१२ बजे १२ समाचारः रवि र कुलमानबिच अझै जुटेन सहमति, तालमेलविना चुनावमा उत्रिने आँट गर्दै प्रचण्ड
सारांश
- रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकतामा ढिलाइ भएको छ।
- प्रचण्डले आगामी निर्वाचनमा तालमेल नगर्ने तयारी गरेका छन्।
- विभिन्न व्यक्तिहरूले आगामी निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन्।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर सधैँझैँ उपस्थित भएका छौँ–
१. रवि–बालेन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा)बिच पुस १४ गते एकता गर्ने सहमति भयो । तर, सहमति अनुसार रास्वपा कार्यान्वयनको पक्षमा नउभिँदा दुई पार्टीबिचको एकताले पूर्णता पाउन ढिलाइ भएको छ ।
२. प्रचण्डको हिम्मत
संसदीय निर्वाचनमा १२ वर्षपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तालमेलविना प्रतिस्पर्धा गर्ने आँट देखाउन थालेका छन् । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले आसन्न निर्वाचनमा कसैसँग तालमेल नगर्ने नीति अख्तियार गर्ने तयारी थालेका हुन् ।
३. उम्मेदवारी घोषणा
सामाजिक अभियन्ता आशिका तामाङले काठमाडौँ क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारीको घोषणा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिने बताएकी हुन् ।
जेनजी अगुवा सुदन गुरुङले प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।
बागमती प्रदेशसभा सदस्य कुन्दन काफ्लेले पदबाट राजीनामा दिने भएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्नका लागि आफूले प्रदेश सभा सदस्यबाट राजीनामा दिने मनस्थिति बनाएको उनले बताए ।
४. कांग्रेसको विवादमा जेनजीको चासो
नेपाली कांग्रेसभित्र नियमित कि विशेष महाधिवेशन भन्ने बहस चलिरहँदा भदौ २३ र २४ गते भएको आन्दोलनबाट उदाएका ‘जेनजी’ अगुवाहरूले चासो राख्न थालेका छन् । उनीहरू कांग्रेसको दलीय राजनीतिमा सक्रिय नभए पनि विशेष महाधिवेशनको पक्षमा खुला वकालत गर्न थालेका छन् ।
जेनजी आन्दोलनका चर्चित अनुहारहरू रक्षा बम, तनुजा पाण्डे, भावना राउत लगायतले कांग्रेसको वर्तमान नेतृत्व र कार्यशैलीमाथि प्रश्न उठाउँदै विशेष महाधिवेशनको पक्षमा वकालत गरेका हुन् ।
नेपाली कांग्रेसको संस्थापन समूहका केन्द्रीय सदस्यहरूले भूराजनीतिका कारण कांग्रेस विभाजनको संघारमा पुगेको भन्दै त्यसलाई रोक्न प्रयास गर्ने निष्कर्ष निकालेको छ ।
काठमाडौँको बानेश्वरस्थित अनन्दभूमि इभेन्टमा शुक्रबार भएको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको छलफलले कांग्रेसलाई कमजोर बनाउन भित्रिया र बाहिरी शक्ति सक्रिय भएको निष्कर्ष निकालेको हो ।
५. मन्त्रीको अमेरिका भ्रमण विवाद
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण र कार्यक्रमलाई लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाबाटै फरक फरक धारणा आएपछि एनआरएनए वृत्तमा हंगामा भएको छ।
एउटै विषयमा एनआरएनए एनसीसी यूएसएबाट दुई फरक–फरक विज्ञप्ति आएपछि भ्रम सिर्जना भएको भन्दै एनआरएनएकै केन्द्रले औपचारिक रूपमा प्रेस विज्ञप्ति जारी गर्दै यसबारे स्पष्ट पार्न खोजेको छ।
६. मन्त्री फेरिए, फेरिएनन् समस्या
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २२ गते (गत मंगलबार) ९ जना मन्त्रीलाई हटाएर नयाँ १० जना मन्त्री नियुक्त गरे । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित ९ मन्त्रालय रहेको प्रदेश सरकारमा यसअघि १० सदस्यीय मन्त्रिपरिषद् थियो । मंगलबार पुनर्गठित मन्त्रिपरिषद् ११ सदस्यीय बनाइएको छ ।
७. राप्रपामा विवाद
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र समानुपातिकको बन्दसूचीबारे रडाको उत्पन्न भएको छ ।
शुक्रबार दिउँसो महिलाहरूको एक समूहले पार्टी कार्यालयमा आफूहरूको माग समेटिएको ज्ञापनपत्र बुझाएकोमा त्यसपछि पुनः अनसन थालेका छन् । पार्टीको महिला सङ्गठनकी सचिव चम्पा अधिकारी रिले अनसन र केन्द्रीय सदस्य नानीमैया आचार्यले आमरण अनसन थालेका हुन् । पार्टी कार्यालयमै आफूहरूले अनसन थालेको अधिकारीले रातोपाटीलाई बताइन् ।
८. कांग्रेस थप समाचार
नेपाली कांग्रेसभित्र २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरेको विशेष महाधिवेशन मागकर्ताहरूकै चासोमा पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने तयारी छ ।
विशेष महाधिवेशन माग गरेको ३ महिनाभित्र बोलाउनु पर्ने व्यवस्था विधानमा भए पनि केन्द्रीय समितिले नबोलाएको भन्दै उनीहरूले पुस २३ गते आफैँ विशेष महाधिवेशन आह्वान गरेका हुन् । उनीहरूको आह्वानमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ऐक्यबद्धता जनाएका छन् ।
पुस १८ र २४ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले नियमित १५औँ महाधिवेशनको प्रक्रिया सुरु भइसकेकाले सोही अवधिमा गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य सकिएको निर्णय गरेको थियो । संवेदनशील अवस्थामा विशेष महाधिवेशन गर्दा पार्टी विभाजन हुनेतर्फ पनि बैठकले सचेत गराएको छ ।
९. द ब्रिटिश कलेज प्रकरण
काठमाडाैँको थापाथलीस्थित द ब्रिटिश कलेजले विद्यार्थीहरूलाई ठगी गरेको र न्याय माग्न पुगेका पीडित विद्यार्थीमाथि बाउन्सर प्रयोग गरी धम्क्याएको गम्भीर आरोप लागेको छ ।
१०. आयोग
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ । तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो जिकिर गरेका हुन् ।
११. बिजुलीको समस्या
पछिल्लो समय निरन्तर रुपमा झ्याप्प–झ्याप्प बत्ती जान थालेको छ । लोडसेडिङ हटेको लामो समय भएको छ तर पछिल्लो समय बिहान,दिउँसो र बेलुकाको समयमा झ्याप्प–झ्याप्प बत्ती जान थालेको छ ।
१२. राष्ट्र बैंकको तथ्यांक
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो ५ महिना (मंसिर मसान्तसम्म) को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण