शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : जीवनरामलाई ३ दिने अल्टिमेटम, भारत र चीनविरुद्ध प्रदर्शन

शनिबार, ०७ भदौ २०८२, २२ : ००
शनिबार, ०७ भदौ २०८२

सारांश

  • शनिबारका मुख्य समाचारहरूमा बाबुराम भट्टराईले राजनीतिक बहसलाई विचार केन्द्रित गर्नुपर्ने कुरा राखे।
  • वीरगञ्जमा हैजा महामारी फैलिएको र दुई दिनमा २८ जना संक्रमित भएको पुष्टि भयो, साथै २ जनाको मृत्यु भयो।
  • एनओसी तदर्थ समितिले जीवनराम श्रेष्ठ नेतृत्वको समितिलाई तीन दिनभित्र सम्पत्ति र माइन्युट बुझाउन अल्टिमेटम दिएको छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । आज मिति २०८२ साल भदौ महिनाको ७ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–

१. शनिबार विशेष

शनिबार विशेष अन्तर्गत रातोपाटी डटकममा आज कथा, कविता, निबन्धसहित विभिन्न साहित्यिक सामाग्रीहरु प्रकाशित भएका छन् । साथसाथै कुशे औँसी विशेष सामग्री पनि प्रकाशित भएका छन् ।

२. बाबुरामसहितका नेताहरुको धारणा

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक बहसलाई वैचारिक ढंगबाट अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले अहिलेको बहस व्यक्ति केन्द्रित बनेको भन्दै त्यसलाई विचार केन्द्रित बनाउनुपर्नेमा जोड दिएका हुन् ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको टिप्पणी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले शेषनागले पृथ्वी कहीँ पनि नबोकेको जिकिर गरेका हुन् ।

३. विपिन जोशी रिहाइ पहल

प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले भेट गरेका छन् । 

हालै इजरायलबाट फर्केका उनीहरूले शनिबार प्रधानमन्त्रीसँग भेट गरेका हुन् । 

दुबै जना विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फकिएका हुन् ।

४. खाल्डाखुल्डी पुर्ने योजना

सडक विभागले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै  नागढुङ्गा–मलेखु–मुग्लिङ सडक खण्डमा यात्रा सहज र सुरक्षित बनाउन विशेष कार्ययोजना तयार गरेको छ । 

कार्ययोजना अनुसार, मनसुनजन्य विपद्बाट सडक अवरुद्ध भएमा तत्काल खुलाउन र चाडपर्वमा सहज आवागमन सुनिश्चित गर्न २४ सै घण्टा हेभी इक्विपमेन्ट (यन्त्र–उपकरण) तयारी अवस्थामा राखिने विभागले जनाएको छ ।

५. हैजा

वीरगञ्ज महानगरपालिकामा हैजा महामारीका रूपमा फैलिन थालेको छ । दुई दिनमै महानगरका विभिन्न वडामा २८ जनामा यसको संक्रमण पुष्टि भइसकेको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । हैजाका संक्रमित बढ्न थालेपछि स्थानीय त्रसित बनिरहेका छन् । यस्तै २ जनाको मृत्यु भएको छ ।

६. जीवनरामलाई अल्टिमेटम

नेपाल ओलम्पिक कमिटी (एनओसी) तदर्थ समितले जीवनराम श्रेष्ठ नेतृत्वको समितिलाई तीन दिने अल्टिमेटम दिएको छ । 

तदर्थ समितिले श्रेष्ठको कार्यसमितिलाई अवैध जिकिर गर्दै एनओसीको नाममा रहेको सम्पत्तिसहित माइन्युट तीन दिनभित्र बुझबुझारथ गर्न भनेको हो । एनओसीका सचिवालय व्यवस्थापन उपसमितिका संयोजक निलेन्द्र राज श्रेष्ठको हस्ताक्षरमा पठाइएको पत्रमा श्रेष्ठले विधान विपरीत अनियमित ढंगले निर्वाचन र विधान संशोधन गरेर कार्यसमिति गठन गरेको उल्लेख छ। 

सो कारण राष्ट्रिय खेलकुद परिषद्ले उक्त निर्वाचन र विधान संशोधनलाई खारेज गर्दै श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई कानुनसम्मत नभएको स्पष्ट गरेको उल्लेख छ ।

७. राजश्वको कुरा

भन्सार विन्दुबाट एक महिनामै ३६ अर्ब ८१ करोड बराबर राजस्व सङ्कलन भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ साउन महिनामा मात्रै ३६  अर्ब ८१ करोड ४१ लाख ८३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको हो ।

८. प्रदर्शन

भारत र चीनबिच नेपाली भूमि लिपुलेक हुँदै सीमापार व्यापार गर्ने सहमतिविरुद्ध संयुक्त विद्यार्थी संगठनले शनिबार काठमाडौँको लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । 

विरोध कार्यक्रममा सहभागी विद्यार्थीहरूले ‘गो ब्याक इन्डिया–चाइना’ लेखिएका प्लेकार्ड र ब्यानर बोकेर नाराबाजी गरेका थिए।

९. विदेशी पाहुना नेपालमा

समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका  काठमाडौँ आइपुगेकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् ।

१०. एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोले संघभित्र उत्पन्न विवाद र विभाजनको अवस्थामा आफू केवल ‘वास्तविक एकताको महाधिवेशन’ मा मात्र संलग्न रहने स्पष्ट गरेका छन् ।

महतोले आज एक वक्तव्य जारी गर्दै २२ वर्षअघि विदेशमा सिकेको ज्ञान, सीप, पुँजी र प्रविधि नेपालको विकासका लागि संघ स्थापना गरिएको भए पनि पछिल्लो समय यसको मूल मर्ममाथि प्रहार भइरहेको अनुभूति भएको बताएका छन् ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप