आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : गठबन्धनमा गडबड, कतिपय स्थानमा बागी ब्याक भएनन्

शुक्रबार, १६ वैशाख २०७९, २३ : ३९
शुक्रबार, १६ वैशाख २०७९

आज मिति २०७९ साल वैशाख १६ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ ।

१. कुन दलबाट कति उम्मेदवार

स्थानीय तह निर्वाचनमा ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी समेत परेको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ ।

यस्तै काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ । यसैगरी एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ । स्वतन्त्र हैसियतमा १२ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

​२. विभिन्न दलबाट मनोनयन फिर्ता

देशभरबाट करिब ४ हजार उम्मेदवारले निर्वाचन आयोगले तोकेको समयमा मनोनयन फिर्ता लिएका छन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिनेको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । आयोगले तोकेको समयमा चितवनको भरतपुर महानगरपालिकामा गठबन्धन विरुद्ध मेयरमा बागी उम्मेदवारी दिने काँग्रेसका उम्मेदवारले भने उम्मेदवारी फिर्ता लिएनन् । यस्तै पोखरालगायतका स्थानीय तहमा पनि बागीले उम्मेदवारी फिर्ता लिएनन् । बागीलाई उम्मेदवारी फिर्ता लिन सम्बन्धित दलहरुले दवाव दिएको भएपनि उनीहरु टसमस नभएका हुन् । यसले चुनावी समीकरणमा असर पर्न सक्ने आकलन समेत छ । यद्यपि दलहरुले पार्टीको निर्णय नमान्नेलाई कारबाही गर्ने बाटो खुला नै छ ।

३. लोसपाको घोषणापत्र सार्वजनिक

लोसपाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।  सो पार्टीले राजधानीमा पत्रकार सम्मेलन गरेर आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।

​४. सर्वोच्चको आदेश

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

​५. हवाइ क्षेत्रमा समस्या

नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघ बीचको विवाद समाधानका लागि ९ सदस्यीय उप समिति गठन भएको छ । सोही समितिको प्रतिवेदनका आधारमा अघि बढ्ने सहमति भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।

​६ खेल समाचार

जिम्बावे एसँगको सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । टिममा आसिफ शेख, देभ खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौड्याल, आरिफ शेख, विनोद भण्डारी, करण केसी रहेका छन् ।

​७. फरक एजेण्डा बोकेको पार्टी चुनावमा

देशको राजनीतिमा विभिन्न दल विभिन्न एजेण्डा बोकेर क्रियाशील छन् । कोही गणतन्त्र पक्षधर छन् भने कोही राजसंस्थासहित हिन्दु राष्ट्रको एजेण्डा बोकेर राजनीतिमा सक्रिय छन् । यस्तैमा आमूल परिवर्तन मसिह पार्टी नेपाल पनि पृथक एजेण्डासहित स्थानीय तहको चुनावमा होमिएको छ ।

क्रिश्चियन धर्मावलम्बीको बाहुल्यता रहेको यो दलले काठमाडौं महानगरपालिका, पोखरा लेखनाथ नगरपालिका लगायत देशका करिब २५ नगरपालिकामा उम्मेदवार खडा गरेको पार्टीका अध्यक्ष पास्टर भरत गिरीले रातोपाटीलाई जानकारी दिए ।

​८. कोरोना अपडेट

पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७७१ जनामा गरीएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २४३ जना संक्रिय संक्रमित रहेका छन् ।

​९. सुन तस्करीको नयाँ शैली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको शौचालय प्रयोग गरेर सुन तस्करी हुने गरेको थाहा भएको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सफाइ कर्मचारीले हिमालय एयरलाइन्सको शौचालयबाट निकालेर ल्याउँदै गरेको सुन बरामद गरेको छ । सफाइ कर्मचारीको साथबाट २ किलो  ३३२ ग्राम  सुन बरामद गरिएको विमानस्थलका एसएसपी भीम प्रसाद ढकालले रातोपाटीलाई बताए । ढकालका अनुसार सुन तस्करीमा संलग्न ५ जना पक्राउ परेका छन् । बिहीबार पाँचथर घर भएका मीनकुमार माबो, नुवाकोट घर भएका सुमन तामाङले सुन विमानको शौचालयबाट बाहिर ल्याएका थिए ।

सो सुन दुबईबाट तस्करले हिमालय एयरलाइन्सको शौचालयमा राखेर पठाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ढकालले बताए । सफाइ कर्मचारीले सुन निकालेर कर्मचारी निस्कने गेटतर्फबाट निस्कँदै गर्दा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशङ्कर घर भएका ४१ वर्षीय ट्याक्सी चालक हेम बहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिका सुपरभाइजर सप्तरी घर भएका ताराकान्त चौधरी छन् ।   माबो र तामाङ पनि सफाइ कर्मचारी हुन् ।

​१०. र, यो पनि...

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन सुरक्षित, भयरहित, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शुक्रबार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरुको लागि अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले संयमित भएर राजनीतिक दल र उम्मेदवारहरूले स्थानीय तह निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

​नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाली सांस्कृतिक संघले स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका पक्षमा चुनावी गीत सार्वजनिक गरेको छ । सो गीत वरिष्ठ गीतकार कृष्णहरि बरालको शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत, राधिका हमाल, सुजाता केसी, शशीविक्रम थापा र आलिन खानको स्वर तथा मनोज केसीको निर्देशनमा तयार भएको हो ।

​निर्वाचन आयोगले म्याग्दीमा एक वडाअध्यक्षसहित पाँचजना निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । निर्विरोध निर्वाचित हुनेमा धवलागिरि गाउपालिका वडानम्बर १ का वडाध्यक्ष झकबहादुर छन्त्यालसहित एक दलित महिला सदस्य, एक महिला सदस्य र एक वडा सदस्य गरी चार माओवादी केन्द्रका रहेका छन् ।

​नेपाली सेनाले दार्चुलाको तुषारपानी कोठेधार सडकको ट्रयाक खोल्नका लागि ‘एमआइ–१७’ हेलिकप्टरमार्फत आवश्यक उपकरण सो क्षेत्रमा लगेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यही हालै सेनाले हेलिकप्टरबाट तीन वटा कम्प्रेसर, दुई वटा एस्काभेटर ढुवानी गरेको हो ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप