संसदमा प्रधानमन्त्रीको गलत ब्रिफिङ, निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति
सारांश
- प्रधानमन्त्री ओलीले चीनसँगको भेटमा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमतिमा आपत्ति जनाए।
- प्रधानमन्त्री ओलीले संसदमा वीरगन्जमा हैजाबाट ३ जनाको मृत्यु भएको भनी गलत जानकारी दिएको पाइएको छ।
- लुना लुइँटेल मिस नेपाल वल्र्ड बनेकी छिन्।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–
१. सीसँगको भेटमा ओलीको आपत्ति
प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत चीनबिचको सहमतिमा आपत्ति जनाएका छन् । शनिबार थियानजिन अतिथि गृहमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सो सहमतिमा आपत्ति जनाएका हुन् ।
२. संसदमा गलत ब्रिफिङ
प्रधानमन्त्री केपी शर्मा ओलीले हैजाबाट पर्साको वीरगन्जमा ३ जनाको मृत्यु भयो भनेर संसदलाई भ्रामक ब्रिफिङ गरेको पाइएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले हैजा महामारीबाट पर्साको वीरगन्जमा ३ जनाको मृत्यु पुष्टि भएको बताएका थिए । तर, पर्साका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालय पर्सा, नारायणी क्षेत्रीय अस्पतालका साथै स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले समेत वीरगन्जमा फैलिएको हैजाबाट कसैको पनि मृत्युको पुष्टि नभएको स्पष्ट पारेका छन् ।
३. मिस नेपाल
लुना लुइँटेल यस वर्षको मिस नेपाल वल्र्ड बनेकी छन् । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी मिस नेपालको टाइटल जित्न सफल भएकी हुन् ।
४. न्यायाधीश कारबाही
न्याय परिषदको तथ्याङ्क अनुसार पाँच वर्ष यता विभिन्न तहका ९ न्यायाधीश कारबाहीमा परेर पदमुक्त भएका छन् । खराब आचरण, कार्यक्षमताको अभाव, योग्यताको कारण देखाउँदै ती न्यायाधीशलाई न्याय परिषदले पदमुक्त गर्ने निर्णय गरेको थियो ।
५. कुलिङ अफ पिरियड
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति भएको छ ।
सिंहदरबारमा शनिबार बसेको समिति बैठकले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने क्रममा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने बिषयमा सहमति जुटाएको हो । यसअघि प्रतिनिधिसभाबाट उक्त विधेयक पारित गर्ने क्रममा कुलिङ अफ पिरियडमा छेडखानी गरेको पाइएको थियो ।
६. बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताएका छन् । ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
७. छानबिनमा एसपी
मधेस प्रदेश स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बारा, पथलैयाका एसपीमाथि छानबिन भइरहेको छ । आचरण विपरीतको काम गरेको आशंकामा मधेस प्रदेश प्रहरी कार्यालयले समिति बनाएर एसपी राजकुमार सिलवालमाथि छानबिन थालेको हो ।
८. हट एयर बेलुन
मनसुनी वर्षाका कारण साढे तीन महिनादेखि आकाशमा नदेखिएका रङ्गीबिरङ्गी हट एयर बेलुनहरू फेरि पोखराको आकाशमा उड्ने भएका छन् । जुन, जुलाई र अगस्टमा बन्द रहेको बेलुन उडान सेप्टेम्बर १५ देखि पुनः सुरु हुने बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए ।
९. सातोका सुन
यस साताभरको सुनचाँदीको कारोबार विश्लेषण गर्दा सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ भने चाँदीको मूल्यमा भने सामान्य उतारचढाव देखिएको छ ।
गत शुक्रबारदेखि यस शुक्रबारसम्म (एक साता)को अवधिमा सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा प्रतितोला ५० रुपैयाँको वृद्धि भएको छ । यो साता सुनको मूल्यले प्रतितोला २ लाखको आँकडा पार गर्दै नयाँ उचाइ कायम गरेको छ ।
१०. ‘महामारीको रोकथामका लागि नेपाली सेनालाई पनि खटाइन्छ’
गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लामा फैलिएको हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताएका छन्। शनिबार अबेर राति वीरगन्जको नारायणी अस्पतालमा हैजा सङ्क्रमित बिरामी भेटघाटपश्चात् आयोजित ब्रिफिङ कार्यक्रममा उनले महामारी नियन्त्रणका लागि सरकार गम्भीर रहेको स्पष्ट पारेका हुन्।
११. नेपाल ए’ को लगातार दोस्रो जित
नेपाल ‘ए’ले टी-२० शृङ्खलामा आसामविरुद्ध लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा टोली ९ रनले विजयी बनेको हो ।
१२. शनिबार विशेष
शनिबार विशेष अन्तरगत रातोपाटीमा आज विभिन्न सामग्री छापिएका छन् । जुन यसप्रकार छन्–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण