बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार

आइतबार, २२ पुस २०८०, २० : ३१
आइतबार, २२ पुस २०८०

आज २०८० पुस २२ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनबिच यस्तो छ भागबण्डा, कांग्रेसलाई उम्मेदवार छान्न सकस, एमालेले राष्ट्रियसभाका लागि छान्यो १९ उम्मेदवार, राष्ट्रियसभाका लागि यी हुन् माओवादी केन्द्रका ६ उम्मेदवार, एकीकृत समाजवादीमा उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई, प्रदेशसभामा पराजित पूजालाई जसपाले बनायो राष्ट्रियसभाको उम्मेदवार, राष्ट्रियसभा सदस्यका लागि मतदाताको अन्तिम नामावली प्रकाशन लगायत छन् ।

१. राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनबिच यस्तो छ भागबण्डा 
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धनबिच भागबण्डा टुङ्गिएको छ । निर्वाचित हुने १९ सिटमध्ये नेपाली कांग्रेसले १० सिटमा उम्मेदवारी दिने भएको छ भने माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जसपा नेपालले एक सिटमा उम्मेदवार खडा गर्ने गरी सहमति भएको हो ।

२. कांग्रेसलाई उम्मेदवार छान्न सकस
राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनबाट १० सिटमा उम्मेदवारी दिने नेपाली कांग्रेसमा उम्मेदवार छान्ने विषयमा विवाद देखिएको छ । संस्थापन पक्ष र इतर पक्षबिच उम्मेदवारीका सवालमा हानथाप भएको छ ।

३. एमालेले राष्ट्रियसभाका लागि छान्यो १९ उम्मेदवार
प्रमुख प्रतिपक्ष नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि १९ उम्मेदवार चयन गरेको छ । सत्तारुढ गठबन्धनबाट तालमेलका आधारमा साझा उम्मेदवार खडा गर्ने तयारी भइरहँदा एमाले भने एक्लै चुनावी मैदानमा ओर्लिने भएको हो । 

४. राष्ट्रियसभाका लागि यी हुन् माओवादी केन्द्रका ६ उम्मेदवार
राष्ट्रियसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले आफ्नो कोटामा परेका ६ सिटका लागि उम्मेदवार चयन गरेको छ । सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रले ६ सिटका लागि उम्मेदवारी दिने सहमति भए अनुसार आइतबार उम्मेदवार चयन गरिएको हो ।

५. राष्ट्रियसभा निर्वाचनमा राप्रपाले पनि उम्मेदवारी दिने
राष्ट्रियसभा निर्वाचनमा राप्रपाले पनि उम्मेदवारी दिने भएको छ । सोही अनुसार आइतबार राप्रपाले उम्मेदवार ‘फाइनल’ गरेको हो । 

६. एकीकृत समाजवादीमा उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई
नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबाट दुई सिट पाएको छ । जसमा उम्मेदवार छान्नका लागि सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिइएको छ । 

७. प्रदेशसभामा पराजित पूजालाई जसपाले बनायो राष्ट्रियसभाको उम्मेदवार
जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय सभा सदस्यमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चौधरी प्रदेशसभा निर्वाचनमा उम्मेदवार बने पनि पराजित भएकी थिइन् ।

८. राष्ट्रियसभा सदस्यका लागि मतदाताको अन्तिम नामावली प्रकाशन
माघ ११ गते बिहीवार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।

९. विपिन जोशी बेपत्ता भएको तीन महिना पूरा
कञ्चनपुरका विपिन जोशी सम्पर्कविहीन भएको तीन महिना पूरा भएको छ । ‘अर्न एन्ड लर्न’ कार्यक्रमका इजरायल पुगेका जोशी तीन महिना अगाडि सम्पर्कविहीन बनेका थिए । ७ अक्टोबर २०२३ मा इजरायल–गाजा सीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए भने जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उनको अवस्था अझै अज्ञात छ ।

१०. बालकुमारी घटनाबारे जाँचबुझ आयोगले थाल्यो काम
बालकुमारीमा सुरक्षाकर्मीको दमनबाट दुई युवकको मृत्यु भएको घटना जाँचबुझ गर्न गठित आयोगले काम थालेको छ । पुस २० बाट जाँचबुझ सुरु गरिएको आयोगका सदस्य एवं सह–सचिव नारायणप्रसाद भट्टराईले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप