बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित

बुधबार, ०४ असार २०८२, ०० : ००
बुधबार, ०४ असार २०८२

काठमाडौँ । रातोपाटी डटकमले वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ–

१. स्कटल्याण्डविरुद्ध नेपालको जित

स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा नेपाली बलरहरुको सामु कमजोर देखिएको स्कटल्याण्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनको लक्ष्य दिएको थियो।

२. ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ । मंगलबार पूर्व राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् । उनीहरूबिच करिब एक घण्टा भेटवार्ता भएको बुझिएको छ ।

३. छुटे रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर छुटेका छन् ।  मिश्रकी श्रीमती सारिका कार्कीले धरौटीबापतको तीन लाख रुपैयाँ जम्मा गरेकी हुन् । 

४. रुग्ण उद्योग

लामो समयदेखि नेपाली अर्थतन्त्रमा बहस र राजनीतिक खपतको विषय बन्दै आएका रुग्ण तथा बन्द सार्वजनिक संस्थानहरूको भविष्यबारे सरकार अन्ततः निष्कर्षमा पुगेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेका सात वटा प्रमुख सार्वजनिक संस्थानहरू सञ्चालन गर्न आफू असक्षम रहेको स्वीकार गर्दै सरकारले तिनीहरूको लगानी व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

५. स्वास्थ्य क्षेत्रलाई उपेक्षा

स्वास्थ्य क्षेत्रमा सातै प्रदेशका सरकारले चालु वर्षको तुलनामा बजेटको आकार घटाएका छन् । प्रदेश सरकारहरूले आर्थिक वर्ष २०८२/८३ का लागि आइतबार सार्वजनिक गरिएको बजेटमा मधेस सरकारबाहेक अन्य प्रदेश सरकारले स्वास्थ्यमा बजेट घटाएका हुन् । स्वास्थ्य क्षेत्रमा विनियोजित बजेटलाई केलाउँदा स्वास्थ्य मन्त्रालय रहेका प्रदेशहरूले समेत महत्त्व दिएको पाइएन ।  

६. किसानको पीडा

फत्तेपुरका सलिक हवारीले ३ वर्षअघि १ करोडमा किनेको जग्गा हालै ६० लाख रुपैयाँमा बिक्री गरेका छन् । तरकारी खेती गर्दा लागेको ऋण तिर्न नसकेपछि उनले ४० लाख घाटा खाएर जग्गा बिक्री गरेका हुन् ।

७. माओवादी के गर्छ ?

भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र सत्तापक्षबिच दुई बुँदे सहमति भए पनि संसद्को अवरोध हट्न सकेको छैन । यस प्रकरणमा माओवादीले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित १८ दिनसम्म संसद् बैठक अवरुद्ध गरेको थियो ।

८. सरुवा

गृह मन्त्रालयले सहसचिवको दरबन्दी भएका जिल्लामा ‘पावर’ लगाएर प्रमुख जिल्ला अधिकार (सीडीओ) भई ‘मस्ती गरिरहेका’ पाँच उपसचिवलाई तानेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट सहसचिवको दरबन्दी भएका जिल्लामा सीडीओ भएका उपसचिवहरू दीर्घराज उपाध्याय, चोमेन्द्र न्यौपाने, सावित्रा पुन, रामबहादुर शाही र मोहनराज जोशीलाई मंगलबार तानिएको हो । 

९. फिल्ममा लगानीको बाढी

नेपाली फिल्मको निर्माण दिन प्रतिदिन बढ्न थालेको छ । नेपाल चलचित्र विकास बोर्डको पछिल्लो तथ्याङ्कले यस क्षेत्रमा अभूतपूर्व परिवर्तन देखिएको सङ्केत गरेको हो । बोर्डमा गत वैशाखको तुलनामा जेठ महिनामा फिल्म निर्माण इजाजत लिनेको सङ्ख्या दोब्बरले बढेको छ ।

१०. धरान उपमहानगरपालिका तनावग्रस्त

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्रविक्रम बेघाबिच तीन दिन अगाडि सुरु भएको विवाद चर्किँदै जाँदा त्यहाँ झडपको स्थिति सिर्जना भएको छ । नगर प्रमुख हर्क साम्पाङले श्रमदान भन्दै गरेको कामको डोर हाजिरी प्रमाणित गरेर भुक्तानी गर्न दबाब दिएपछि उपप्रमुख बेघाले असहमति जाहेर गरेका थिए । 

११. इजरायलमा नेपालीले भोगेको पीडा

इरान र इजरायलबिच चर्किरहेको युद्ध आफूहरूले देखेमध्ये सबैभन्दा भयानक र खतरनाक रहेको इजरायलमा बसोबास गरिरहेका नेपालीले बताएका छन् । 

१२. उपकुलपति छनोट

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति पद रिक्त भएको तीन महिना बितिसक्दा पनि नयाँ नियुक्तिको प्रक्रियाले गति लिन सकेको छैन । नयाँ उपकुलपति छनोट तथा सिफारिस गर्न गठित समिति आफैँ प्रक्रियागत अलमलमा फसेपछि नियुक्तिमा थप ढिलाइ हुने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप