१० बजे १० समाचार : बालेन सरकारदेखि ‘बा’ पक्राउ गर्न बाटो खुलासम्म
सारांश
- बालेन शाहले प्रधानमन्त्रीको शपथ लिए, र मन्त्रिपरिषद् गठन गरे जसमा विभिन्न मन्त्रीहरू नियुक्त भए।
- नयाँ मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गर्यो।
- मुस्ताङ हेलिकोप्टर प्रालिको हेलिकप्टर खराब मौसमका कारण दोलखामा सुरक्षित अवतरण गर्यो, र प्रधानमन्त्री बालेनलाई मोदीले बधाई दिए।
काठमाडौँ । आज मिति २०८२ साल चैत महिनाको १३ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती १० बजे १० समाचार लिएर आएका छौँ–
१. बालेन सरकार
देशको ४३औँ प्रधानमन्त्रीमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले शपथ लिएका छन् । यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री बालेन शाहको सिफारिसमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर कार्यविभाजन गरेका छन् ।
जसअनुसार प्रधानमन्त्रीपछिको वरीयतामा अर्थमन्त्री स्वर्णिम वाग्ले रहेका छन् । यस्तै त्यसपछिको वरीयतामा गृहमन्त्री सुधन गुरुङ रहेका छन् ।
सबैभन्दा पछाडिको वरीयता महिला बालबालिका तथाज्येष्ठ नागरिकमन्त्री सीता बादीको रहेको छ ।
२. कुन मन्त्री कस्ता ?
बालेन नेतृत्वको मन्त्रिपरिषद्मा रहेका १४ जना मन्त्रीहरुले सिंहदरबारस्थित मन्त्रालयमा गएर पदभार ग्रहण गरेका छन् ।
३. बन्यो बालेनको सचिवालय टीम
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त भएका छन् । शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहेका बालेनले आफ्नो सचिवालय टिम बनाएका हुन्।
४. मन्त्रिपरिषद्
सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बालेन नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गर्ने सिफारिस बमोजिम गर्ने उनको भनाइ छ ।
अन्यको हकमा सो आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने उनले बताए ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्रमन्त्री रमेश लेखक र आईजीपी चन्द्र कुवेर खापुङलाई १० वर्ष जेल सजायसहित सरकारी उच्च अधिकारीलाई कारबाहीको सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनअनुसार एमालेभित्र र बाहिर ‘बा’को छवि बनाएका ओली लगायत पक्राउ पर्ने देखिएको छ ।
५. महान्यायाधिवक्ताको राजीनामा
महान्यायाधिवक्ता सविता भण्डारीले दिएको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
भण्डारीले आज मात्रै पदबाट राजीनामा दिएकी थिइन् ।
६. हेलिकप्टर फेला
मुस्ताङ हेलिकोप्टर प्रालिको हेलिकोप्टर खराब मौसमका कारण दोलखामा सुरक्षित अवतरण गरेको पुष्टि भएको छ । शुक्रबार दिउँसो लाप्चाबाट चरिकोटका लागि उडेको सो हेलिकोप्टर केही समय सञ्चार सम्पर्कविहीन भएपछि खोजी गर्दा दोलखाको विगु गाउँपालिकामा फेला परेको हो ।
७. बालेनलाई बधाई
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नवनियुक्त प्रधानमन्त्रीका रूपमा शपथ लिएका बालेन्द्र (बालेन) शाहलाई बधाई दिएका छन्। मोदीले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै शाहलाई न्यानो बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । यस्तै विभिन्न क्षेत्रबाट पनि उनलाई बधाईको ओइरो लागेको छ ।
८. घर फर्किइन् सुशीला
जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की आफ्नो जिम्मेवारी पूरा गरी आफ्नो निवास टोखा नगरपालिका ४ सूर्यादय टोल फर्किएकी छन् ।
निर्वाचनपछि आज राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री जिम्मेवारी सम्हाले पछि उनी बिदाइ भएकी हुन् । यसअघि कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।
९. सरकारको प्रवक्तामा सस्मित
सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिइएको छ ।
आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता बनाइएको हो ।
१०. बालेनको गीतको चर्चा
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को र्याप गीत ‘जय महाकाली’ ले सार्वजनिक भएको २४ घण्टामा ३६ लाख भ्युज पाएको छ ।
बिहीबार साँझ सार्वजनिक भएको यो गीतले २४ घण्टामा ३६ लाख भन्दा बढी भ्युज पाउन सफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण