सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, २६ चैत २०८०, २२ : ००
सोमबार, २६ चैत २०८०

आज २०८० चैत २६ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा कोशी सरकार अल्पमतमा; अब के होला ?, संसदको अवरोध खुलाउने सभामुखको प्रयास विफल, राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीले दाबी छाड्ने सङ्केत, नाउपाको प्रदेश सभा सदस्य गिरी पदमुक्त, लगानी सम्मेलनमा सहभागी हुन १६९ जनाले पठाए ‘कन्फर्मेसन’, भद्रकालीबाट पक्राउ गरिएका ६ जना विरुद्ध मुद्दा, सत्ता गठबन्धनमा रहेका दलहरू उपनिर्वाचनमा किन भिड्दैछन् एक्लाएक्लै ? लगायत छन् ।

१. कोशी सरकार अल्पमतमा; अब के होला ?
केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकार अल्पमतमा परेको छ । माओवादीका मन्त्रीहरू सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थनसमेत एमाले र माओवादी केन्द्रले फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बनेको सरकार अल्पमतमा परेसँगै प्रदेशमा राजनीतिक अन्योलको अवस्था सिर्जना भएको छ । यद्यपि, एमाले, माओवादी केन्द्रसहितका दलले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखसमक्ष निवेदन दिएका छन् ।

२. संसदको अवरोध खुलाउने सभामुखको प्रयास विफल
सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्ने÷नगर्ने भन्नेबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षले आफ्नो अडान कायमै राखेका छन् । संसदको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले सोमबार आयोजना गरेको चार दलका शीर्ष नेताको छलफलमा सत्तापक्षले समिति गठन गर्न अस्वीकार गरेको थियो भने प्रमुख प्रतिपक्षले समिति गठन नगरी सदन चल्न नदिने अडान राखेको थियो ।

३. राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीले दाबी छाड्ने सङ्केत
सत्ता गठबन्धनभित्र राष्ट्रिय सभा उपाध्यक्ष दाबी गर्दै आएको नेकपा एकीकृत समाजवादी पछि हट्ने सङ्केत देखिएको छ । दुई दिनपछि चैत २८ गते हुने उपाध्यक्षको निर्वाचनका लागि सो पार्टीले अहिलेसम्म उम्मेदवार छनोट नै नगरेकाले उपाध्यक्षको दाबीबाट पार्टी पछि हट्ने सङ्केत देखिएको एकीकृत समाजवादीका एक नेताले बताए ।

४. नाउपाको प्रदेश सभा सदस्य गिरी पदमुक्त
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का एक प्रदेश सभा सदस्यको पद गएको छ । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीले सोमबार नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् । 

५. लगानी सम्मेलनमा सहभागी हुन १६९ जनाले पठाए ‘कन्फर्मेसन’
वैशाख १६ र १६ गते आयोजना हुने लगानी सम्मेलनका लागि १६९ जनाले सहभागिता जनाउने ‘कन्फर्मेसन’ पठाएका छन् । लगानी बोर्डका अनुसार ११ सय भन्दा बढीलाई सहभागिताका लागि निमन्त्रणा पठाइएको छ । जसमध्ये १३५ जना उद्यमी, व्यवसायी र लगानीकर्ता तथा २४ जना डेलिगेट्सले सहभागी हुने प्रतिबद्धता जनाएका हुन् ।

६. भद्रकालीबाट पक्राउ गरिएका ६ जना विरुद्ध मुद्दा
काठमाडौँको भद्रकालीबाट पक्राउ गरिएका ६ जनालाई प्रहरीले मुद्दा चलाएको छ । चैत २४ मा राजेन्द्र महतो, सुमन सायमी र रविन्द्र श्रेष्ठले गरेको प्रदर्शन स्थलबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ गरिएका मध्ये ६ जनाविरुद्ध थुनामा राखेर अनुसन्धान भइरहेको काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए ।

७. सत्ता गठबन्धनमा रहेका दलहरू उपनिर्वाचनमा किन भिड्दैछन् एक्लाएक्लै ?
सत्ता सहकार्यका लागि नयाँ समीकरण बनाएका पाँच दलीय गठबन्धन वैशाख १५ गते हुने उपनिर्वाचनमा एक्लाएक्लै भिड्ने भएका छन् । शनिबार भएको उम्मेदवार मनोनयन दर्तामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवारी दिएका हुन् ।

८. वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा छापा
वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीसहितको अनुगमन टोलीले छापा मारेको छ । प्रयोगशाला (ल्याब)मा म्याद नाघेको केमिकल प्रयोग गरिरहेको सूचनाको आधारमा छापा मारिएको हो । 

९. सुनको मूल्यमा कीर्तिमान
सुनको मूल्यमा कीर्तिमान कायम भएको छ । सोमबार तोलामा ६०० रुपैयाँले बढेसँगै सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको हो । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ६०० कायम भएको छ ।

१०. घोडेजात्रा मनाइयो 
काठमाडौँ उपत्यकामा सोमबार परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रम आयोजन गरी मनाइएको छ । घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला प्रदर्शन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप