सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, २१ चैत २०८०, २१ : ४८
बुधबार, २१ चैत २०८०

काठमाडौँ ।आज २०८० चैत २१ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौँ–

  • शर्माको बहिर्गमन

राजकुमार शर्माले कर्णाली प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिन चाहेकै थिएनन् । सके पूरै कार्यकाल, नभए डेढ वर्षसम्म जसरी हुन्छ, कर्णाली सरकारको नेतृत्व गर्ने चाहना उनको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कडा निर्देशन र चर्को दबाबमा उनी राजीनामा दिन ‘कन्भिन्स’ भए । अन्ततः बुधबार प्रदेश सभालाई सम्बोधन गर्दै शर्माले राजीनामाको घोषणा गरे ।

  • एनआरएनएबारे सर्वोच्चको फैसला

 गैरआवासीय नेपाली संघ (एनआरएनए) २०७८ माघ १ को अवस्थामा फर्किएको छ।  सर्वोच्च अदालतले एनआरएनएको त्यसपछिको नेतृत्वलाई अस्वीकार गर्दै २०७८ माघ १ को अवस्थाबाट नेतृत्व छान्ने प्रक्रिया सुरु गर्न आदेश दिएको हो  ।

  • उपनिर्वाचन

नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि बुधबार पनि उम्मेदवार सकेन । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उम्मेदवारको टुंगो लाग्न नसकेको हो ।

  • गिरीलाई थुनामा पठाउने आदेश

निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामै राख्न आदेश दिएको हो । 

  • नेपालीलाई भिसा

नेपालले सन् २०१६ देखि चिनियाँ नागरिकलाई भिसा निःशुल्क गरेको थियो । भिसा निःशुल्क भएसँगै नेपालमा चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । नेपाली नागरिकका लागि पनि चीनले भिसा निःशुल्क गर्नुपर्छ भनेर नेपालको तर्फबाट वर्षौँदेखि पहल भए पनि हालसम्म प्रगति हुन सकेको छैन ।

  • त्रिभुवन विश्वविद्यालयमा किचलो

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) र रजिष्ट्रारको नियुक्ति प्रक्रिया रोकिएको छ । उपकुलपति प्राडा केशरजंग बरालले सिफारिस गरेको रेक्टर र रजिष्ट्रारको नियुक्ति विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकेका हुन् । 

  • जहाज खरिद प्रक्रिया

निगमले डोमेस्टिक (आन्तरिक) उडानका लागि तत्काल तीन वटा न्यारोबडी जहाज गरिद गर्नेगरी गत २२ अक्टोबर, २०२३ (कात्तिक ५ गते) गते ४५ दिने सूचना जारी गर्दै अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो । ५ डिसेम्बर, २०२३ सम्म दरखास्त हाल्ने अन्तिम म्याद रहेकोमा तीन वटा कम्पनीले दरखास्त हालेका थिए ।

  • ‘यातायात समिति’ फेरि ब्युँतियो

सरकारले ५ वर्ष अघि नै खारेज गरेको यातायात व्यवसायी समिति सर्वोच्च अदालतले पुनः ब्युँताएको छ । यातायात व्यवसायी समिति खारेजीको विरुद्धमा सर्वोच्चमा परेको रिटको पक्षमा मंगलबार न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालले फैसला गरेसँगै यातायात व्यवसायी समितिहरू सञ्चालन तथा नवीकरणको बाटो खुलेको हो ।

  • वीरमा जनशक्ति अभाव

जनशक्ति अभावका कारण वीर अस्पतालले पूर्ण क्षमतामा सेवा दिन सकिरहेको छैन । ९६० शय्या क्षमताको अस्पतालले हाल ६ सय शय्या मात्रै सञ्चालन गरेको हो । जनशक्ति अभावमा ३६० शय्या प्रयोगविहीन रहेको हो ।

  • नेपालीमा नामकरण

काठमाडौँ महानगरपालिकाले निजी विद्यालयहरूलाई (संस्थागत) नेपालीपन झल्किने नाम राख्न भनेको छ । एक महिने अल्टिमेटम दिएर महानगरले अङ्ग्रेजी तथा विदेशी नाम राखेका निजी विद्यालयहरूलाई नेपालीपन झल्किने नाम राख्न भनेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप