सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

शुक्रबार, २३ चैत २०८०, २२ : १३
शुक्रबार, २३ चैत २०८०

आज मिति २०८० साल चैत महिनाको २३ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित हामी रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर आएका छौँ–

सुदूरपश्चिममा नयाँ सरकार गठन आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिएपनि नयाँ सरकार गठनमा भने सकस भइरहेको छ । सत्ता गठबन्धनमा केन्द्रमा भएको सहमतिअनुसार शर्माको राजीनामा पछि अबको मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल बन्नुपर्ने भएपनि सकस भइरहेको हो ।

लुम्बिनीमा मुख्यमन्त्री चयन

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सुनसरीमा तनाव

सुनसरीको हरिनगर गाउँपालिका शुक्रबार दिनभर तनावग्रस्त बन्यो । बिहीबार एक युवामाथि भएको आक्रमणको घटनाले समुदाय र धर्ममा विभाजित बनेपछि घटनाले शुक्रबार उग्ररुप लिएको थियो ।

युवामाथि भएको आक्रमणको विषयमा स्थानीय दुवै पक्ष प्रदर्शनमा उत्रिएपछि शुक्रबार बिहानैदेखि हरिनगर १ र २ रामनगर भुटाहामा दुई समूहबिच पटक–पटक झडप पनि भयो । प्रहरीका अनुसार दर्जनौँ पटक सानातिना मुठभेडमा परी सुरक्षाकर्मी र स्थानीय गरी ३० जना घाइते भएका छन् ।

स्थानीय प्रशासनले दिउँसोदेखि कफ्र्यु लगाए पनि स्थिति सामान्य हुन सकेन । झडपका क्रममा प्रहरीले भीड नियन्त्रण गर्न भन्दै दर्जनौँ सेल अश्रुग्याँस र हवाई फायर गरेको जनाएको छ । झडपमा नेपाल प्रहरीतर्फ १५ जना र सशस्त्र प्रहरीका १९ जना सुरक्षाकर्मी घाइते भएको बताइएको छ ।

 

एनआरएनएको विवाद

गैरआवासीय नेपाली संघ (एनआरएनए) बारे सर्वोच्च अदालतको फैसलाप्रति हाल संस्थापन दाबी गर्दै आएको बद्री केसी समूहले असन्तुष्टि जनाएको छ । शुक्रबार साँझ बसेको केसी पक्षको बैठकले सर्वोच्चको फैसला चित्त बुझ्दो नभएको निष्कर्ष निकाल्दै पुनरावलोकनका लागि भ्याकेट निवेदन दिने निर्णय गरेको हो ।

जापान रोजगारीमा बेथिति

नेपाल जाइका अलमनाइ एसोसिएसन (जान)ले ‘जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेशन अर्गनाइजेसन (जिट्को) कार्यक्रम अन्तर्गत जापान जाने प्रशिक्षार्थी कामदारहरूको जापानी भाषा तथा संस्कृतिसम्बन्धी परीक्षा लिँदै आएको छ । जिट्को जापान जान चाहने कामदारका लागि भाषा सिकाउने र पठाउनका लागि स्थापना भएको रिक्रुटिङ एजेन्सी हो ।

तर, जानलगायत कामदार पठाउनेहरूको स्वार्थ र वैदेशिक रोजगार विभागले पनि यसबारे चासो नदिँदा समस्या बढ्दै आएको सरोकारवालाको भनाइ छ ।

शिक्षामन्त्रीको पत्रकार सम्मेलन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कार्यभार सम्हालेको एक महिना पुरा भएको छ । फागुन २३ गते मन्त्रालयको जिम्मेवारी सम्हालेकी श्रेष्ठले एक महिने प्रगति विवरण सार्वजनिक गरेकी छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले एक महिने कार्य प्रगति सार्वजनिक गरेकी हुन् । एक महिनाको अवधिमा उनले मन्त्रालयमा विभिन्न सुधारका कार्य अघि बढाएकी छन् ।

वाइडबडी प्रकरण

वाइडबडी जहाज भ्रष्टाचार प्रकरणमा जोडिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डन  मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले बोलपत्र दाताले २३० टन भारवहन क्षमताको जहाज अफर गरेको बयान दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा लामिछानेले जहाजको अधिकतम क्षमता भने २४२ टन भएको बताएका छन् ।

 

शनिबार उपनिर्वाचनको मनोनयन दर्ता

शनिबार उपनिर्वाचनको मनोनयन दर्ता हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि शनिबार मनोनयन दर्ताको कार्यक्रम तय भएको हो ।

सन्दीपको मुद्दा

उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश दिएको छ । शुक्रबार मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको इजलासले सन्दीपको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट भएको फैसला फरक पर्न सक्ने देखिँदा प्रत्यर्थी वादी नेपाल सरकारलाई झिकाउने आदेश दिएको हो ।

गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले शुक्रबार विभिन्न सञ्चारमाध्यमविरूद्ध  मुद्दा दायर गरेकी छन् ।

क्रिकेट समाचार

‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले लिग चरणको अन्तिम खेलमा हार ब्यहोरेको छ । शुक्रबार खेलिएको लिग चरणको अन्तिम खेलमा बरोडा क्लबले नेपाललाई ३७ रनले हराएको हो ।

 

यो पनि..

नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले अझै २० वर्ष पार्टीमा कसैलाई आस नगर्न भनेका छन् । शुक्रबार पोखरामा कास्की जिल्ला कमिटीमा निर्वाचितहरुलाई शपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका एसपीहरुको काज सरुवा गरेको छ । तराईका ६ वटा जिल्लामा अवधि नपुग्दै जिल्ला इन्चार्जहरुलाई फिर्ता बोलाइएको छ ।

युरोप सपना देखाउँदै श्रीलंकन नागरिकलाई नेपाल ल्याएर बन्धक बनाउने कार्यमा संलग्न ४ जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप