सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार

आइतबार, २७ फागुन २०८०, २१ : ०६
आइतबार, २७ फागुन २०८०

आज २०८० फागुन २७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनबाट दाहाल र कांग्रेसबाट शर्मा उम्मेदवार, प्रधानमन्त्री र मुख्यमन्त्रीहरुका ‘कोर टिम’मा को–को ?, प्रचण्ड सरकारमा उपप्रधानमन्त्रीको संख्या चार, राप्रपाको कार्यालयमा नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण, कान्तिपुर सहकारीका ११ सञ्चालकविरुद्ध ठगी मुद्दा दर्ता, ‘भीआईपी कल्चर’ अन्य हुनुपर्ने गृहमन्त्री रवि लामिछानेको जोड, मधेस केन्द्रित तीन दलबिच कार्यगत एकता लगायत छन् ।

१. राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनबाट दाहाल र कांग्रेसबाट शर्मा उम्मेदवार
राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनले माओवादी केन्द्रका नारायण दाहाललाई र प्रमुख विपक्षी दल नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने भएका छन् । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन अन्तर्गत फागुन २९ गते मतदान हुँदैछ । 

२. प्रधानमन्त्री र मुख्यमन्त्रीहरुका ‘कोर टिम’मा को–को ?
देशको प्रमुख कार्यकारी प्रधानमन्त्री र प्रदेशको प्रमुख कार्यकार मुख्यमन्त्रीहरुको ‘कोर टिम’मा को–को छन् र कसरी कार्यसम्पादन हुन्छ भन्ने बारेमा रातोपाटीले प्याकेजमा सामग्री तयार पारेको छ । 

३. प्रचण्ड सरकारमा उपप्रधानमन्त्रीको संख्या चार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार मन्त्रिपरिषद विस्तार गर्दै दुई सदस्य थपेका छन् । मन्त्रिपरिषदमा विभागीय मन्त्रालयसहित एक उपप्रधानमन्त्री र एक मन्त्री थपिएका हुन् । योसँगै मन्त्रिपरिषदमा उपप्रधानमन्त्रीको संख्या ४ पुगेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले जसपा नेपाललाई सरकारमा सामेल गर्दै सो पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन् । यस्तै जसपाकै नवलकिशोर साह वनमन्त्री बनेका छन् । 

४. राप्रपाको कार्यालयमा नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण
राप्रपाको एक समूहले पार्टीका नेता ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट गरेको छ । आइतबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा पूर्वएआईजीसमेत रहेका कार्यसम्पादन समिति सदस्य श्रेष्ठमाथि कुटपिट भएको थियो ।

५. कान्तिपुर सहकारीका ११ सञ्चालकविरुद्ध ठगी मुद्दा दर्ता
कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीका ११ जना सञ्चालकविरुद्ध ठगीको कसुरमा मुद्दा दर्ता भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा उनीहरुविरुद्ध ठगीको कसुरमा मुद्दा दर्ता भएको हो । 

६. ‘भीआईपी कल्चर’ अन्य हुनुपर्ने गृहमन्त्री रवि लामिछानेको जोड
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भीआईपी कल्चर अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि देशभरका जिल्ला प्रहरी प्रमुख र प्रदेशका डीआईजीहरुलाई भिडियो कन्फेरेन्समार्फत निर्देशन सम्बोधन गर्दै लामिछानेले भने– ‘मलाई पनि एउटा पीएसओ मात्र दिए पुग्छ, भीआईपी संस्कार अन्त्य गर्नुपर्छ ।’

७. मधेस केन्द्रित तीन दलबिच कार्यगत एकता
मधेस केन्द्रित दलहरु जनमत पार्टी, तमलोपा र जनता प्रगतिशील पार्टीबिच कार्यगत एकता भएको छ । आइतबार ती दलले कार्यगत एकता गर्ने घोषणा गरेका हुन् ।  

८. जुत्ता–चप्पल फुकालेर मिटर व्याजपीडितले गरे विरोध प्रदर्शन
मिटर ब्याज पीडितहरूले जुत्ता–चप्पल फुकालेर विरोध प्रदर्शन गरेका छन् । मिटर ब्याजविरुद्ध न्याय मार्चमा रहेका पीडितहरूले आइतबार ४१ औँ दिनमा भद्रकालीमा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन गरेका हुन् । 

९. दुर्गा प्रसाईंको मुद्दालाई अग्राधिकार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासले दुर्गा प्रसाईं लगायतको मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो ।

१०. सुन तस्करी प्रकरणमा ८ भारतीय पक्राउ
व्यवसायी विमल पोद्दारसँग सुन कारोबारबारे ‘कनेक्सन’ देखिएको आशङ्कामा ८ जना भारतीयलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ । भारत घर भएका अमिरुद्धिनसहित ८ जनालाई पक्राउ गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप