शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

आज के–के छन् शीर्ष १० समाचार ?

शुक्रबार, ०७ वैशाख २०८१, २२ : १३
शुक्रबार, ०७ वैशाख २०८१

आज मिति २०८१ साल वैशाख महिनाको ७ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ ।

सहकारी ठगी प्रकरण

अदालतले तोकेको धरौटी नबुझाएपछि पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुनलाई कारागार चलन गरिएको छ । जिल्ला अदालतको आदेश अनुसार धरौटी नबुझाएपछि उनलाई थुनामा पठाइएको रुपन्देहीका एसपी रन्जीत सिंह राठौरले रातोपाटीलाई बताए । न्यायाधीश डा‍. दीपक उप्रेतीको इजलासले उनीसँग ४ लाख धरौटी मागेको थियो ।

सुप्रिम सहकारीको निक्षेप हिनामिना प्रकरणमा पक्राउ परेका नवीन अछामीलाई पनि कारागार चलान गरिएको छ । अदालतले मागेको १० लाख धरौटी नबुझाएपछि उनलाई कारागारमा पठाइएको एसपी राठौरले जानकारी दिए । अन्य ४ जना भने धरौटी बुझाएर रिहा भएका छन् ।

सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न फरार प्रतिवादीहरूलाई अदालतले ३५ दिने म्याद जारी गरेको छ । ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित १९ जनालाई पक्राउ पुर्जी (समाह्वान) जारी गर्ने आदेश भएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले रातोपाटीलाई बताए ।

राज्य व्यवस्था समितिको बैठक

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ–तराई–मधेस द्रुत मार्ग’ (फास्ट ट्रयाक) सडक आयोजनाको भौतिक प्रगति ३३.२ प्रतिशत रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधान सेनापति प्रभुराम शर्मा, ‘फास्ट ट्रयाक’ आयोजना प्रमुख एवं सेनाका सहायक रथी विकास पोख्रेल लगायतले हालसम्म भएको प्रगति विवरण प्रस्तुत गरेका हुन् ।

कांग्रेसको असन्तुष्टि

पाली कांग्रेस गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखविरुद्ध खनिएको छ । मुख्यमन्त्री नियुक्ति र त्यसपछिका प्रक्रियामा प्रदेश प्रमुखहरूले असंवैधानिक कार्य गरेको कांग्रेसको जिकिर छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा प्रकाश शरण महतले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँ र गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले असंवैधानिक कार्य गरेको भन्दै पार्टीले राजनीतिक र कानुनीरुपमा विरोध गर्ने बताए ।

राप्रपालाई जरिवाना

बालेन शाह मेयर रहेको काठमाडौँ महानगरपालिकाले राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना बैंक दाखिला गर्न पत्र पठाएको छ ।

सुनील पौडेल दोषी ठहर

नेशनल पेमेन्ट गेटवे प्रकरणमा नेपाल टेलिकमका निलम्बित महाप्रबन्धक सुनिल पौडेल दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीश मुरारीबावु श्रेष्ठले उनलाई दोषी ठहर गरेका हुन् । सजाय निर्धारण वैशाख २५ मा हुनेछ ।

एमाले प्रतिनिधि परिषद् बैठक

शनिबारदेखि सुरु हुने नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पुरा भएको छ । शुक्रबार एमाले प्रचार विभागले पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो ।

परिषद् बैठक ललितपुरको सनराइज हलमा दुई दिनसम्म चल्ने छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने बैठकमा २ हजार ७३ जना महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, र केन्द्रीय पदाधिकारी गरी  २ हजार ४५४ जना सहभागी हुने पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।

शिक्षा मन्त्रालयको परिपत्र

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा जाँचबुझ आयोगको हालै सार्वजनिक प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न निकायलाई परिपत्र गरेको छ।

आयोगले २०७४ सालमा सरकारलाई प्रतिवेदन बुझाएको भएपनि शिक्षामन्त्री सुमना श्रेष्ठले चैत २८ गते सार्वजनिक गर्ने निर्णय गरेकी थिइन्। त्यसलगत्तै मन्त्रालयले सार्वजनिक गरेको थियो।

संकल्प प्रस्ताव पारित

कोशी प्रदेश सभामाको शुक्रबार बसेको बैठकमा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।

सभामुख अम्बरबहादुर बिष्टले सङ्कल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेको र विपक्षमा रहेका सांसदहरू मतगणना प्रक्रियामा सामेल नभएको तथा मत दिन्न भन्ने पक्षमा जम्मा ३ सांसद रहेका कारण बहुमतले प्रस्ताव पारित भएको सभालाई जानकारी गराए ।

गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकीको संसद् बैठक स्थगित भएको छ । राष्ट्रियगानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि  स्थगित गरिएको हो ।

बैठकमा कांग्रेस र राप्रपाका सांसद उपस्थित थिएनन् । बैठकमा राष्ट्रियगानको धुनसँगै सहिदप्रति एक मिनेट मौन धारण गरिएको छ भने प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो ।

वैदेशिक रोजगार

चैत महिनामा ७० हजार भन्दा बढी नेपालीहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार २०८० को चैत महिनामा ७० हजार ९३३ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ७४ हजार २४१ जना पुरुष र छ हजार ६९२ जना महिला रहेका छन् ।

नेपालको हार

नेपाल एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । ओमानमा जारी उक्त प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा नेपाली टोली चिरप्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६ विकेटले पराजित भयो ।

यो पनि..

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूसँग सत्ता उलटफेर गर्नसक्ने क्षमता रहेको भन्दै कमजोर नठान्न चेतावनी दिएका छन् ।

गृह जिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिका–२ स्थित लालबकैया नदीमा निर्मित झुलुङ्गे पुल शुक्रबार उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । नेकपा एकीकृत समाजवादीलाई सानो दल वा कमजोर ठान्ने भुल ग¥यो भने त्यो सह्य नहुने चेतावनी पनि नेपालले दिए ।

नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालसँग नेपालस्थित विभिन्न देशका कूटनीतिज्ञहरूले शुक्रबार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नर्वेका राजदूत तोरुन दर्मादल, जर्मनीका डा।थोमस प्रिन्ज, बेलायतका रोब फेन, स्वीजरल्याण्डका डनिएल मेउवली र नेपालस्थित एसियन विकास बैंकका निर्देशक अर्नाउद काउचोइसले अर्यालसँग भेट गरेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)की समानुपातिक सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । शुक्रबार संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै सत्तारुढ दलका नेताहरू नै असन्तुष्ट देखिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाटै बर्खास्त गर्नेसम्मको कारबाही गर्नेगरी नीतिगत निर्णय गरेसँगै यस कदमको चौतर्फी चर्चा र आलोचना भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिनय रहने फिल्म ‘नमेटिने घाउ’को निर्धारित सुटिङ कार्यक्रम रद्द भएको छ । 

शुक्रबार एमाले पार्टी कार्यालय च्यासलमा ओलीको सुटिङ हुने कार्यक्रम तय भएपनि अन्तिम समयमा आएर रद्द भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुन बरामद गरेको छ । भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले रातोपाटीलाई बताए ।

थप समाचार लिंक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप