शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : तीन दलको तयारीले राष्ट्रपतिमा थप रोमाञ्चक मोड

बिहीबार, ११ फागुन २०७९, २२ : १३
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । आज मिति २०७९ साल फागुन महिनाको ११ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. राष्ट्रपतिमा माधवको चर्चा

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेका छन् । सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बिहीबार साँझ बसेको तीन दलको बैठकमा राष्ट्रिय सहमतिका लागि अध्यक्ष नेपाललाई राष्ट्रपतिका रूपमा अघि सार्ने तथा राष्ट्रिय सहमति खोज्न कांग्रेस र एमालेसँग संवाद गर्ने सहमति भएको हो । यससँगै राष्ट्रपतिमा थप रोमाञ्चक मोड आएको छ । 

२. बैठकपछि प्रचण्ड

धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार फाइनल वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले शुक्रबार ओलीसँग फाइनल वार्ता गर्न लागेका हुन् । यस्तै कांग्रेससँग पनि वार्ता गर्ने प्रचण्डको भनाइ छ ।

३. मन्त्रिपरिषद् निर्णय

मन्त्रीपरिषद्को बैठकले मेलम्ची खानेपानी आयोजनाको काम पूरा नगरी एकतर्फी रूपमा काम छोडेर हिँडेको इटालियन कम्पनी सीएमसीसँग मुद्दा लड्ने निर्णय गरेको छ ।

४. सन्दीप लामिछानेको मुद्दामा पेशी

सर्वोच्च अदालतले सन्दीप लामिछानेको मुद्दाको पेशी शुक्रबारका लागि तोकेको छ । लामिछानेले बिहीबार सर्वोच्चमा दायर गरेको मुद्दाको पेशी शुक्रबारका लागि तोकिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिगका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् ।

५. प्रमाणपत्र प्रकरण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीको अभिलेख पठाउन प्रहरी, सशस्त्र र विभागको मुख्यालयमा पत्राचार गर्ने तयारी गरेको छ ।

डीआईजी अशोक सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । बुधबार उनले प्रहरी प्रधान कार्यालयमा पुगेर आफ्नो राजीनामा बुझाएका थिए ।

६. शक्तिकेन्द्र धाउने ध्यान

लामो समय राम्रो पोष्टिङका लागि शक्तिकेन्द्रमार्फत दबाब दिएर जाने र त्यहाँ पुगेपछि बदमासी गर्न उद्यत केही कर्मचारीको कार्यशैलीले सिङ्गो भन्सार विभाग विवादमा आउने गरेको छ । विभागका एक अधिकृत भन्छन्, ‘सकभर सरुवा हुनै नचाहने र सरुवा भएर गए पनि फेरि शक्तिकेन्द्रमार्फत पुरानै कार्यालयमा फर्कने प्रवृत्ति छ । यसलाई रोक्नुपर्छ ।’

मुलुकको कुल राजस्वको करिब ५० प्रतिशत भन्सार प्रशासनले सङ्कलन गर्दै आएको छ ।

७. सेयर बजार

बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ५७ अंक माथिको पहिरो गएको छ । यसदिन नेप्से सूचक ५७.७४ अंक अर्थात् २.७८ प्रतिशतले घट्दै २ हजार २२.६४ अंकमा झरेको हो ।

८.ओलीको जन्मदिन

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो ७२ औँ जन्मदिन मनाएका छन् । निजी निवास बालकोटमा केक काटेर अध्यक्ष ओलीले जन्मदिन मनाएका हुन् ।

९. विदेशमा राइडरको पीडा

राइडरमार्फत दुबई र कतार पुगेका धेरै मानिसहरू स्वदेश फर्कन भन्दै विभागमा निवेदन दिने गरेका छन् । उनीहरूले त्यहाँ भनेअनुसार काम नपाउने, तोकिए बमोजिम पारिश्रमिक नदिने, राइडिङ गर्न निकै गाह्रो हुने भन्दै उद्धारको माग गर्दै आएका हुन् ।

नेपाली कामदार बाइक राइडरको कामका लागि योग्य नहुँदा समस्या भइरहेको छ । त्यसरी राइडरको रूपमा जानेहरू आर्थिक क्षतिमात्र नभएर मानसिक समस्यामा समेत पर्ने गरेका छन् । त्यतिमात्र नभएर मोबाइल एप्लिकेसन राम्रोसँग चलाउन नजान्दा तोकिएको समयमा समान डेलिभरी गर्न नसक्ने हुन्छन् ।

१०. यो पनि..

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्माओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’ लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताए ।

ब्रेकफेल भएको टेम्पोलाई पार्किङभित्र छिराएर ठुलो दुर्घटनाबाट जोगिएको छ।

वैदेशिक रोजगार विभागमा जाने सेवाग्राहीले परिचय खुल्ने कागजपत्र देखाउनुपर्ने भएको छ । अनावश्यक भिडभाड बढेको भन्दै विभागले सेवाग्राहीलाई सेवा लिन आउँदा आफ्नो परिचय खुल्ने कागजपत्र लिएर आउन भनेको हो ।

नेकपा एमालेका सचिव योगेश भट्टराइले पुस १० गतेको सहमति कार्यान्वयन नभए सरकारमा नबस्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उनले एमाले अहिलेसम्म सत्ता समीकरण पाँच वर्षसम्म टिकोस् भन्ने पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीले सत्ता समीकरण फेरबदलको चलखेल गरे सरकारमा नरहने स्पष्ट गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आह्वान भएको छ । राष्ट्रपति निर्वाचनसहितका समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन बैठक आह्वान भएको हो ।

न्यायाधीश समाज, नेपालले राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित हुने लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन सेवा निवृत्त प्रधानन्यायाधीश वा न्यायाधीशलाई संविधानको कुनै पनि धाराले बन्देज नलगाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप