मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बहुमूल्य वस्तु भन्दै टल्किने ढुङ्गा देखाएर ठगी गर्ने छ जना पक्राउ

सोमबार, २९ असार २०८३, १४ : २१
सोमबार, २९ असार २०८३

सारांश

  • पोखरा महानगरपालिका २६ कालिकाचोकमा बहुमूल्य वस्तु भनी टल्किने ढुङ्गा देखाएर ठगी गर्ने छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • प्रहरीले उनीहरूको डेरा खानतलासी गर्दा सेतो टल्किने क्रिस्टल, फोल्डिङ बट्टा, चार्जर र छ थान मोबाइल बरामद गरेको छ।
  • पक्राउ परेका सबै जनामाथि ठगी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ।

पोखरा । कास्कीको पोखरा महानगरपालिका २६ कालिकाचोकमा सेतो ढुङ्गाजस्तो टल्किने पदार्थलाई बहुमूल्य वस्तु भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने कार्यमा संलग्न छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरू भाडामा बस्दै आएको डेरा तथा उनीहरूको शरीर खानतलासी गर्दा प्रहरीले विभिन्न सामग्री बरामद गरेको छ। बरामद गरिएका सामानहरूमा सेतो टल्किने क्रिस्टलजस्तो लाम्चो देखिने वस्तु एक थान, काठको फोल्डिङ बट्टा एक थान, करिब छ फिट पाँच इन्च लम्बाइको केबलसहितको चार्जर एक थान र छ थान मोबाइल फोन रहेका छन्।

पक्राउ पर्नेहरूमा पर्वतको फलेवास नगरपालिका ५ घर भएका ३५ वर्षीय राजन विक, सोही ठाउँकी २७ वर्षीया रोशनी विक र ६९ वर्षीया बाटुली भन्ने खगिसरा कामी रहेका छन्। यसैगरी म्याग्दीको मालिका गाउँपालिका ४ घर भई हाल पोखरा २६ बस्ने ५१ वर्षीय दिलबहादुर बुढा मगर, म्याग्दीकै रघुगङ्गा गाउँपालिका ५ घर भई हाल पोखरा २७ अर्चले बस्ने २९ वर्षीय दीपक गोतामे र कास्कीको पोखरा २१ निर्मलपोखरी घर भई हाल पोखरा ५ मालेपाटन बस्ने ४५ वर्षीय प्रेमचन्द्र विश्वकर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका सबै जनामाथि हिरासतमा राखेर घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप