शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
४४ जनाको उम्मेदवारी दर्ता (सबै अपडेट एकैठाउँमा)
राष्ट्रिय सभा निर्वाचन

LIVE UPDATES : ४४ जनाको उम्मेदवारी दर्ता (सबै अपडेट एकैठाउँमा)

बुधबार, २३ पुस २०८२, २० : २५
Live

काठमाडौँ । माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा एमाले, कांग्रेस र जसपा नेपालको गठबन्धन रहेको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक्लै चुनावी मैदानमा छ । 

 

१० बजे १० समाचार : राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारीदेखि कांग्रेसमा किचलोसम्म

आज २०८२ पुस २३ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मदेवारहरूको मनोनयन दर्ता सम्पन्न भएको छ । बुधबार सात वटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन् । ४४ जनाको उम्मेदवारी परेको निर्वाचन आयाेगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले औपचारिक रूपमै पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् । बुधबार संयुक्त रूपमा एक वक्तव्य जारी गर्दै महामन्त्रीद्वयले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका हुन् । 

राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशमा दुई सिटका लागि ६ जनाको उम्मेदवारी

मकवानपुर । यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा ६ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन जना महिला र तीन जना पुरुष गरी ६ जनाले उम्मेदवारी दत्र्ता गराएका छन् ।

महिला क्लस्टरतर्फ नेपाली कांग्रेसबाट गीता देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट सरोज कुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कबिता महर्जनले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा कुन दलबाट कसको उम्मेदवारी ?

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट बुधबार चार जनाले आ–आफ्नो उम्मेदवारीको मनोनयन पत्र दर्ता गराएका छन् ।

धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रत्याशीहरूले मनोनयन दर्ता गराएका हुन् ।

प्रदेशबाट रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यको एक पुरुषको कोटा (अन्य समूह) तर्फ नेपाली कांग्रेसका खम्महादुर खाती र नेपाली कम्युनिस्ट पार्टीका टीकाराम जैशीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयका प्रेमराज भट्टले जानकारी दिए ।

उम्मेदवारको मनोनयन दर्ता सम्पन्न, कसले कहाँबाट दिए उम्मेदवारी ?

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मदेवारहरूको मनोनयन दर्ता सम्पन्न भएको छ । 

बुधबार सात वटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन् । 

४४ जनाको उम्मेदवारी परेको निर्वाचन आयाेगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । 

राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा २ सिट खाली, ६ जना उम्मेदवार

पोखरा । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट ६ जनाले उम्मेदवारी दिएका छन् । 

महिलाबाट ३ र अन्य क्लष्टरमा ३ गरी जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय कास्कीका प्रमुख नारायण ढकालले जानकारी दिए ।

राष्ट्रिय सभामा कांग्रेस र एमालेले गठबन्धन गरेका छन् भने अन्य दलहरू एकल प्रतिस्पर्धामा उत्रिएका छन् ।

राष्ट्रियसभा निर्वाचन : मधेसबाट ११ जनाले गराए मनोनयन पत्र दर्ता

धनुषा । राष्ट्रियसभा निर्वाचनका लागि मधेस प्रदेशबाट ११ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् । 

मधेसमा ४ राष्ट्रियसभा सिटका लागि कांग्रेस–एमाले गठबन्धन, माओवादी केन्द्र, लोसपा नेपाल तथा जसपा नेपालबाट ११ जना उम्मेदवारले बुधबार मनोनयन पत्र दर्ता गराएका हुन् । 

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अन्य तर्फ उम्मेदवारी दर्ता गराएका छन् । उनको उम्मेदवारीमा लोसपाको मधेस प्रदेशसभा सदस्य जयनुल राइन प्रस्तावक र रानी शर्मा तिवारी समर्थक बसेका थिए । ठाकुरको उम्मेदवारीमा जसपा नेपालको पनि समर्थन छ । 

राष्ट्रिय सभा निर्वाचन : सरोज कुमारी झाद्वारा उम्मेदवारी दर्ता

मकवानपुर । राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को तर्फबाट सरोज कुमारी झाले उम्मेदवारी दर्ता गरेकी छिन् । उनले बुधबार उम्मेदवारी दर्ता गराएकी हुन् । 

महिला क्लस्टरमा मनोनयन दर्ता गरेकी झाको मीना लामा प्रस्तावक र सीता पुलामी मगर समर्थक रहेकी छन् ।

जसपा नेपालले गठबन्धनका साझा उम्मेदवार ठाकुरलाई समर्थन गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले गठबन्धनका साझा उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेको छ । राष्ट्रियसभा निर्वाचनका  लागि आफ्नो पार्टीबाट ३ जना उम्मेदवार चयन गरेपनि सो पार्टीले गठबन्धनका साझा उम्मेदवार ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको हो ।

जसपा नेपालले चमेलीदेवी दास, चन्द्रकला साह र शैलेश चौधरीलाई उम्मेदवार चयन गरेको छ । अल्पसंख्यकबाट चौधरी, महिलाबाट साह र दलिततर्फ दासलाई उम्मेदवारको रुपमा अघि साएिको हो ।  तीनै जना उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्। 

राष्ट्रिय सभा सदस्य निर्वाचन : कांग्रेस–एमालेका उम्मेदवारको मनोनयन दर्ता

बुटवल । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

बुधबार आगामी माघ ११ गते हुने निर्वाचनका लागि उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । 

उनीहरुले राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८२ का निर्वाचन अधिकृतको कार्यालय घोराहीमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । 

नेकपा एमालेबाट मधेसमा रेखा झाले गराइन् उम्मेदवारी दर्ता

धनुषा। नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि मधेस प्रदेशबाट रेखा झाले मनोनयन दर्ता गराएकी छन् । 

उनले बुधबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा शारदा थापा र समर्थक कल्पना कटवाल रहेका छन् । 

लुम्बिनीबाट नेकपाका तीन जनाको मनोनयन दर्ता

बुटवल । लुम्बिनी प्रदेशबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन जनाले  राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी उम्मेदवारी दर्ता गराएका छन् । बुधबार उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । 

अपाङ्गतातर्फ  बाँके जिल्लाको  बैजनाथ गाउँपालिका ५ निवासी सर्जन विकले उम्मेदवारी दिएका हुन । जसको प्रस्तावकमा प्रदेश सभा सदस्य दीपेन्द्र घर्ती र समर्थकमा प्रदेश सभा सदस्य दिलकुमारी बुढा छिन् । 

अन्य तर्फमा बृहस्पति अधिकारीले मनोनयन दर्ता गरेका छन् । उनको  प्रस्थापकमा लुम्बिनी प्रदेश सभा सदस्य  यमबहादुर नेपाली, समर्थकमा अर्का प्रदेश सभा सदस्य मिना बुढा छिन् । 

नेकपाका सापकाेटाले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का प्रेम सापकोटा (राजेन्द्र)ले बागमती प्रदेशबाट उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बुधबार उनले उम्मेदवारी दर्ता गराएका हुन् । 

उनको प्रस्तावकमा बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी  र बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री समर्थक रहेका छन् ।  आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ ।

राष्ट्रियसभा निर्वाचन : मधेसमा तीन दलीय गठबन्धन टुट्ने खतरा

जनकपुरधाम । राष्ट्रियसभा सदस्यका लागि मधेस प्रदेशमा चार सिटका लागि नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी(जसपा)नेपाल बिचको गठबन्धन टुट्ने खतरा बढेको छ । 

जसपा नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले आफूहरूलाई एक सिट नदिए  गठबन्धन टुट्ने खतरा रहेकाे बताए । उनका अनुसार लोसपा अध्यक्ष महन्थ ठाकुरले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

केही दिनअघिमात्रै लाेसपा जसपा नेपालबिच पार्टी एकता भएकाे थियाे । 

कर्णालीमा नेकपाका बुद्धि शर्मा र अन्जु महतराले गरे उम्मेदवारी दर्ता

‎‎सुर्खेत । कर्णालीबाट राष्ट्रियसभाका दुई सदस्य पदमा हुन लागेको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुद्धिप्रसाद शर्मा र अन्जु महतरा (शाही) लाई उम्मेदवारी दर्ता गराएका छन् ।

‎शर्मा अन्य कलस्टर र महतरा महिला कलस्टरका उम्मेदवार बनेका हुन् । ‎उनीहरू वीरेन्द्रनगर स्थित निर्वाचन आयोगमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

‎‎बुद्धिप्रसाद शर्मा साविक माओवादीतर्फका हुन् भने अन्जु समाजवादीतर्फकी हुन् । शर्माले रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्छन् भने अन्जुले डोल्पाबाट प्रतिनिधित्व गर्छन्।

सुदूरपश्चिममा कांग्रेसका खातीले गरे उम्मेदवारी दर्ता

धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खातीले पनि उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार खातीले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पदमबहादुर शाहीको प्रस्ताव र एमालेका चक्रबहादुर मल्लको समर्थनमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि एमालेकी लीला भण्डारीले पनि उम्मेदवारी दर्ता गराएकी छन् भने नेकपाका तर्फबाट महिलामा रोजी बस्नेत र अन्यमा टिकाराम जैशीले उम्मेदवारी दर्ता गराएका छन् ।

सुदूरपश्चिममा एमालेकी भण्डारीले गरिन् उम्मेदवारी दर्ता

धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार महिलातर्फ एमालेकी लीला भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन ।

भण्डारीले प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रस्ताव र सन्तोष शर्मा थापाको समर्थनमा उम्मेदवार दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि नेकपाका तर्फबाट महिलामा रोजी बस्नेत र अन्यमा टिकाराम जैशीले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका खम्मबहादुर खातीले भने अन्यमा उम्मेदवारी दर्ता गर्नेछन् ।

नेकपा मधेसबाट चार जनाले गराए उम्मेदवारी दर्ता

धनुषा । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिएको छ । 

बुधबार दलित कोटाबाट शम्भु पासवान, अल्पसङ्ख्यकबाट रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल  र मधेसी कोटाबाट समी कुमारी अग्रवालले उम्मेदवारी दर्ता गराएका हुन् ।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।

गण्डकीमा नेकपाका रूची र लामाले गरे उम्मेदवारी दर्ता

पोखरा । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा उम्मेदवारी दर्ता गरेको छ । नेकपाले अन्यमा मनाङका कपिल लामा र महिलामा कास्कीकी गोमा घिमिरे रूचीलाई उम्मेदवार बनाएको हो । 

नेपाली कम्युनिस्ट पार्टीबाट गण्डकीमा ७ सांसद र ३० स्थानीय तहका जनप्रतिनिधि छन् । उनीहरूको मतभार ९ सय ४१ हुन्छ ।

बागमतीमा कांग्रेसकी गीता देवकोटाले दर्ता गरिन् उम्मेदवारी

हेटौँडा । बागमतीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसकी गीता देवकोटाले उम्मेदवारी दर्ता गराएकी छिन् । सत्ता गठबन्धनको तर्फबाट उनले मनोनयन दर्ता गराएकी हुन् ।

चितवनकी देवकोटाले बागमती प्रदेशसभा सदस्य किरण थापा प्रस्तावक र रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा समर्थनमा मनोनयन दर्ता गराएकी छन् ।

एमालेले राष्ट्रियसभाको उम्मेदवार बनाएका पोर्तेलको नाम समानुपातिकको बन्दसूचीमा

काठमाडौँ । नेकपा एमालेले कोशी प्रदेशमा दलित क्लस्टरबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनाएका सोमनाथ पोर्तेलको नाम प्रतिनिधिसभाको समानुपातिक बन्दसूचीमा समावेश रहेको पाइएको छ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको बन्दसूचीमा पोर्तेलको नाम ८५औँ नम्बरमा छ । 

दलित क्लष्टरमा १३ नम्बरमा र दलित पुरुषतर्फ ५ नम्बरमा पोर्तेलको नाम छ । समानुपातिक बन्दसूचीको अन्तिम नामावली आइनसकेकाले राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्नका लागि कानुनी रूपमा बाधा नपर्ने कानुनका जानकारहरू बताउँछन् ।

कोशीमा गठबन्धनका उम्मेदवारले दर्ता गराए मनोनयन

विराटनगर । नेकपा एमाले र नेपाली काङ्ग्रेसको गठबन्धनले कोशीमा राष्ट्रियसभाको निर्वाचनका लागि मनोनयन दर्ता गराएको छ । गठबन्धनले कोशी प्रदेशमा महिलातर्फ रोशनी मेचे, दलितमा सोम पोर्तेल र खुल्लामा सुनिल थापालाई उम्मेदवारको रुपमा अघि सारेको छ । 

रोशनी मेचेको सिर्जना राई  समर्थक र शोभा चेम्जोङ प्रस्तावकमा रहेकी छिन् । यस्तै पोर्तेलको प्रस्तावक छवि चुँडाल र समर्थक एकराज कार्की रहेका छन् । यस्तै थापाको प्रस्तावकमा उद्धव थापा रहेका छन् भने समर्थकमा रेगिना भट्टराई रहेकी छन् ।

कोशीमा ३ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । सो अनुसार एमालेले २ र काङग्रेसले एक जना उम्मेदवार बाँडफाँड गरेका छन् ।

गठबन्धनका तिमिल्सिना र देवकोटाले गराए उम्मेदवारी दर्ता

पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस र एमाले गठबन्धनका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पोखरामा रहेको प्रदेश निर्वाचन कार्यालयमा पुगेर बुधवार उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसले तनहुँका प्राडा जगत तिमिल्सिनालाई उम्मेदवार बनाएको छ भने एमालेले गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ ।

तिमिल्सिना प्राध्यापक संघका केन्द्रीय अध्यक्ष भएर काम गरेका व्यक्ति हुन् । देवकोटा भने यसअघिका पटक पटक निर्वाचनमा पराजित नेतृ हुन् ।

कांग्रेसका ललितजंग शाहीले कर्णालीबाट दर्ता गराए उम्मेदवारी

सुर्खेत । नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि कर्णालीबाट ललितजंग शाहीको उम्मेदवारी दर्ता गराएको छ । बुधबार सुर्खेतमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहीले मनोनयन दर्ता गराएका हुन् । 

उनी कांग्रेस-एमाले गठबन्धनबाट अन्य कलस्टर तर्फको उम्मेदवार बनेका हुन् । उनी ०७९ मा प्रदेश सभामा प्रत्यक्षतर्फको चुनाव लडेर पराजित भएका थिए । उनी कांग्रेस कर्णाली प्रदेश सभापति समेत हुन् ।  कर्णालीमा दुई पदका लागि राष्ट्रियसभा निर्वाचन हुँदैछ ।

बागमतीमा एमालेका तर्फबाट दंगालले गरे उम्मेदवारी दर्ता

हेटौँडा । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट डा.प्रेमप्रसाद दंगालले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका डा.दंगालले मनोनयन दर्ता गरेका हुन् ।

कांग्रेसको समर्थनमा उम्मेदवार बनेका डा.दंगाल अखिल नेपाल कृषक महासंघका अध्यक्ष हुन् । उनले विनु रायमाझी प्रस्तावक र हिदम लामा समर्थनमा मनोनयन दर्ता गरेका हुन् ।

महन्थ ठाकुरले गराए राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता

काठमाडौँ ।  राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेता महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस र एमालेसँगको गठबन्धनमा जसपा नेपालको तर्फबाट उनले बुधबार मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

उनको समर्थक रानी शर्मा तिवारी र  प्रस्तावक जेनुर राइन रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया