बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : राष्ट्रपतिको खोजीसँगै विज्ञप्तिदेखि सेनापतिद्वारा ब्रिफिङसम्म

बिहीबार, २६ भदौ २०८२, २२ : ००
बिहीबार, २६ भदौ २०८२

सारांश

  • राष्ट्रपति पौडेलले विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन र शान्ति कायम गर्न आग्रह गरेका छन्।
  • प्रधान सेनापति र राष्ट्रपतिबीच भेटवार्ता भयो, जसमा सेनापतिले जेनजी समूहसँगको वार्ताको बारेमा जानकारी गराए।
  • जेनजी आन्दोलनका कारण खाद्यान्न अभावको चिन्ता बढेको छ, र मृतकको संख्या ३४ पुगेको छ।

काठमाडौँ । रातोपाटीको नियमित प्रस्तुती रातोपाटी ब्रिफिङमा आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित १० बजे १० समाचार लिएर आएका छौँ–

१. राष्ट्रपतिको विज्ञप्ति

मुख्य राजनीतिक दल र सरोकारवाला पक्षहरूले खोजी गरिरहँदा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार एक विज्ञप्ति सार्वजनिक गरेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राष्ट्रपति कार्यालय शीतलनिवास जल्ने समयमा कार्यालयबाट बाहिरिएपछि पौडेल सार्वजनिक रुपमा देखिएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेपछि धेरैले राष्ट्रपति पौडेलबाट राष्ट्रको नाममा सम्बोधन आउने अपेक्षा गरेका थिए । तर, बिहीबार मात्र राष्ट्रपति पौडेलले एक विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्ति जारी गर्दै पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गरेका छन्। उनले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका छन्।

२. सेनापतिको ब्रिफिङ

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलबिच बिहीबार साँझ भेटवार्ता भएको छ ।

राष्ट्रपति बस्दै आएको स्थानमा पुगेर प्रधानसेनापतिले भेट गरेको उच्च स्रोतले रातोपाटीलाई बतायो ।

सो क्रममा सेनापतिले जेनजी समूहसँग हालसम्म भएको वार्ता प्रयासका सम्बन्धमा ब्रिफिङ गरेको स्रोतको भनाइ छ ।

३. जाँचपास

नेपाल र भारत सीमामा रोकिएका मालवाहक ट्रकहरूको भन्सार जाँचपास पुनः सुरु भएको छ।

नेपाली भन्सार कार्यालयहरूमा देखिएको सुरक्षा अवस्था र कर्मचारी अभावका कारण केही दिनदेखि अवरुद्ध रहेको जाँचपास प्रक्रिया पुनः सञ्चालनमा आएको हो । योसँगै अत्यावश्यक वस्तुहरूको नेपालतर्फको आपूर्ति सहज भएको छ।

४. जेनजी आन्दोलनपछिको परिस्थिति

नेपाली सेनाले काठमाडौँ उपत्यकामा निषेधाज्ञा र कफ्र्यु आदेशलाई निरन्तरता दिए पनि निषेधाज्ञाको समय भने केही कम गरेको छ । यसअघि बिहान १० बजेदेखि निषेधाज्ञा लागु गरिएकोमा शुक्रबार बिहान ११ बजेदेखि मात्र निषेधाज्ञा लागु गरिने भएको हो ।

५. खाद्यान्न अभावको चिन्ता

दसैँ आउन ११ दिन मात्रै बाँकी छ । तर केही दिनयता जेनजी आन्दोलनपछि देश विषम परिस्थितिबाट गुज्रिरहेको छ । परिस्थितिलाई सामान्य बनाउन प्रशासन कार्यालयहरुले देशका धेरैजसो जिल्लामा निषेधाज्ञा र कफ्र्यू आदेश जारी गरेका छन् ।

६. मानसिक स्वास्थ्य

जेनजी आन्दोलनपछि नेपाली राजनीतिले अर्कै मोड लिएको छ । प्रदर्शन हिंसात्मक बन्दा राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालत, थुपै सरकारी कार्यालय, प्रहरी कार्यालय, नेताका घर, निजी घर व्यापारिक केन्द्रमाथि आगजनी र तोडफोड भयो । आन्दोलनका क्रममा कम्तीमा ३४ जनाले ज्यान गुमाए भने एक हजार भन्दा घाइते भए । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो सब घटनापछि आम नागरिकमा बेचैनी, छटपटी, अनिद्रा, निराशाजस्ता मानसिक तनाव बढेको छ । यस्तो विषम परिस्थितिमा मानसिक स्वास्थ्यको ख्याल कसरी गर्ने ?

७. भग्नावशेष

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा सर्वसाधारणको भीड लागेको छ ।

घरमा महत्त्वपूर्ण समान भेटिने आसमा उनीहरूले खरानी पन्छाउँदै खोज्ने काम गरी रहेको देख्न सकिन्छ । सामान्य अवस्थामा देउवाको घर पस्न नपाएका सर्वसाधारणहरू आलिसान घर र घर वरिपरिको क्षेत्र देखेर आश्चर्य समेत देखिएका छन् ।

८. संवैधानिक प्रक्रियामा जोड

जेनजी आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति विकसित भएको छ । नेपाल र नेपाली जनताको भाग्य तथा भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्रको आवश्यकताबारे बहस र छलफल भइरहेका छन् ।

 ती बहस र छलफलपछि लिइने निर्णय नै देश र नागरिकको भविष्य निर्माणका प्रमुख आधार बन्नेछन् । यहीबीचमा संवैधानिक प्रक्रियाबाटै ‘निकास’को पक्षमा  प्रमुख राजनीतिक दल खुलेका छन् ।

९. अदालत

सर्वोच्च अदालतले भदौ २९ गतेदेखि बन्दी प्रत्यक्षीकरण निवेदनमा नियमित सुनुवाइ गर्ने भएको छ

१०. मृत्यु हुनेको संख्या ३४

देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप