सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बिहीबार, २९ चैत २०८०, २२ : १६
बिहीबार, २९ चैत २०८०

आज मिति २०८० साल चैत महिनाको २९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

रवि लामिछानेको चेतावनी

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाइए सरकार छाड्नेसम्मको चेतावनी गृहमन्त्री रवि लामिछानेले दिएका छन् । कांग्रेसले निरन्तर समितिको माग गर्दैगर्दा लामिछानेकै चेतावनीले सत्ता पक्ष दबाबमा छ ।

के गर्लान् विप्लव ?

त्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले वैशाख १५ गते इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने निर्णय गर्‍यो ।

चैत २४ गते उम्मेदवार मनोनयन दर्ताको दिन एमाले, माओवादी, नेकपाको जिल्ला समितिले नेम्वाङलाई समर्थन गर्ने भन्दै संयुक्त वक्तव्य जारी गरेको थियो । हाल विप्लव नेतृत्वको नेकपा संसदीय राजनीति बाहिर छ ।

एनआरएनए नवीकरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दर्ता नवीकरण भएको छ । परराष्ट्र मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट संघको दर्ता नवीकरण भएको हो ।

हरेक १० वर्षमा हुनुपर्ने संस्था नवीकरण गत अक्टोबरमै हुनुपर्ने भएपनि उच्च अदालत पाटनको फैसलापछि मात्रै मन्त्रालयले नवीकरण गरिदिएको हो ।

यसैगरी परराष्ट्र मन्त्रालयले एनआरएनएको नियमित बाहेकका कामकारबाही गर्न रोक लगाएको छ । परराष्ट्रले बुधबार पत्राचार गर्दै सर्वोच्चको फैसलाअनुसार नयाँ अन्तर्राष्ट्रिय समन्वय परिषदको गठन नभएसम्मका लागि संघको सचिवालयबाट नियमित प्रशासनिक काम कारवाही बाहेक अन्य कामकारबाही गर्न रोक लगाएको हो ।

किसानका पीडा

दुधको भुक्तानी नपाएका किसानहरू सरकारले पछिल्लो समय बीमाको रकम भुक्तानी गर्न नसक्दा दोहोरो मर्कामा परेका छन् । अर्थ मन्त्रालयबाट बीमा रकम निकासा हुन नसक्दा, दाबी गरिएको बाली तथा पशु बीमा रकम प्रमाणित हुन नसक्दा मारमा परेका किसान दुग्धजन्य पदार्थको भुक्तानी समेत रोकिएपछि समस्यामा छन् ।

नाउपा विवाद

गत साउनमा पार्टी एकीकरण गरी नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा आएका नेपाल सद्भावना पार्टी पृष्ठभूमिका नेताहरू यतिबेला अलमलमा परेका छन् । नाउपाभित्र संरक्षक रेशम चौधरी र संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठबिचको विवादका कारण उनीहरू अलमलमा परेका हुन् ।

आयोगको प्रतिवेदन

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले गरेको अध्ययन अनुसार चिकित्सा शिक्षालाई समस्याग्रस्त बनाउनेमा ४३ जनालाई जिम्मेवार बनाएको छ ।

 मनलाग्दी तरिकाले मेडिकल कलेजहरूलाई सम्बन्धन दिएको, दबाब र पदको आडमा निर्णय गर्न लगाएको जस्ता कारण देखाउँदै आयोगले त्यस्ता उच्च पदस्थ अधिकारीहरूमाथि भविष्य सरकारी तथा अर्ध सरकारी लाभको पदमा नियुक्त गर्न नमिल्ने गरी कारबाही गर्न सिफारिस गरेको छ । त्यस्तै उनीहरूको सम्पत्तिमाथि छानबिन गर्दै कानुन बमोजिम कारबाही गर्न समेत सिफारिस गरेको छ ।

गण्डकीमा टुक्रियो मन्त्रालय

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पहिलो कार्यकालमा १२ वटा मन्त्रालय गाभेर ७ बनाएका थिए । उनले हरेका कार्यक्रम र संसद् बैठकमा पनि यो विषयमा गर्वका साथ बोल्ने र भाषण गर्ने गरेका थिए ।  उनले भन्दै आएका थिए, ‘प्रदेशको सामथ्र्य अनुसारको मन्त्रालय बनाएँ ।’ अहिले फेरि उनैले मन्त्रालय टुक्र्याएका छन् ।

नयाँ वर्षको मौसम

नयाँ वर्षको पहिलो दिनको मौसम कस्तो होला भन्ने कौतूहल जो कसैमा पनि हुनसक्छ । नयाँ वर्ष २०८१ वैशाख १ गते त शनिवार नै परेकाले बिदा मनाउन विशेष कार्यक्रम पनि बनेको हुन्छ । प्रिमनसुनको सुरुआत भएकाले मौसमको हालखबर प्रति सबैको चासो हुनु स्वाभाविक नै हो ।

त्यस दिनको मौसमका बारेमा जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिवार दिउँसो  देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ ।

दरबारमार्ग र ठमेल २४ सै घण्टा खुला

काठमाडौँको मुटु ठमेल र दरबारमार्ग वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुला रहने भएको छ । स्थानीय व्यवसायी, गृह प्रशासन र सरोकारवालाहरूको सक्रियतामा ठमेल र दरबार मार्गलाई २४ सै घण्टा खुला गर्न लागिएको हो ।

राष्ट्र बैंकको रिपोर्ट

चालु आर्थिक वर्षको ८ महिनामा बैंकहरुले सवारी कर्जामा मात्र १ खर्ब १६ अर्ब भन्दा बढी लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको फागुन महिनाको वित्त रिपोर्ट अनुसार वाणिज्य बैंकहरुले हायर पर्चेज कर्जाको शीर्षकमा १ खर्ब १६ अर्ब १८ करोड ५० लाख रुपैयाँ लगानी गरेका हुन् ।

यो पनि छुट्यो कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप