बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

दिनभरका शीर्ष समाचार : पशुपतिको कार्यकारी निर्देशकबारे चर्काचर्की बहसदेखि गभर्नरविरुद्ध रिटसम्म

बिहीबार, १२ पुस २०८०, २२ : ३७
बिहीबार, १२ पुस २०८०

आज मिति २०८० साल पुस महिनाको १२ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा समेटिएको छ–

कांग्रेस बैठक
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सात वटा एजेण्डामाथि छलफल सुरु भएको छ । बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले सात एजेण्डा पेस गरेका थिए ।
गत साउन २ मा कांग्रेसले पहिलो पटक केन्द्रीय समिति बैठक पार्टीको फेसबुकबाट लाइभ गरेको थियो। असोज ४ मा बसेको बैठक पनि लाइभ भएकोमा बिहीबारदेखि सुरु बैठक भने लाइभ गरिएको छैन।

प्राधिकरणको पत्रकार सम्मेलन
नेपाल विद्युत् प्राधिकरण जुनसुकै हालतमा उद्योगीबाट बक्यौता बापतको रकम उठाउने मनस्थितिमा पुगेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कुनै पनि हालतमा पछि नहट्ने सन्देश दिएका हुन् ।

प्राधिकरणको हिसाबकिताब अनुसार ६१ वटा उद्योगसँग प्राधिकरणले २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता (जरिवाना र ब्याजसहित) उठाउन बाँकी छ । प्राधिकरणका तत्कालीन हाकिमलाई रिझाएर २०७३ सालतर्फ डेडिकेटेड र ट्रंक लाइनमार्फत बिजुली प्रयोग गरेर बिलिङ हुन बाँकी उद्योगलाई २०७५ सालतिर बिलिङ भएको थियो ।

यती दुर्घटना रिपोर्ट
गत माघ १ गते पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्स प्राविधिक कारणले नभई मानवीय (पाइलट) को त्रुटिका कारण नै दुर्घटनामा परेको अध्ययन समितिले निष्कर्ष निकालेको छ । जहाज दुर्घटनाको ११ महिनापछि अन्तिम अध्ययन प्रतिवेदन बुझाएको समितिले सन् २००७ अगष्ट १ मा बनेको जहाजले जम्मा २८ हजार ७३१ घण्टा ३३ मिनेट ९दुर्घटनाको समयसम्म० मात्र उडान भरेको जनाएको हो ।

संसदीय समिति
पशुपति क्षेत्र विकास कोषमा हालै कार्यकारी निर्देशकमा नियुक्त भएकी लक्ष्मी पुन हिन्दु हो कि क्रिश्चियन धर्मावलम्बी भन्दै सांसदहरुबिच चर्काचर्की परेको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषका पदाधिकारी बोलाएर पुनको नियुक्तिको विषयमा प्रश्न गरेको थियो ।

मन्त्रिपरिषद् बैठक
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनर्संरचना गर्ने भएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्यालयको पुनर्संरचना गर्ने र त्यसका लागि कर्मचारी व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हालको साबिक दरबन्दीमा ६८ वटा दरबन्दी कटौती हुने जानकारी दिइन् ।

सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा जारी बहस आज पनि टुङ्गिएन । बहस नटुङ्गिएपछि यसलाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

गभर्नरविरुद्ध रिट
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा बिहीबार रिट दायर भएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
राष्ट्र बैंको व्यवस्था
वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत प्रदान गर्ने विदेशी मुद्रा सटही सुविधालाई नेपाल राष्ट्र बैंकले दुई भागमा विभाजन गरेको छ ।
 नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीहरूमा युरोप अमेरिका लगायत जापान, दक्षिण कोरिया, क्यानडा जानेहरूलाई ५ सय डलरसम्म र यसबाहेक अन्य मुलुकहरूमा श्रम गर्न जानेहरूका लागि प्रतिव्यक्ति २ सय अमेरिकी डलरसम्मको सटही सुविधा प्रदान गर्ने केन्द्रीय बैंकले जनाएको हो ।

र, यो पनि
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा थप एक सिटका लागि गठबन्धनमा प्रस्ताव गर्ने बताएको छ ।

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम देहायका ७ जना जिल्ला न्यायाधीशहरूलाई पुस १६ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
माओवादी केन्द्रले जिल्लालाई अधिकार सम्पन्न गर्ने गरी छलफल थालेको छ । पार्टीको विधान मस्यौदा बनाउन गठन भएको मस्यौदा समितिमा सङ्घ र जिल्लालाई अधिकार सम्पन्न बनाउने गरी छलफल भएको सदस्य गणेश साहले जानकारी दिए ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् । उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई अनुशासनको कारबाही गर्ने भएको छ । वरिष्ठ नेता महतोले केही दिनदेखि पार्टीेको हितविपरीत गतिविधि गरिरहेको भन्दै उनलाई अनुशासनको कारबाही गर्ने तयारी भइरहेको छ ।

नेकपा एकीकृत समाजवादीका ५० जना नेताले मरणोपरान्त अंगदान गर्न स्वीकृति दिएका छन् ।

विदेश अध्ययन गर्न जाने नेपाली स्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहजीकरण गर्ने भएको छ । नेपाली चिकित्सक वा स्वास्थ्यकर्मी अध्ययन, तालिम वा काम गर्न विदेश जानेलाई मन्त्रालयबाट सहजीकरणका लागि ‘नेपाल अन्य मुलुकहरुमा अध्ययन वा तालिम वा काम गर्न जाने नेपाली चिकित्सकरस्वास्थ्यकर्मीहरूको लागि पत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०८०’ ल्याएको छ ।  

सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जनाले मात्रै ईपीएस कोरियाका लागि आवेदन दिन पाउने भएका छन् । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखा कार्यालय ग्वार्कोले १८ जनालाई आवेदन फाराम भर्नका लागि बोलाएको हो ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप