आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

संसद्को दृश्य : मतमा विश्वास, मनमा अविश्वास !

ओलीले देउवालाई मिल्न आउनुस् भनेपछि...
बुधबार, ३० फागुन २०८०, १६ : ५७
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । समीकरण फेरिएर बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वासको मत लिने क्रममा प्रतिनिधि सभा बैठकमा सत्तापक्षकै राजनीतिक दलका नेताबिच घोचपेच, छेडखानी र व्यङ्ग्यबाण चलेको छ । संसद‍्मा सत्तापक्ष र प्रतिपक्षबिच घोचपेच र छेडखानी चल्नुलाई सामान्य रूपमा लिइए पनि सत्तापक्षकै नेताहरूबिचको आशंकामिश्रित अभिव्यक्तिले सत्तारुढ दलहरुबिच नै कतै न कतै गठबन्धनको भविष्यबारे अन्यौलता बुझ्न सकिन्थ्यो । 

सत्तापक्षकै दलबिचमा 'मतमा विश्वास, मनमा अविश्वास' को दृश्य देखिएको बुधवारको बैठकको सुरुवाती समयमै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै आफ्ना केही भनाइ र धारणाहरू राखेका थिए । प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव राखे लगत्तै बोलेका थिए, सत्तापक्षकै नेता एमाले अध्यक्ष केपी शर्मा ओली ।

ओलीले फेरिएको सत्ता समीकरणमा प्रमुख दलका नेताहरुबिच प्रधानमन्त्रीको कार्यकाल बाँडफाँटबारे सञ्चारमाध्यममा आएका समाचारहरूको सुरुमै खण्डन गरे । उनले भने, ‘प्रधानमन्त्रीको कार्यकाल १३–१५ महिना बाँडेको बजारभरि देख्छु । नेताहरूले गरेको सहकार्य र गरिमालाई घटाएको छ ,यस्ता अनुचित खबर सम्प्रेषणले ।’ ओलीले प्रधानमन्त्री हुनकै लागि यस्तो गरेको भनेर समाचार आएकोमा आफूलाई चित्त नबुझेको उल्लेख गर्दै अगाडि भने, ‘मेरो नाम पनि १५ महिनामा नाम जोडिएको छ तर मलाई प्रधानमन्त्री हुन इच्छा छैन ।’

अध्यक्ष ओली त्यतिमा मात्र रोकिएनन्, उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवातर्फ हेर्दै आफूले कांग्रेससँग विगतमा धेरै पटक सहकार्यका लागि संवाद गरौँ भन्दा बेवास्ता गरेको टिप्पणी गरे ।

‘यो देशमा केही गरौँ । अव त कमसेकम केही गरौँ न ! प्रधानमन्त्री जोसुकै होस् । मैले नेपाली कांग्रेसलाई पनि भनेँ, ए कुरा गरौँ न यो देशका समस्या सही ढंगले कसरी समाधान गर्न सकिन्छ भनेर’, ओलीले आफू प्रतिपक्ष र देउवा सत्तापक्ष भएका बेला गरेको प्रयासबारे खुलाए । तर आफ्नो प्रयासप्रति कांग्रेसले बोली नै नचल्नेजस्तो व्यवहार गरेको दुखेसो ओलीले सुनाए ।  

‘वर्णाश्रम व्यवस्थामा पानी चल्दैन, के चल्दैन, भात चल्दैन, दाल चल्दैन भनेको सुनेको थिएँ । कुरा चल्दैन भन्नेचाहिँ नेपाली कांग्रेसबाट सुनियो’, ओलीले प्रश्न गर्दै भने,  ‘एमालेसँग कुरा चल्दैन ? कुरै नचल्ने ? तीन–तीन वर्षसम्म ए कुरा गरौँ न, पुराना मित्र हौँ हामी भन्दा कुरै चल्दैन ।’ अहिलेको संसद‍्मा कसैको पनि बहुमत नरहेकोतर्फ संकेत गर्दै ओलीले नेपाली कांग्रेसले एमाले भन्दा दुई चार वटा सिट बढी मात्र ल्याएको बताए ।

‘कांग्रेस सँगसँगै हामी पनि छौँ । अनि कुरै चल्दैन, बोली चल्दैन । अव यस्ता प्रवृत्तिलाई अन्त्य गरौँ’, ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग अझै पनि आफू कुरा गर्न तयार रहेकोमा जोड गरे ।  

‘शेरबहादुरजी हिजो सत्तापक्षमा हुनुहुन्थ्यो पूर्वप्रधानमन्त्री । म अहिले सत्तापक्षमा छु, पूर्व प्रधानमन्त्री पनि हुँ । म भन्न चाहन्छु शेरबहादुरजीलाई–बसौँ न कुरा गरौँ’, ओलीले दोहोर्‍याए । ओलीले रोष्ट्रमबाट यसो भन्दा  सभापति देउवा आफ्नै आसनमा थिए । ओलीको कुरा सुनेर देउवा मुसुमुसु हाँस्दै ‘हुन्छ हुन्छ’ भनेर टाउको समेत हल्लाए । जुन दृश्य रोचक देखिन्थ्यो । 

ओलीले देउवालाई गरेको प्रस्ताव प्रचण्ड आसनमा बसेर सुनिरहेका थिए । ओलीले पटक पटक देउवासँग कुरा गर्न चाहेको बताउँदै देश समस्याग्रस्त रहेको र भ्रष्टाचार तथा कमिसन तन्त्र रोक्नुपरेको बताए । ‘अस्तिको दिन भाषण सुन्दा र आज बिहानको छोटो प्रस्तुति सुन्दा अनौठो लाग्यो नेपाली कांग्रेस दुधकुण्डमा नुहाएर आएको हो कि जस्तो लाग्यो’, ओलीले भने ।  

431354586_918740413246465_1774231340512034815_n

संसद‍्मा प्रधानमन्त्रीको प्रस्तावमाथि सबै दल र स्वतन्त्र सांसदहरूले छलफलमा भाग लिए । त्यसपछि प्रधानमन्त्री प्रचण्डलाई सभामुखले संसदमा उठेका प्रश्नको जवाफ दिन समय छुट्याए ।

जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले पक्षमा र विपक्षमा बोल्ने सांसदहरूलाई धन्यवाद दिँदै यसरी भएको बहसले आफूलाई सदन सजीव रूपमा अघि बढेको महसुस भएको बताए । ‘यसले लोकतन्त्रलाई सुदृढ गर्न मद्दत गर्छ भन्ने ठानेको छु । यो लोकतन्त्रको सुन्दरता र ऊर्जा पनि हो’, प्रधानमन्त्री प्रचण्डले आलोचनालाई केही हदसम्म स्वीकार गरे ।  

त्यस क्रममा उनले आफू तेस्रो पटक विश्वासको मतका लागि संसदमा उभिएको भन्दै यस क्रममा गठबन्धनहरू बन्ने र भत्किने क्रम चलेको बताए । ‘यो प्रक्रिया चलिरहेको छ । मलाई यो बहसमा सुरुदेखि एउटा कुरा भनेर प्रेसर दिन भनौँ या पोलिटिकल्ली अलि बढी घोचपेच गर्न खोजेजस्तो महसुस भएको छ’, प्रधानमन्त्री प्रचण्डले विषयको पोयो फुकाए ।

‘ठुला दलहरू हामी मिल्यौ भने तेरो हालत के हुन्छ ? भनेर पहिला पनि भनियो । आज पनि भनियो । मेरो त कामना छ, तपाईहरु सबै मिल्नुस् । तपाईहरु सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर फेरि देश र जनताको पक्षमा, संविधानको पक्षमा र राष्ट्रियता सुदृढीकरणको पक्षमा लडिराख्छ’, प्रचण्डले कांग्रेस सांसद विश्वप्रकाश शर्माको अभिव्यक्तिप्रति लक्षित गर्दै कांग्रेस–एमालेलाई मिलेर देखाउन चुनौती मिश्रित चेतावनी दिए ।

‘तपाईंहरुलाई लागेको छ प्रचण्ड डराउँछ त्यसो भनेर ? हिजो त तपाईँहरू सबै मिलेर टाउकै काट्न खोजेको हो नि !  डराउँछ माओवादी भन्ठान्नु भएको छ ? कतिबेला को राजनीतिक दल कोसँग मिल्छ भन्ने कुरा हरेक राजनीतिक दल स्वतन्त्र छन्’, प्रचण्डले जंगिँदै भने । जनताको हितमा काम गर्न सकिन्छ भन्ने लाग्यो भने गठबन्धन गर्नुलाई स्वाभाविक मान्नुपर्ने प्रचण्डको भनाइ छ ।

त्यस क्रममा उनले आफ्नो मन्त्रिमण्डलमा रहेका रवि लामिछानेमाथि उठेका प्रश्नको बचाउ समेत गरे ।

‘अहिले प्रश्न उठेका मानिसलाई मन्त्री बनाउने, यो के हो ? पनि भनियो । मलाई थाहा थियो तिनैलाई प्रधानमन्त्री बनाउन हिँडिरहेको कुरा । यस्तो डबलस्ट्याण्ड पनि हुन्छ ?’, उनले प्रतिप्रश्न गरे ।  त्यसअघि प्रतिनिधिसभामा बोल्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रविको विषयमा प्रश्न उठाउँदै आफ्नो धारणा राखेका थिए । 

त्यसपछि प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति देउवालाई मिल्न आउन गरेको संकेततर्फ केन्द्रित भए । ‘यहाँ माननीय पूर्वप्रधानमनत्री केपी ओलीजीले बोली नचल्ने भन्ने भाषा प्रयोग गर्नुभयो । उहाँले एउटा मर्मका साथ प्रयोग गरेको मैले बुझेँ’, प्रधानमन्त्रीले भने, ‘र, उत्तापट्टि माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाजीले अब बोल्ने हो भन्नुभयो । बोल्नुस् म भन्छु बोली फुकाउनुस् । बनाउनुस् सहकार्य ।’

प्रचण्ड त्यतिमा मात्रै रोकिएनन् । उनले ओलीप्रति आशंका व्यक्त गर्दै चेतावनीको शैलीमा थपे, ‘माओवादी केन्द्र, प्रचण्ड या प्रधानमन्त्री त्यसबाट दबाबमा पर्छ भन्ने भ्रम नराख्नुस् ।’ उनले समीकरण फेर्न वा गठबन्धन बनाउन सबै राजनीतिक दल स्वतन्त्र रहेको बताए । ‘आफ्नो हित र आफूले बुझेको राजनीतिक मुद्दाअनुसार नै गठबन्धन बन्ने र टुट्ने हो’, प्रचण्डले भने, ‘मैले अस्ति पनि संक्षिप्त रूपमा अहिलेको गठबन्धन राजनीतिक रूपमा बन्दै छ अरू भ्रम नपरोस् भनेर भनेको थिएँ । मैले धोका, बेइमानी र षडयन्त्र भन्ने शब्द प्रयोग गरेको थिइनँ ।’

बैठक बैठकमा बोल्ने क्रममा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेका सांसद राजेन्द्र पाण्डेले आफूहरूलाई थाहै नदिई गठबन्धन बदलेकोप्रति आक्रोश पोखेका थिए । उनले नैतिकता भन्ने कुरा राजनीतिमा हुनुपर्ने भन्दै आफूले विष पिएर वर्तमान प्रधानमन्त्रीले बाटैमा छाड्न खोजेको भन्दै गुनासो पोखेका थिए । तर, उनले पार्टीले त्यसरी धोका नदिने बताएपछि प्रचण्डले आफूलाई जबरजस्ती सघाउन कसैलाई पनि बाध्य नपारेको आशयको जवाफ फर्काएका थिए ।

सोही बैठकबाट प्रधानमन्त्रीले १५७ सांसदको समर्थनसहित विश्वासको मत पाएका थिए ।  प्रधानमन्त्रीले ६ दल र प्रभू साह सहित तीन स्वतन्त्र सांसदको तर्फबाट १५७ मत पाएका हुन् ।  विपक्षमा भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित ५ विपक्षी दलबाट ११० मत परेको थियो । यसैगरी राष्ट्रिय जनमोर्चा कसैको पनि पक्षमा संलग्न नभई तटस्थ बस्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप