बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

दिनभरका शीर्ष समाचार : विवादमा संस्कृतिमन्त्री, फागुनमा माओवादीको विधान सम्मेलन

बिहीबार, ०५ पुस २०८०, २२ : ३२
बिहीबार, ०५ पुस २०८०

आज मिति २०८० साल पुस महिनाको ५ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ ।

विवादमा संस्कृतिमन्त्री

धार्मिक अभिव्यक्तिलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विवादमा तानिएका छन् । उनको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै हिन्दुवादी पार्टी राप्रपाले मन्त्री पदबाट राजीनामा माग गरेको छ भने विभिन्न हिन्दुवादी संगसंगठनले पनि विरोध गरेका छन् । तर, स्वयम् किरातीले भने आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित नरहेको दाबी गरिरहँदा सामाजिक सञ्जालमा समेत उनको अभिव्यक्तिलाई लिएर तीव्र बहस भइरहेको छ ।

बिहीबार काठमाडौँमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा किरातीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको थिए । साथै उनले संविधान  मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताएका थिए ।

 

विधान सम्मेलन गर्दै माओवादी

नेकपा  माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

बैठकले विधान मस्यौदा समिति गठन गरेको छ ।

बजेट क्यालेन्डर

राष्ट्रिय योजना आयोगले बजेट तर्जुमादेखि संसदमा बजेट भाषण गर्नेसम्मका कार्य तालिकालाई प्रणालीगत सुधार गर्न कार्यविधि बनाएको छ । बजेट क्यालेन्डर परिमार्जनसम्बन्धी उक्त कार्यविधि मन्त्रिपरिषद्मा पुगेको छ ।

संसदीय समिति

नेपाल वायुसेवा निगमले लामो समयदेखि ग्राउन्डेड चिनिया जहाज बिक्री गर्न लागेसँगै सांसदहरूले यसको तीब्र विरोध जनाएका छन् । वायुसेवा निगमको व्यवस्थापन तथा व्यावसायिक सुधारका मुद्दामा बिहीबार बसेको संसदीय समितिमा बोल्दै नेमकिपाका नेता तथा प्रतिनिधि सभा सांसद प्रेम सुवालले मन्त्रीको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभा निर्वाचन

आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार प्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ।

प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठक एवं दिशानिर्देशमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

 

न्यायाधीशको शपथ

सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सच्चियो अपानि

नेकपा एकीकृत समाजवादीले यसअघि विवादित बनेको अन्तरपार्टी निर्देशन (अपानि–११) सच्याएको छ । यही पुस २ र ३ गते बसेको सचिवालय बैठकले अपानि सच्याएको हो ।

यो पनि...

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले प्रमुख प्रशासकीय अधिकृत खटाउने मापदण्ड अन्तिम चरणमा पुगेको बताएकी छिन् । पदभार ग्रहण गरेपछि पहिलो पटक बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा देवीले उक्त जानकारी दिएकी हुन् ।

भन्सार विभाग घेराउ गर्न पुगेका आम जनता पार्टी (आजपा) को आम सम्पर्क मञ्चसम्बद्ध नेता कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ । भन्सार विभागको मूल गेटसम्म समेत पुग्न नदिई प्रहरीले अवरोध गरेपछि दुई पक्षीय झडपको अवस्था बनेको हो । सो क्रममा सुरुमा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल भएको थियो भने पछि लाठीचार्ज भएको हो ।

वैदेशिक रोजगार विभाग दुई सातादेखि महानिर्देशिकविहीन बनेको छ । मदन दाहालको गत मङ्सिर २२ मा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा गरिएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति सुदृढ गर्दै लैजानुपर्ने बताएका छन् । जनकपुरमा बिहीबार नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्दै उनले राजनीतिलाई सुदृढ गर्दै लैजानुपर्ने बताए ।

काठमाडौँको बल्खुमा एक महिलाको हत्या गरी फरार रहेका एक जना ६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा रहेका छन् ।

‘सेटिङ’ मिलाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एक जना अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्राधिकरणमा कार्यरत अधिकृत तारा बहादुर कुँवरविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

 

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप