ।
भारी मतान्तरका साथ उनी अन्य प्रतिस्पर्धीभन्दा अगाडि देखिएका छन् । श्रेष्ठले १७१४ मत ल्याउँदा नेपाली कांग्रेसकी उम्मेदवार सपना राजभण्डारीले मात्र २०७ मत पाएकी छन् । त्यस्तै नेकपा सुमन सायमिले १५४ मत, नेकपा एमालेका राजेश शाक्यले ११५ मत पाएका छन् ।
उता काठमाडौँ ३ मा भने उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङको अग्रता कायमै छ ।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले १०४१ मतसहित अग्रता बनाएका छन्। उनका मुख्य प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका राजु नाथ पाण्डे ७४८ मतसहित दोस्रो स्थानमा छन्।
अन्य उम्मेदवारहरूमध्ये नेपाली कांग्रेसका रमेश अर्यालले २९८ मत, नेकपा (एमाले) का रामेश्वर फुयालले २८९ मत र नेपाली कम्युनिष्ट पार्टीका निरज लामाले ३५ मत प्राप्त गरेका छन्।
काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ ।
ललितपुर ३ निर्वाचन अधिकृत पुनाराम खनालले सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु भएको बताए ।
उनका अनुसार ललितपुर महानगरपालिका वडा नम्बर ३ मतदान केन्द्रबाट गणना सुरु गरिएको छ । ललितपुर–३ मा नेपाली कांग्रेसका जीतेन्द्रकुमार श्रेष्ठ, नेकपा (एमाले) का सन्दप थापा मगर, नेकपाका रामकाजी महर्जन र रास्वपाकी तोसीमा कार्कीलगायत प्रतिस्पर्धामा छन् ।
रुपन्देही । रुपन्देही क्षेत्र नं २ को मतगणना सुरु भएको छ । बुटवल उपमहानगरपालिका–११ को कार्यलय देवीनगरमा सर्वदलीय बैठक सकिएसँगै भखर मतगणना सुरु भएको हो ।
सुरुमा तिलोत्तमा नगरपालिकाको वडा नं १ बाट गणना थालिएको छ ।
समझदारी अनुसार तिलोत्तमा १, त्यसपछि बुटवल–१ र त्यसपछि सैनामैना–१ हुँदै गणना गरिने छ ।
धनगढी। कैलाली–५ को मतगणना बिहान ७ बजेदेखि सुरु हुने भएको छ ।
धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्वास्थ्य तालिम केन्द्रमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बिहान ७ बजेदेखि वडा नं १बाट क्रमबद्ध मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यहाँ नेपाली कांग्रेसबाट नर नारायण शाह, नेकपा एमालेबाट यज्ञ राज ढुंगाना उपाध्याय, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रेम बहादुर आले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आनन्द बहादुर चन्द लगायत उम्मेदवार चुनावी मैदानमा छन् ।