बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

दिनभरका प्रमुख समाचार : शीर्ष नेतासँग राष्ट्रपतिको तीन चासो, रञ्जिता रुष्ट

शुक्रबार, २७ पुस २०८०, २३ : ४६
शुक्रबार, २७ पुस २०८०

आज मिति २०८० साल पुस महिनाको २७ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–

नागरिक उन्मुक्ति पार्टीमा असन्तुष्टि

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का निवर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पार्टीको महाधिवेशनले चयन गरेको कार्यसमितिप्रति रुष्ट भएकी छन् ।

महाधिवेशनले आफ्नो बारेमा कुनै निर्णय नगरेपछि रञ्जिताले असन्तुष्ट भएर महाधिवेशनस्थल छाडेकी बताइन्छ । स्रोतका अनुसार अध्यक्षमा दोहोरिने चाहना रञ्जिताले राखेकी थिइन् तर रेशम चौधरी आफैँ अध्यक्ष भएपछि रञ्जिताको हैसियत पार्टीमा के हुने भन्ने स्पष्ट भइसकेको छैन । त्यसैले असन्तुष्टि स्वरुप महाधिवेशनस्थल छाडेर हिँडेकी रञ्जिता अझै फर्केकी छैनन् ।

राप्रपा आन्दोलनमा जाने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले माघदेखि राप्रपाले गर्ने सडक आन्दोलनको मार्गचित्र खुलाएका छन् ।

३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाले आयोजना गरेको चियापान कार्यक्रमको समाप्तिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, संवैधानिक राजसंस्था, प्रदेशको खारेजी लगायतका माग राखेर सडक संघर्षमा जाने खुलाएका हुन् । देशमा बढिरहेको भ्रष्टाचार तथा अहिलेको व्यवस्थामा भएका खराबीविरुद्ध आन्दोलन गर्ने उनले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको योगदान कुनै संस्था वा राजनीतिक व्यवस्थासँग मात्रै सम्बन्धित नभएकाले त्यस रूपमा हेर्न नहुने बताएका छन् । थापाले राष्ट्र निर्माता  शाहको जन्म जयन्तीलाई राजकीय रूपमा मनाउन र उनको तस्बिर नेपाली नोटमा अंकित गर्न सरकारसँग माग गरे ।

पृथ्वीजयन्तीसम्बन्धी थप सामग्री

आलमविरुद्धको मुद्दा

लामो अन्यौलका बिच रौतहट जिल्ला अदालतले आगामी पुस २९ गतेका लागि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दाको पेसी तोकेको छ । आगामी आइतबारका लागि रौतहट जिल्ला अदालतले आलम लगायतका ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।

प्रतिवेदन हस्तान्तरण

नेकपा माओवादी केन्द्रको विधान मस्यौदा समितिले आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष विधानको मस्यौदासम्बन्धी प्रतिवेदन पेस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उपाध्यक्ष एवं समितिका संयोजक पम्फा भुसालसहितको टोलीले उक्त मस्यौदा पेस गरेको हो ।

छलफलमा राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतालाई शीतल निवास बोलाएर छलफल गरेका छन् । मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयका तीन विषयमा चासो राख्दै राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार शीतलनिवासमा बोलाएर छलफल गरेका हुन् ।

प्राधिकरणको निर्णय

नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकहरूको विद्युत् आपूर्ति जोड्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैठकले मन्त्रिपरिषद्को निर्णय बमोजिम काटिएको विद्युत् लाइन सुचारु गर्ने निर्णय गरेको हो ।

यो पनि...

विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको सङ्घीय राजधानी काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्य (नेचर डेस्टिनेसन) का रुपमा घोषणा गरेको छ । ट्रिप एडभाइजरले सातवटा वर्गमा ‘ट्रिप एडभाइजर ट्राभलर च्वाईस–२०२४’ घोषणा गर्दै काठमाडौँलाई पहिलो सूचीको प्राकृतिक गन्तव्य– २०२४ मा राखेको हो ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले बागमती प्रदेशमा ६० प्रतिशत पार्टी सक्रिय रहेको रिपोर्ट लिएर बालुवाटार गएका छन् ।

गत भदौदेखि सुरु भएको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत प्रदेशका सबै वडामा खटिएका इन्चार्जहरूले ग्राउण्ड जिरोको वास्तविक रिपोर्ट इन्चार्ज शर्मालाई बुझाएका थिए ।

संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदूत रामप्रसाद सुवेदी विश्व व्यापार संगठनको महत्त्वपूर्ण पदमा निर्वाचित भएका छन् । राजदूत सुवेदी संगठनको ट्रेड एण्ड डेभलपमेन्ट कमिटीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

ललितपुरको ग्वार्कोबाट मंसिर २७ मा दुई जना चोरीमा संलग्न आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरू हुन्, मकवानपुर घर भएका  ३७ वर्षीय वीर बहादुर वाइबा र ३७ वर्षका राम कृष्ण लोप्चन ।

दुई जना मिलेर चोरी गर्ने उनीहरूलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको छ । अदालतको आदेश अनुसार दुवै जनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले रातोपाटीलाई बताए ।

यो पनि छुट्यो कि ?

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप