१२ बजे १२ समाचार: अशोक राई र राजेन्द्र महतोबिच कार्यगत एकता, सुरु भयो एमसीसीको मुख्य परियोजना
सारांश
- जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ, जसमा १८ बुँदे उद्देश्य र अन्य विषयहरू समावेश छन्।
- एमसीसी अन्तर्गतका परियोजनाहरू अघि बढेका छन्, जसले रातमाटे-नयाँ दमौली र नयाँ दमौली-बुटवल प्रसारण लाइन निर्माण गर्ने सम्झौताहरू समावेश छन्।
- भरत ताल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना तोकिएको छ, विशेष अदालतको फैसला अनुसार।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–
१. कार्यगत एकता
जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबिच बिहीबार कार्यगत एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन् । अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकताको घोषणा गर्दै १८ बुँदे उद्देश्य, १३ बुँदे संगठनात्मक संरचना सञ्चालन विधि र र ६ बुँदे आचारसंहितामा हस्ताक्षर गरेका हुन् । सहमति पत्रमा राई र महतोले बिहीबार हस्ताक्षर गरेका हुन् ।
२. एमसीसी
नेपालदेखि अमेरिकी सरकारसम्मको अड्चन झल्दै आएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत परियोजना अन्ततः अघि बढेको छ ।
नेपालका लागि एमसीसीको परियोजना सञ्चालक संस्था मिलिनियम च्यालेन्ज अकाउन्ट (एमसीए) कम्प्याक्टअन्तर्गत महत्त्वपूर्ण परियोजनाको निर्माण प्रक्रिया अघि बढाएसँगै एमसीसीको कार्यान्वयनले गति लिएको हो ।
बिहीबार एमसीए नेपालले रातमाटे–नयाँ दमौली र नयाँ दमौली–बुटवल प्रसारण लाइनको निर्माणसम्बन्धी छुट्टाछुट्टै दुई ठेक्का सम्झौता गरेको छ । रातमाटे–नयाँ दमौलीका लागि एञ्जेलिक स्किपर जेभी र नयाँ दमौली–बुटवलका लागि बाइबा–सलासर जेभीसँग सम्झौता भएको हो ।
३. प्रधानमन्त्री र खेलकुदमन्त्रीको निर्देशनमा तदर्थ समिति बनाउन मिल्छ ?
साउन २७ मा नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन भयो । यससँगै ओलम्पिक कमिटीभित्र विवाद उत्पन्न भएको छ ।
ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नौ सदस्यीय नेपाल ओलम्पिक कमिटी ९एनओसी० तदर्थ समिति गठन भएको हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आईओसी० द्वारा मान्यता प्राप्त जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटी छँदैछ । तर श्रेष्ठ नेतृत्व कमिटी अवैधानिक भएको भन्दै सर्वोच्चमा परेको मुद्दा विचाराधीन छ ।
४. लामिछानेको मुद्दा
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेर धरौटीमा छुटेका रवि लामिछानेको मुद्दामा उच्च अदालत पोखरामा आजदेखि सुनुवाइ सुरु भएको छ ।
उनी सहितका प्रतिवादीलाई जिल्ला अदालत कास्कीले गत पुस २५ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनीहरुले उक्त आदेश बदरको माग सहित उच्चमा निवेदन दिएका हुन् ।
उच्च अदालत पोखराका मुख्य रत्नबहादुर बागचन्द र न्यायाधीश दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ भएको हो ।रविसँगै सरकारी वकिल कार्यालयले पनि जिल्ला अदालतको आदेश चित्तबुझ्दो नभएको भन्दै थुनामा पठाउन माग सहित उच्चमा निवेदन दिएको छ ।
रुपन्देही– ३ मा उपनिर्वाचनको माहोल बढ्न थालेको छ । दलहरूले उम्मेदवार छनोट लागि आन्तरिक र खुला रूपमा प्रक्रिया अगाडि बढाइरहेका छन् । राप्रपा सांसद दीपक बोहराको निधनपछि यहाँ कात्तिक १७ गने हुने उपनिर्वाचन हुँदैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक रूपमै आवेदन मागेर उम्मेदवार छनोटको नौलो तरिका अपनाएको छ भने सत्तारुढ दल नेकपा एमालेको पार्टीभित्र आकाङ्क्षीहरू बढेकाले बैठक आह्वान गरेर नाम सङ्कलन गरेको छ । अन्य पार्टीहरूले पनि उम्मेदवार छनोटमा तीव्र आन्तरिक गृहकार्य बढाइरहेका छन् । रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका र एक चरणको छलफलसमेत सम्मपन्न भइसकेको पार्टीले जनाएको छ ।
५. भरतलाई ८ वर्ष कैद
सर्लाही जिल्लाको बागमती नगरपालिका मेयर भरत कुमार थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना निर्धारण भएको छ ।
नगरपालिकास्थित भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित विशेष अदालत काठमाडौँले साउन २१ गते मेयर थापा, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र अर्का कर्मचारी सागर पौडेल तीनै जनाले भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरको थियो ।
६. मन्त्रिपरिषद्को निर्णय
सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ ।
यस्तै मिनी बस/ट्रकको काठमाडौँ आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ, बस/ट्रकको काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
७. सम्झौता
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूबिच आज कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान गरिएको हो ।
८. बानियाँलाई सकस
बागमती प्रदेश सरकार विस्तार केही दिनलाई सरेको छ । सत्तारुढ दल नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोका कारण प्रदेश सरकार विस्तार धकेलिएको हो ।
संसद्बाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी गरिए पनि कांग्रेसको आन्तरिक द्वन्द्व उत्कर्षमा पुग्यो । गत साउन २० मा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई पदभार ग्रहण गरेका इन्द्रबहादुर बानियाँलाई मन्त्री छान्न निकै सकस देखिएको छ । कांग्रेसभित्रको गुटगत राजनीतिका कारण उनी समस्यामा छन् ।
९. कारागार व्यवस्थापन विभाग
कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी लीलाप्रसाद शर्मालाई दिइएको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बिहीबार शर्मालाई उक्त जिम्मेवारी दिइएको हो।
१० नारायणकाजीको दौडधूप
पछिल्लो समय नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको राजनीतिक दौडधुप र सक्रियता बढेको छ ।
खासगरी कम्युनिस्ट पृष्ठभूमिका नेताहरूसँग बाक्लो भेटघाटमा जुटेका श्रेष्ठले साउन महिनामा मात्रै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाल तथा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’मात्र होइन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूसँग पनि भेटवार्ता गरिसकेका छन् ।
११. संसद बैठक
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्रीले संसदमा पेस गरेको देशको अर्थतन्त्र, शिक्षा, स्वास्थ्यलगायतका तथ्यांकप्रति आपत्ति जनाएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा पूर्वमन्त्री समेत रहेका पुनले प्रधानमन्त्रीको भाषणले देशमा कुनै समस्या छैन, विकास द्रुत भएको छ, सुशासनको मानक बनेको छ र सरकारको विरोध गर्नेहरू मतिभ्रष्ट हुन् भन्नेजस्तो देखिएको बताए ।
१२ . पार्टी एकताअघि माओवादी र एकीकृत समाजवादीबिच ‘वार्मअप’
नेकपा ९माओवादी केन्द्र० र नेकपा (एकीकृत समाजवादी) बिच पार्टी एकताअघि ‘वार्मअप’ परामर्शलाई तीव्रता दिइएको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाको राजनीतिक दुर्घटनाबाट पाठ सिकेर दुवै पार्टीका नेता तथा कार्यकर्ताको मनोभावना एकता अघि नै बुझ्ने उद्देश्यले प्रदेशस्तरमा संयुक्त परामर्श बैठकलाई तीव्रता दिइएको हो ।
माओवादीको साउन १९ गते बसेको स्थायी समिति बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो । एकीकृत समाजवादीसँग एकताको विषयमा छलफल भइरहेको ब्रिफिङ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण