काठमाडौँ । भ्रष्टाचारको विरोध तथा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध ‘जेनजी’हरुले सोमबार गरेको प्रदर्शनमा प्रहरी दमन भएको छ । यो घटनामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । यसैबीच सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध कायमै रहने अडान लिएका छन् ।
काठमाडौँ । नेपालस्थित संयुक्त राज्य अमेरिकाका सहित सातका देशका दूतावासहरूले जेनजी आन्दोलनका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
सोमबार एक सयंयुक्त विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र र बेलायत दूतावासहरूले जेनजी आन्दोलनका क्रममा देखिएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका हुन्।
संयुक्त विज्ञप्तिमा काठमाडौँसहित नेपालका विभिन्न स्थानमा भएको घटनाले ज्यान गुमाउने अवस्था सिर्जना हुनु र कैयौं घाइते हुनु दुःखद भएको उल्लेख गर्दै पीडित परिवारजन र प्रभावितप्रति समवेदना प्रकट गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।
काठमाडौँ ।जेनजी आन्दोलनका क्रममा सरकारले गरेको दमनलाई अमानवीय भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले कडा आपत्ति जनाएको छ। सङ्गठनले घटनाप्रति शोक प्रकट गर्दै एक सातासम्म आफ्ना झण्डा आधा झुकाउने निर्णय गरेको छ।
अनेरास्ववियुले सोमबार जारी गरेको विज्ञप्तिमा विद्यार्थीमाथि गरिएको दमनको घोर भर्त्सना गर्दै घटनामा संलग्न जिम्मेवार व्यक्तिहरूले राजीनामा दिनुपर्ने माग गरेको छ। साथै, निर्दोष बालबालिकाको ज्यान लिने कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अनेरास्ववियुको माग छ।
विज्ञप्तिमा भनिएको छ, “यो दुःखद घटनामा ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।”
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन्। उनले प्रदर्शनमा नागरिकको ज्यान गएको घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन्।
साेमबार एव वक्तव्य जारी गर्दै ओलीले सरकार जेनजी पुस्ताको मागप्रति संवेदनशील रहेको तर प्रदर्शनमा विभिन्न स्वार्थ समूहले घुसपैठ गर्दा तोडफोड र आगजनी जस्ता घटना भएको बताए। ‘प्रदर्शनका आयोजक स्वयंले सफल भएको घोषणा गरी घर फर्कन आग्रह गरिसकेपछि घुसपैठियाहरुले संवैधानिक संस्थाका कार्यालयमा तोडफोड र आगजनी गरे। त्यसपछि राज्यको सम्पत्ति जोगाउन सरकारले कदम चाल्नुपर्ने स्थिति आयो,’ प्रधानमन्त्री ओलीले भने।
सामाजिक सञ्जाल बन्द गरिएको विवादबारे स्पष्ट पार्दै उनले सरकार नागरिकलाई जोगाउन विगत एक वर्षदेखि नै कम्पनीहरूलाई नेपालमा दर्ता र सूचीकरण गर्न आग्रह गर्दै आएको स्मरण गराए। कतिपयले दर्ता गरे पनि केहीले बेवास्ता गरेको र त्यसैबिच सर्वोच्च अदालतले सूचीकरण नगरी सञ्चालन नगर्न निर्देशनात्मक आदेश दिएको कारण सामाजिक सञ्जाल निष्क्रिय गर्नुपरेको उनले उल्लेख गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नख्खु कारागारबाट देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री र सरकारमाथि कठोर आरोप लगाएका छन्। उनले काठमाडाैँमा साेमबार जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोलीबाट विद्यार्थीको मृत्यु भएको घटनालाई ‘नेपाली इतिहासकै कालो दिन’ भन्दै सरकारलाई तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।
लामिछानेले आफ्नो सन्देशमा १९ भन्दा बढी विद्यार्थीको रगत बगेको र सयौँ घाइते भएको दाबी गर्दै भनेका छन्, “ब आततायीहरूलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न ।”
उनले जेनजी पुस्तालाई सडकमा ल्याउन सरकारकै कुशासन, भ्रष्टाचार र क्रूरता बाध्यकारी भएको आरोप लगाए। ‘सिपालु सिकारीले चरा मारेझैँ स्कुले पोसाक लगाएका अबोध बालबालिकालाई गोली हानेर मारियो,’ उनले जारी गरेको सन्देशमा भनिएको छ ।
सुर्खेत। देशभर जेनजी युवाहरूले चालेको आन्दोलनले शैक्षिक क्षेत्रमा प्रभाव पारेको छ। यसैको फलस्वरूप मध्यपश्चिम विश्वविद्यालयले मंगलबारदेखि तय गरिएका सम्पूर्ण परीक्षाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ ।
विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले एक जरुरी सूचनामार्फत स्नातक र स्नातकोत्तर तहका विभिन्न सङ्काय तथा सेमेस्टरका परीक्षाहरू स्थगित गरिएको जनाएको छ।
जेनजी आन्दोलनका कारण उत्पन्न असहज परिस्थिति र सम्भावित अवरोधलाई मध्यनजर गर्दै विश्वविद्यालयले यो निर्णय लिएको जनाएको हो। मंगलबार बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने भनिएका सबै परीक्षाहरू हाललाई स्थगन गरिएको परीक्षा व्यवस्थापन प्रमुखले जानकारी दिएका छन् ।
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
शान्ति, सु–व्यवस्था कायम गर्नु/गराउनुको साटो ओली नेतृत्वको वर्तमान सरकारले उल्टै नेपाली नागरिकको हत्या–आतङ्कमा उत्रिनु दुःखद रहेको जनाउँदै उनले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।
जेन–जी पुस्ताको आजको प्रदर्शनमा कलिला युवाहरूमाथि बर्बरतापूर्वक सरकारले नरसंहार मच्चाएको साहको ठहर छ । भ्रष्टाचार, अनियमितता, कुशासन, सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय विरुद्ध आवाज उठाउँदा शान्तिपूर्ण आन्दोलनमा सरकारले ताकिताकि गोली चलाउँदा दर्जनौँ युवाहरूको मृत्यु हुनुका साथै सयौँ युवाहरू घाइते भएका छन् ।
वीरगन्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगरपालिका भित्रका विभिन्न कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी टोपनारायण सुवेदीले आइतबार बेलुकी ९ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम निषेधाज्ञा लागू हुने आदेश जारी गरेका हुन्।
आदेशअनुसार वीरगन्ज महानगरपालिका भित्र पूर्वमा बाइपास रोड, पश्चिममा सिरिसिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रमा आवत-जावत, जुलुस, प्रदर्शन, सभा–बैठक तथा अन्य भिडभाडपूर्ण गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनमा १९ जनाको मृत्यु र ठुलो मात्रामा क्षति भएपछि प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारीको आकस्मिक बैठकले ओलीको राजीनामा मागेको हो ।
बैठकले प्रदर्शनको क्रममा मृत्यु भएका व्यक्तिहरूप्रति भोलि बेलुका पाँच बजे ७५३ वटै पालिकामा श्रद्धाञ्जलीसभा राख्ने निर्णय गरेको छ । घाइतेहरुको निःशुल्क उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
‘सरकारले इतिहासकै क्रूर नरसंहार सरकारले गरेको छ । प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निर्णय बैठकले गरेको छ। जेनजी पुस्ताको जायज मागप्रति हाम्रो ऐक्यबद्धता छ’, बैठकको निर्णय सुनाउँदै उनले भने ।
काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको ठूलो मानवीय क्षति र सयौंको संख्यामा प्रदर्शनकारी घाइते भएको घटनाप्रति जनमत पार्टीले गहिरो दुःख, पीडा र गम्भीर चिन्ता व्यक्त गरेको छ।
पार्टीले पत्रकारलगायत सम्पूर्ण घाइतेको तत्काल निःशुल्क उपचारको व्यवस्था मिलाउन र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ। साथै, प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउन सबै पक्षलाई आग्रह गरेको छ।
“राजनीतिक व्यवहारमार्फत मात्र वर्तमान संकट समाधान गर्न सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ,” पार्टीको विज्ञप्तिमा उल्लेख गरिएको छ।
चितवन । ‘जेन जी’ प्रदर्शनका क्रममा चितवनमा २ राउन्ड हवाई फायर गरिएको छ । सोमबार भएको ‘जेन जी’ समूहको प्रदर्शनमा चितवनमा स्थिति नियन्त्रणमा लिन २ राउन्ड हवाई फायर र ३२ सेल अश्रुग्यास प्रहार गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज नयाँ पुस्ताको ‘जेन जी’ समूहले जिल्ला प्रशासन कार्यालयअगाडि गरेको प्रदर्शनका क्रममा स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्याँस प्रहार गरेको हो । जिल्ला प्रशासन कार्यालय चितवनले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शन हिंसात्मक बन्न पुग्दा १५ सुरक्षाकर्मी र २ जना प्रदर्शनकारी घाइते भएका छन् ।
‘जेन जी’ समूहका प्रदर्शनकारीहरूले नाराबाजीसहित विरोध प्रदर्शन गरेका थिए । प्रशासनका अनुसार प्रदर्शनकारीहरूले भरतपुर महानगरपालिकाको कार्यालयमा तोडफोड समेत प्रयास गरेका थिए ।
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सोमबार भएको घटनालाई मध्यनजर गर्दै मङ्गलवार एक दिनका लागि नगरभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाले सोमबार साँझ एक सूचना सार्वजनिक गर्दै मङ्गलवार नगरका सबै सामुदायिक र निजी तथा संस्थागत शैक्षिक संस्थाहरू बन्द रहने जनाएको छ । उपमहानगरपालिकाले थप अप्रिय घटना नहोस् भन्ने उद्देश्यले विद्यालय बन्दको निर्णय गरेको सूचनामा उल्लेख गरेको छ ।
सोमबार जेनजीले गरेको प्रदर्शन हिंसात्मक बन्दा देशभर १९ जनाले ज्यान गुमाएका छन् भने तीन सयभन्दा बढी घाइते भएका छन् । विभिन्न ठाउँमा भइरहेको प्रदर्शनले शिक्षा क्षेत्रमा समेत प्रत्यक्ष असर पारेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाको ठहर छ ।
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले 'जेनजी' पुस्ताको आन्दोलनमा सरकारले गरेको बर्बर दमनको कडा शब्दमा निन्दा गरेका छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले सरकारको कदमलाई 'निरंकुश र क्रूर' भनेका छन्।
कोइरालाले शान्तिपूर्ण प्रदर्शनमा सहभागी युवाहरूमाथि गोली चलाएर हत्या गरिएको घटनाले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, 'सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरूको हत्याले मलाई मर्माहत बनाएको छ।'
उनका अनुसार युवाहरूको माग जायज र समयसापेक्ष छन्। आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयलाई उनले 'अधिनायकवाद' को संज्ञा दिएका छन्। उनले भ्रष्टाचार निर्मूल हुनैपर्नेमा जोड दिएका छन्।
काठमाडौं । ‘जेनजी’ पुस्ताले गरेको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटना र एक दर्जनभन्दा बढी युवाको मृत्युपछि अभिनेता राजेश हमालले गहिरो पीडा व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा एक भावुक पोस्ट लेख्दै आफूले नेपाली भएकोमा यति धेरै लज्जित महसुस पहिले कहिल्यै नगरेको बताएका हुन्।
हमालले आफ्नो पोस्टमा लेखेका छन्, 'हामी एक राष्ट्रको रूपमा हाम्रा युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौँ, उनीहरूको वर्तमानसमेत खोसिरहेका छौँ।' उनले आजको दिन नेपालको इतिहासमा सबैभन्दा पीडादायी दिन बनेको उल्लेख गरेका छन्।
'म विदेश यात्रा गर्दै छु,' उनले लेखेका छन्, 'नेपाली भएकोमा यति लाज महसुस मैले कहिल्यै गरेको थिइनँ।'
काठमाडौँ । दसैँ नजिकिँदै जाँदा गत साल के भएको थियो ? हामी सबैलाई थाहै छ । दसैँको ठिक एक साताअघि बाढीपहिरोमा परी करिब २५० जनाले ज्यान गुमाएका थिए, सयौँ घाइते भए । थुप्रै विस्थापित भए ।
यो दर्दनाक घटनालाई यसकारण स्मरण गरियो, यस वर्ष पनि दसैँ आउन १५ दिन बाँकी रहँदा काठमाडौँमा १७ र इटहरीमा २ जना गरी १९ जनाले (यो पछिल्लो अपडेट) एकै दिन अमूल्य जीवन गुमाए । सयौँ जेनजी युवा घाइते छन् ।
फरक यति हो, गत साल प्राकृतिक विपत्ति वैरी भएको थियो, यसपालि आफ्नै सरकार यमराज ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले 'जेनजी' पुस्ताको आन्दोलनमा सरकारले गरेको दमनको कडा विरोध गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै सरकारले हत्याकाण्ड मच्चाएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनु पर्याप्त नभई नरसंहारको मुद्दामा उनीहरूलाई पक्राउ गरी जेल पठाउनुपर्ने बताएका हुन्।
सांसद शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, "यो राजीनामा माग्ने समय होइन। नरसंहार गरेर हत्याकाण्ड चलाएको मुद्दामा हत्कडी हालेर पक्राउ गर्दै जेल चलान गर्ने हो।"
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा हाल उत्पन्न भएको परिस्थितिबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले ‘जेनजी’ पुस्ताले गरेको प्रदर्शनका क्रममा ठुलो सङ्ख्यामा नागरिक हताहत भएको घटनाबाट आफू मर्माहत भएको बताएका हुन्।
राष्ट्रपति पौडेलले घटनामा ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन्। उनले घाइतेहरूको तत्काल उपचारका लागि सरकारलाई आग्रह पनि गरेका छन्।
उनका प्रेस सल्लाहकार किरण पोखरेलले दिएको जानकारीअनुसार राष्ट्रपति पौडेलले अप्रत्याशित रूपमा भएको यो घटनाले आफूलाई चिन्तित तुल्याएको बताएका छन्।
काठमाडौँ । जेनजीको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा भएको प्रहरीको बल प्रयोगमा एक दर्जनभन्दा बढीको मृत्यु भएपछि देशव्यापी आक्रोश बढेको छ ।
यसैबिच प्रहरीको दमनको विरोधमा सोमबार साँझ काठमाडौँको न्युरोड क्षेत्रमा समेत विरोध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडपसमेत भएको छ ।
आज दिनभर काठमाडौँमा भएको प्रदर्शनमा १ सयभन्दा बढी घाइते पनि भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँ । सोमबार जेनजीको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा घाइते भएकाहरूका लागि नेपाल मेडिसिटी अस्पतालले निःशुल्क उपचारको व्यवस्था मिलाएको छ ।
प्रदर्शनमा घाइते भएकाहरूका लागि छुट्टै मेडिकल टिम र वार्डको व्यवस्था गरिएको अस्पताल प्रशासनले जानकारी दिएको हो । अस्पतालले सहायताका लागि हटलाइन ११३४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
मकवानपुर । सोमबार बिहान जापान जाने तयारीमा रहेका दोलखाका विज्ञान काफ्ले बानेश्वरमा रहेको एक कन्सल्टेन्सी पुगेका थिए । तर, उनको त्यो सपना पूरा हुन पाएन। ‘जेन जी’ आन्दोलनको क्रममा प्रहरीको गोली लागेर उनी गम्भीर घाइते भएका छन् । हाल उनको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको आईसीयूमा उपचार भइरहेको छ ।
करिब २७ वर्षीय विज्ञानको शरीरमा पछाडि (ढाड माथिको भाग)बाट गोली छिरेर अगाडि (छाती)बाट निस्केको छ। उनका काका तथा तामाकोसी गाउँपालिका–१ का पूर्व वडाध्यक्ष महेश काफ्लेका अनुसार विज्ञान प्रदर्शनमा सहभागी हुन गएका थिएनन्। जापान जाने प्रक्रियाका लागि कन्सल्टेन्सी पुगेर फर्कने क्रममा उनी भीडमा फसेका थिए।
महेश भन्छन्, 'काम सकेर बाहिर निस्कँदा सडकमा चलिरहेको प्रदर्शन हेर्ने क्रममा विज्ञान भीड नजिक पुगेका थिए। सोही क्रममा मच्चिएको भागदौड र होहल्लाबीच उनी गोलीको शिकार बन्न पुगे।'
काठमाडौँ । संयुक्त किसान सङ्घर्ष समिति, नेपालले 'जेनजी' पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको बर्बर दमनको कडा निन्दा गरेको छ। विज्ञप्ति जारी गर्दै समितिले उक्त दमनका कारण १९ जनाको ज्यान गएको र सयौँ घाइते भएको घटनाप्रति गम्भीर आक्रोश व्यक्त गरेको छ।
समितिले सामाजिक सञ्जालहरू जनताको जीवनको अभिन्न अङ्ग र विदेशमा रहेका नेपालीहरूको सम्पर्क माध्यम बनेको उल्लेख गर्दै ओली सरकारले चाडपर्वको समयमा एक्कासि ती सञ्जालहरू बन्द गर्ने निर्णय गर्नु लोकतन्त्र, जनहित र अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको ठहर गरेको छ। विज्ञप्तिमा सामाजिक सञ्जालको नियमनका लागि कूटनीतिक पहल गर्नुपर्नेमा त्यसलाई बन्द गरेर सरकारले संविधानको प्रतिकूल काम गरेको आरोप लगाइएको छ।
संयुक्त किसान सङ्घर्ष समितिले आन्दोलनका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उपचार सरकारी खर्चमा गर्न माग गरेको छ। समितिले प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख कुबेरसिंह खापुङको तत्काल राजीनामा माग गरेको छ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए ।
तर, प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न नसकिने धारणा राखेका एक मन्त्रीले जानकारी दिए । यसबारे पौडेलले कांग्रेसको तर्फबाट जोडतोडका साथ जेनजीको आन्दोलन चर्किएको बेला सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई निरन्तरता दिन नहुने धारणा राखेका थिए ।
काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा आज ‘जेनजी’ पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भएका घटनाबारे विवरण सङ्कलन भइरहेको जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विवरण सङ्कलनको काम भइरहेको र हालसम्म प्रहरीबाट १९ जनाको मृत्यु र दुई सय जना हाराहारीमा घाइते भएको जानकारी आएको बताए ।
आन्दोलनले उग्र रूप लिएपछि काठमाडौँ, ललितपुर, रुपन्देही, कास्कीलगायत जिल्लाका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेनजी आन्दोलनमा भएको हत्या र दमनको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् ।
सोमबार एक कार्यक्रममा बोल्दै उनले ओलीको अहङ्कार र अधिनायकवादी चरित्रका कारण घटना भएकोले त्यसको सम्पूर्ण जिम्मेवारी उनैको हुने पुनले बताए ।
ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने उनको माग छ । ‘जेनजी पुस्ताको आन्दोलनमा भएको बल प्रयोग र हत्याको जिम्मेवारी प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वमा रहेको नालायक सरकारले लिनुपर्छ, पुनले भने, ‘यो परिस्थितिले उत्पन्न हुनुमा ओलीको अभिनायकवादी, निरङ्कुश र स्वेच्छाचारी प्रवृत्ति जिम्मेवार छ । घटनाले ओलीको असली चरित्र उदाङ्गो पारेको छ । पदमा बस्ने नैतिकता गुमाएकाले उनले तत्काल राजीनामा दिनुपर्छ ।’
काठमाडौँ । सोमबार काठमाडौँको सडकमा युवापुस्ताको सशक्त उपस्थिति देखियो, जसले भ्रष्टाचार तथा बेथितिविरुद्ध आवाज उठाएर सरकारलाई खबरदारी गर्यो । ‘जेनजी’ पुस्ता, जो आफ्नो ‘करिअर’कोमात्र चिन्ता गर्न छाडेर देशमा बढ्दो बेथितिप्रति चिन्तित हुँदै सडकमा उत्रिएको थियो ।
माइतीघर मण्डला चोकमा बिहान ९ बजेदेखि नै युवाहरूको जमघट सुरु भएको थियो । उपत्यकाका विभिन्न कुनाबाट युवा–विद्यार्थीहरू आ–आफ्नै ब्यानर बोकेर आएका थिए । बिहान १० बजेदेखि भिड ह्वात्तै बढ्यो । तीनकुने, शंखमुल, पुरानो बानेश्वर र बबरमहल लगायतका क्षेत्रबाट पनि युवाहरू जम्मा हुँदै गएका थिए ।
जेनजी पुस्ताको यो प्रदर्शनको मुख्य उद्देश्य सरकारको कमजोरी, भ्रष्टाचार र ‘नेपो बेबी’ (नेपोटिज्मबाट लाभ लिनेहरू) विरुद्ध खबरदारी गर्नु रहेको देखिन्थ्यो ।