मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक महिनामै सेलायो स्पेसएक्सको आईपीओमा लगानीकर्ताको उत्साह, अब के होला ?

सोमबार, २९ असार २०८३, १४ : ५१
सोमबार, २९ असार २०८३

सारांश

  • स्पेसएक्सले सार्वजनिक सेयर निष्कासन गरेको एक महिनापछि लगानीकर्ताको उत्साह 'पर्ख र हेर' को स्थितिमा पुगेको छ ।
  • प्रारम्भिक उत्साह र मूल्य वृद्धिपछि हाल स्पेसएक्सको सेयर मूल्यमा ३५ प्रतिशतले गिरावट आएको छ ।
  • लगानीकर्ताहरूले कम्पनीको आम्दानी र नाफामा प्रश्न उठाउन थालेपछि सेयर मूल्यमा उतारचढाव देखिएको छ ।

न्यूयोर्क  । एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सले सेयर बजारमा इतिहास रचेको एक महिना पुगेको छ । गत जुन १२ मा सार्वजनिक सेयर (आईपीओ) निष्कासन गर्दा देखिएको लगानीकर्ताको तीव्र उत्साह अहिले केही हदसम्म ‘पर्ख र हेर’ को स्थितिमा पुगेको छ । 

सार्वजनिक कम्पनीका रूपमा पहिलो महिना पूरा गर्दा स्पेसएक्सको सेयर मूल्यमा निकै उतारचढाव देखिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ  ।  कम्पनीले प्रतिसेयर १३५ डलर मूल्य तोके पनि कारोबारको पहिलो दिनमै यो १७६ डलरसम्म पुगेर १६०.९५ डलरमा बन्द भएको थियो । यो विश्वकै सबैभन्दा ठूलो आईपीओका रूपमा दर्ता भयो ।

त्यसको एक हप्ताभित्रै सेयर मूल्य २२५ डलरसम्म पुग्दा स्पेसएक्सले बजार मूल्यका आधारमा अमेजन र माइक्रोसफ्ट जस्ता दिग्गज कम्पनीहरूलाई समेत उछिन्न सफल भयो । लगानीकर्ताहरूले स्पेसएक्सलाई केवल अन्तरिक्ष कम्पनीका रूपमा मात्र नभई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सँग जोडिएको कम्पनीका रूपमा हेरेका कारण पनि यो उत्साह देखिएको हो । मस्कको एआई स्टार्टअप स्पेसएक्स एआईको प्राप्ति र यसको चर्चित च्याटबट ‘ग्रोक’ का कारण धेरैले यसलाई एआई क्षेत्रको भविष्यका रूपमा लिएका थिए ।

तर, पहिलो महिनाको अन्त्यसम्म आइपुग्दा उत्साह केही घटेको छ । हाल स्पेसएक्सको सेयर १४५ डलरको हाराहारीमा कारोबार भइरहेको छ, जुन यसको उच्च विन्दुभन्दा करिब ३५ प्रतिशतले कम हो । विशेष गरी मेम्फिस क्षेत्रमा स्टारलिंकले आफ्नो सेवाको शुल्क कटौती गरेपछि कम्पनीको वास्तविक आम्दानीको स्रोत र नाफामाथि लगानीकर्ताहरूले प्रश्न उठाउन थालेका छन् ।

स्टारलिंकको मूल्य कटौतीको खबरले मात्रै सेयर मूल्यमा एकैदिन ८ प्रतिशतको गिरावट ल्याएको थियो । यस बीचमा एलन मस्कले भने चतुरतापूर्ण कदम चालेका छन् । सेयर मूल्य उच्च विन्दुमा पुगेका बेला उनले ‘कर्सर’ नामक एआई स्टार्टअपलाई ६० अर्ब डलरमा खरिद गर्ने घोषणा गरे ।

यो सम्झौता पूर्ण रूपमा सेयर आदानप्रदानमार्फत गरिएको थियो, जसका कारण मस्कले उच्च मूल्य भएको आफ्नै कम्पनीको सेयर दिएर उक्त स्टार्टअप ‘निःशुल्क’ जस्तै गरी प्राप्त गर्न सफल भए । कम्पनीको सेयर मूल्यमा गिरावट आए पनि एलन मस्क विश्वकै पहिलो ‘ट्रिलियनियर’ (खर्बपति) बन्न सफल भएका छन् । उनले सन् २०३० सम्ममा स्पेसएक्सको वार्षिक आम्दानी १ ट्रिलियन डलर पुग्ने लक्ष्य राखेका छन्, जबकि गत वर्ष कम्पनीको आम्दानी १८ अर्ब डलर मात्र थियो ।

विश्लेषकहरूका अनुसार अहिले सेयर खरिद गर्ने साना लगानीकर्ताहरू घाटामा देखिए पनि ठूला लगानीकर्ताहरू अझै उत्साहित छन् । मर्गन स्टेनली जस्ता लगानी बैंकहरूले स्पेसएक्सको सेयर मूल्य भविष्यमा ३०० डलरसम्म पुग्ने प्रक्षेपण गरेका छन् ।

अब सबैको नजर अगस्टमा सार्वजनिक हुने कम्पनीको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनमा अडिएको छ । सोही समयमा कम्पनीका कर्मचारीहरूले आफ्नो सेयर बिक्री गर्न पाउने ‘लक–अप’ अवधि पनि समाप्त हुने भएकाले बजारमा थप उतारचढाव आउन सक्ने अनुमान गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप