सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, २८ चैत २०८०, २२ : ००
बुधबार, २८ चैत २०८०

आज २०८० चैत २८ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • संसद् बैठक

विपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठकमा अवरोध गरेपछि आगामी वैशाख २ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकको सुरुमा कांग्रेसले अवरोध गरेपछि सभामुखले दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूलाई बोल्न समयको व्यवस्था गरेका थिए । विशेष समयमा सांसदहरूले बोलिसकेपछि सभामुखले शून्य समयको कार्यक्रम अगाडि बढाए । त्यसपछि कांग्रेस र राप्रपाका सांसदहरूले बैठक अवरोध गरेका हुन् ।

  • राष्ट्रिय सभा उपाध्यक्ष

राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् ।  बुधबार राष्ट्रियसभा बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको मत विभाजनमा घिमिरे नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । ५९ सदस्यीय राष्ट्रियसभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका छन् । उपाध्यक्षकी अर्की प्रतिस्पर्धी कांग्रेसकी पुडासैनीले १६ मतमात्र पाइन् । मतदानमा ५५ सदस्य सहभागी भएका थिए । 

  • आयोगको प्रतिवेदन

चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी हुन् । ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४’ ले शिक्षा मन्त्रालयलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो । प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले चिकित्सा शिक्षाका विकृति विसङ्गतिको जाँचबुझ गरी सुझाव सहितको प्रतिवेदन गर्न आयोग गठन गरेको थियो । आयोगले सरकारलाई प्रतिवेदन बुझाएपछि कार्यान्वयनमा लैजान भने ढिलाइ भएको थियो । 

  • गण्डकी प्रदेश सरकार

गण्डकी प्रदेशमा भएको मुख्यमन्त्री नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अग्राधिकारसहित अन्तरिम आदेश जारी गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार एमाले नेता खगराज अधिकारीलाई सभामुखसहित गणनाका आधारमा मुख्यमन्त्री नियुक्त गरेपछि निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट निवेदन दिएका थिए । 

  • भ्रष्टाचार मुद्दा

सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अनुसन्धानको जाँच अवधिमा थापाको सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा घर/जग्गा खरिद, विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूबाट उपभोग गरेको कर्जा/ऋणको साँवा व्याज तिरेको रकम, जीवन बीमा प्रिमियम भुक्तानीमा भएको खर्च, विभिन्न कम्पनीहरूमा लगानी भएको खर्च, अध्ययन खर्च, शेयर खरिद खर्च, सवारी साधन खरिदमा भएको खर्च, सेवा दस्तुर बापत तिरेको रकम र बैंक मौज्दात रकमसमेत गरी १३ करोड २० लाख तीन हजार तीन सय ९१ रुपैयाँ ८४ पैसा खर्च तथा लगानी भएको देखिन्छ । त्यसमध्ये मध्ये पाँच करोड ३३ लाख ५३ हजार एक सय ८९ रुपैयाँ ६६ पैसाको स्रोत नखुलेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

  • ईपीएस परीक्षा

ईपीएस काेरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। ईपीएस कोरिया शाखाले एचआरडी कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। 

  • २०८० लाई फर्केर हेर्दा

 २०८० साल नेपाली क्रिकेटका लागि सुखद नै रह्यो । यो वर्ष नेपाली पुरुष क्रिकेट टोली आईसीसी टी–२० विश्वकपमा छनोट हुन सफल भयो भने घरेलु मैदानमै एसीसी प्रिमियर कपको उपाधि चुम्न पनि सफल भयो ।

  • लगानी सम्मेलन

लगानी बोर्डले वैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनमा प्रस्तुत गर्ने परियोजना टुङ्ग्याउने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । दुई दिने सम्मेलन सुरु हुन तीन साता मात्रै बाँकी रहँदा लगानीकर्ता समक्ष प्रस्तुत गरिने परियोजना करिब–करिब टुङ्गो लगाएको हो ।

  • सुनको मूल्य

पछिल्ला केही दिनयता सुनको भाउ लगातार उकालो लागिरहेको छ । मूल्यले दिनहुँ नयाँ उचाइ छोइरहेको छ । केही विश्लेषकहरूले सुनको भाउ अब २ हजार ५०० डलरमा गएर मात्रै रोकिने हो कि भन्ने थालेका छन् ।  

  • रुग्ण पुल

 एकातिर पुल निर्माणका लागि विनियोजित दुई अर्ब रुपैयाँ खर्च हुन सकिरहेको छैन, अर्कोतिर पुल निर्माणबापत ठेकेदारलाई पाँच अर्ब रुपैयाँ भुक्तान गर्न बाँकी छ । सङ्घीय सरकारको कार्यशैलीमा तालमेल नमिल्दा पुल पुनः निर्माणका लागि ठेक्का लाग्ने काम नहुने र सम्पन्न भएका कामको रकम भुक्तान नहुने अवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप