वासिङ्टन । अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । २७० इलेक्टोरल भोट भन्दा बढी नतिजा ल्याएर उनी राष्ट्रपति पदमा विजयी भएका हुन् । निर्वाचनबाट कमला ह्यारिस पराजित बनेकी छन् ।
मस्को । अमेरिकाको राष्ट्रपति निर्वाचनमा आवश्यक इलेक्टोरल मततर्फ बहुमत हासिल गरेका डोनाल्ड ट्रम्पलाई विभिन्न मुलुकका राष्ट्रपति–प्रधानमन्त्रीले बधाई दिएका छन् । कतिपयले त मतगणना जारी रहँदै बधाई दिएका छन् ।
तर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने ट्रम्पलाई बधाई दिएका छैनन् । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेसकोभले ट्रम्पलाई बधाई दिने सम्बन्धमा रुसका राष्ट्रपति पुटिनले योजनासमेत नबनाएको प्रस्ट पारेका छन् ।
ट्रम्पले चाल्ने ठोस कदमका आधारमा उनको मूल्याङ्कन गरिने पेसकोभको भनाइ छ । उनले बुधबार भने, ‘ट्रम्पलाई बधाई दिने सम्बन्धमा राष्ट्रपति पुटिनले कुनै योजना बनाएको मलाई अहिलेसम्म थाहा छैन ।’
वासिङ्टन डीसी । अमेरिकाको राष्ट्रपति चुनावमा पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्कापक्की भइसकेको छ । निर्वाचन आयोगले उनको जितको औपचारिक घोषणा गरेको छैन ।
विश्वबाट उनलाई बधाईको ओइरो लागेको छ । यो सूचीमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि छन् । चुनावमा ठूलो जित हासिल गरेकोमा ट्रम्पलाई बधाई भनेर जेलेन्स्कीले भनेका छन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गर्दै उनले ट्रम्पलाई बधाई दिएका हुन् ।
‘सेप्टेम्बरमा ट्रम्पसँग भएको शानदार भेट मलाई याद छ । यस क्रममा हामीले युक्रेन–अमेरिकी रणनीतिक साझेदारी, विजयको योजना र युक्रेन विरुद्ध रुसको आक्रामकता समाप्त गर्ने तरिकाबारे छलफल गरेका थियौँ ।’ पोस्टमा उनले लेखेका छन् ।
वासिंटन । अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जित हासिल गरेका छन् । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ ।
ट्रम्प अमेरिकाको पूर्वराष्ट्रपति पनि हुन् । उनले २० जनवरी २०१७ देखि २० जनवरी २०२१ सम्म ४५ औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका थिए । ४५ औँ राष्ट्रपतिका लागि सन् २०१६ मा भएको निर्वाचनमा ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए ।
अमेरिकाको इतिहासमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति पदमा पुग्न सकेका छैनन् । सन् २०१६ को निर्वाचनमा हिलारीका सामु उक्त इतिहास रच्ने अवसर थियो । तर ट्रम्पले उनलाई पराजित गरे ।
वासिंटन । अमेरिकी राष्ट्रपति पदमा आफ्नो जित भएको दाबी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले गरेका छन् । फ्लोरिडामा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफ्नो जित भएको बताएका हुन् ।
यद्यपि, उनको जितको औपचारिक घोषणा भइसकेको छैन । तर, उनको जित सुनिश्चितजस्तै छ ।
यसबिचमै ट्रम्पलाई विश्व समुदायबाट बधाईको ओइरो आउन थालेको छ । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पलाई ऐतिहासिक जितका लागि बधाई दिएका छन् ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै विश्वको सुन तथा कच्चा तेलको बजार घटेका छन् । बुधवार यो समाचार तयार पार्दासम्म विश्व बजारमा सुनको मूल्य ०.६३ प्रतिशत तथा चाँदीको मूल्य १.२१ प्रतिशतले घटेको छ ।
त्यस्तै, कच्चा तेलको बेलायती बजार ब्रेन्टमा तेलको मूल्य १.६७ प्रतिशतले घटेर प्रतिब्यारेल ७४.२२ अमेरिकी डलरमा झरेको छ । उता अमेरिकी बजार वेष्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) बजारमा कच्चा तेलको मूल्य १.७४ प्रतिशतले घटेर प्रतिब्यारेल ७०.७७ मा झरेको छ ।
अमेरिकामा रिपब्लिकन उम्मेदवारलाई कम उदार मानिन्छ । पहिलो कार्यकालमा ट्रम्पले ‘अमेरिका पहिलो’ भन्ने नारा लिएका थिए । त्यही कारणले उनको कार्यकालमा देशको अर्थतन्त्रसँगै अमेरिकी डलर समेत बलियो हुनसक्ने भएकोले विश्वका लगानीकर्ताको रोजाइ सुन र बच्चा तेल भन्दा डलरमा बढी परेको हो ।
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुँदा विश्वका विभिन्न देशका स्टक मार्केटहरूले फरक फरक प्रतिक्रिया देखाएका छन् । विश्वमा सबैभन्दा चर्चित रहेका स्टक बजारदेखि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेका बजारसम्मले फरक फरक प्रतिक्रिया देखाएका हुन् ।
खासगरी अमेरिका, युरोपदेखि रसिया र भारतीय स्टक मार्केटमा यसको सकारात्मक प्रतिक्रिया देखिँदा चीन र मध्यपूर्वका देशहरूको बजार भने घटेका छन् । विश्वकै सबैभन्दा ठुलो स्टक एक्सचेन्ज मानिने अमेरिकी स्टक बजार न्यूयोर्क स्टक एक्सचेन्ज आज बढेको छ । यो समाचार तयार पार्दासम्म उक्त स्टक एक्सचेञ्ज परिसूचक १.३५ प्रतिशतले बढेको हो ।
अमेरिकाकै डाउ जोर इन्डष्ट्रियल एभरेज २.४२ प्रतिशतले बढेको छ । त्यस्तै एसपी ५०० परिसूचक १.२३ प्रतिशत तथा नास्वाक कम्पोजिट परिसूचक १.४२ प्रतिशतले बढेको छ ।
वासिंटन । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा पुनरागमन गर्दैछन् । अमेरिकी राष्ट्रपति पदका लागि भएको निर्वाचनमा पपुलर भोटमार्फत विजयी भएका ट्रम्प औपचारिक रूपमा निर्वाचित हुन इलेक्टोर मत हासिल गर्न बाँकी छ ।
डोनाल्ड ट्रम्प अमेरिकाको यस्तो दोस्रो राष्ट्रपति हुनेछन्, जसले एक कार्यकाल राष्ट्रपति पद सम्हालेर दोस्रो निर्वाचनमा पराजित भइ तेस्रो निर्वाचनमार्फत सोही पदमा पुनरागमन गर्न सफल भए ।
यसअघि अमेरिकाका २२ औँ राष्ट्रपति ग्रोभर क्लेभेलान्डले यो इतिहास रचेका थिए । उनी सन् १८८४ मा अमेरिकाको राष्ट्रपतिमा पहिलो पटक निर्वाचित भएका थिए । तर, सन् १८८८ मा भएको निर्वाचनमा उनी पराजित भए । सन् १८९२ मा भएको निर्वाचनमा भने उनी फेरि राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयोन्मुख रहँदै भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएका हुन् । सामाजिक सञ्जाल ‘एक्स’ (यसअघि ट्वीटर भन्ने गरिन्थ्यो) मा मोदीले लेखेका छन्, ‘ऐतिहासिक जितका लागि मेरा मित्र डोनाल्ड ट्रम्पलाई हार्दिक बधाई ।’
मोदीले ट्रम्पको अघिल्लो कार्यकालमा जस्तै भारत–अमेरिका व्यापक वैश्विक र रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन आपसी सहयोग अभिवृघि गर्न आफू उत्सुक रहेको बताएका छन् ।
तेल अभिभ । अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले जित सुनिश्चित गरेका छन् । निर्वाचन आयोगले ट्रम्पले जितेको भनेर घोषणा नगरेको भए पनि ट्रम्पले चाँहि आफूले जितेको घोषणा गरिसकेका छन् । यसैबिच विश्वभर बाट ट्रम्पलाई बधाई आउन सुरु भएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले डोनल्ड ट्रम्पलाई जितको लागि बधाई दिएका छन् । ‘ऐतिहासिक महान् पुनरागमनका लागि बधाई’ भनेर उनले भनेका छन् ।ह्वाईट हाउसमा ऐतिहासिक पुनरागमनले अमेरिकालाई नयाँ सुरुआत दिने र इजरायल–अमेरिकाबिच महानतम् गठबन्धनको शक्तिशाली प्रतिबद्धताको अवसर दिएको उनले भनेका छन् ।
ट्रम्पको जितलाई उनले ठूला जित भनेका छन् । यसैबिच हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले पनि यस्तै खालको बधाई दिएका छन् । उनले ट्रम्पको जितलाई विश्वलाई अति नै चाहिएको जित भनेका छन् ।
वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले आफूले जितेको घोषणा गरिसकेका छन् । योसँगै उनले आफ्नी कान्छी श्रीमती मेलानिया ट्रम्पलाई धन्यवाद दिएका छन् ।
उनले मेलानियालाई अमेरिकाको प्रथम महिला पनि भने । ‘यो देशको नम्बर एक बेस्ट सेलर पुस्तक हो । (मेलानिया)ले उत्कृष्ट काम गरेकी छिन् । मानिसहरूलाई मद्दत गर्न उनले निकै मेहनत गर्छिन् ।’
ट्रम्पले मेलानियाले लेखेको पुस्तकको प्रशंसा गर्दै भनेका छन् । यसैबिच ट्रम्पले आफ्ना छोराछोरीलाई धन्यवाद दिएका छन् । कार्यकर्तालाई सम्बोधनका क्रममा मञ्चमा आफूसँगै उभिएका आफ्ना छोराछोरीको नाम लिएर ट्रम्पले उनीहरूको प्रशंसा गरे ।
वासिङ्टन डिसी । अमेरिकामा एक पटक फेरि ‘ट्रम्प कार्ड’ चलेको छ । अहिलेको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जित्ने सुनिश्चित देखिएको छ । ट्रम्पले आफूले जितेको दाबी गरिसकेपनि औपचारिक घोषणा भने हुन बाँकी छ।
अमेरिकाको ४७ औँ राष्ट्रपति बन्ने बाटोमा रहेका ट्रम्प देशको सबैभन्दा धनाढ्य नेतामा गनिन्छन् । ट्रम्प अर्बौँ डलरका मालिक हुन् । विश्वभर उनको व्यवसाय फैलिएको छ । यसमा मिडिया टेक्नोलोजीदेखि रियल इस्टेटसम्मका व्यवसाय छन् ।
वासिङ्टन । रिपब्लिकन उम्मेदवार रहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः ह्वाइट प्रवेश गर्ने लगभग तय भएको छ । यो समाचार तयार पर्दासम्म उनी जितका लागि आवश्यक २ सय ७० इलेक्टोरल भोटबाट मात्र केही कदम टाढा रहेका छन् ।
उनले यसपटक लोकप्रिय मतमा पनि उनले डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई उछिनेका छन् । औपचारिक नतिजा नआए पनि ट्रम्पले आफूलाई विजेता घोषणा गरिसकेका छन् ।
वासिङ्टन डीसी । अमेरिकाका पूर्व अमेरिकी राष्ट्रपति तथा यस पटकको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार डोनाल्ड ट्रम्पले निर्वाचनमा आफूले जितेको घोषणा गरेका छन् ।
आफ्नो जितको खुसीयालीमा ट्रम्पले कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् । यस सम्बोधनमा उनले आफ्ना उपराष्ट्रपति जेडी भान्सलाई पनि बोलाएका छन् ।
यसैबिच ट्रम्पले खर्बपति व्यापारी तथा विद्युतीय सवारी साधन निर्माता कम्पनीका सीईओ एलन मस्कलाई ‘न्यू स्टार’ भनेका छन् । मस्क यस पटकको चुनावी अभियानमा खुलेर ट्रम्पको पक्षमा लागेका थिए ।
फ्लोरिडा । रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन्। उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँग स्टेजमा पुगेका थिए ।
ट्रम्पले भने, ‘हामी हाम्रो देशलाई पुनः प्राप्ति गर्न मद्दत गर्नेछौँ। यो अमेरिकाको लागि "स्वर्ण युग" हुनेछ।’
उनले थपे, ‘यो अमेरिकी जनताका लागि ठुलो जीत हो। जसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन सक्षम बनाउँछ।’
वासिङ्टन डीसी । अमेरिकाको राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । मतगणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जित्ने निश्चित प्रायः छ ।
यसैबिच अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले रमाइलो फोटो पोस्ट गरेका छन् । यस अघि नै उनले ट्रम्पसँग गफ गरिरहेको फोटो हालेका थिए ।
माइक्रो बलगिङ वेबसाइट एक्समा मस्कले एउटा पोस्ट शेयर गरेका छन् । यो पोस्टमा मुस्कुराइरहेका मस्क दुवै हातमा बेसिनको सिंक लिएर गइरहेको देखिन्छ ।
वासिङ्टन डिसी । अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जीत सुनिश्चित देखिएको छ । अमेरिकी मिडिया आउटलेटहरु फक्स न्यूज, सीएनएनले यस्तो घोषणा गरेका छन् । अहिलेसम्म पनि मतगणना जारी छ ।
सीएनएनका अनुसार ट्रम्प २७० को बहुमतबाट केही मत मात्रै टाढा छन् । ह्यारिसले भने अहिलेसम्म १८८ मत पाएकी छिन् । फक्स न्युजले पनि ट्रम्पको जितको घोषणा गरिसकेको छ । अहिलेसम्म ट्रम्पले १६ राज्यमा जितिसकेका छन् ।
क्यालिफोनिर्यामा भने कमला ह्यारिसले जितेकी छिन् । यहाँ ५४ इलेक्टोरल भोट छ । यो अमेरिकाको कुनै पनि राज्यको सबैभन्दा धेरै हो । तर उनको यो जित पनि फिक्का बनेको छ ।
वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रतीय निर्वाचनमा डोनाल्ड ट्रम्प जितको बाटोमा छन् । स्थानीय सञ्चार माध्यम सीएनएनका अनुसार ट्रम्प र जीतको बीचमा अब ३ इलेक्टोरल भोटको मात्रै दूरी छ । यो ३ भोट पाए भने ट्रम्प २७० को म्याजिक अंक छुनेछन् ।
यसैबीच उनको प्रतिद्वन्द्वी कमला ह्यारिस भने उनी भन्दा निकै पछाडि छिन् । अहिलेसम्म ह्यारिसले २१४ इलेटोरल भोट मात्रै पाएकी छिन् । ट्रम्पले भने २६५ मत पाइसकेका छन् ।
वासिङ्टन डीसी । कयौँ दशकपछि अमेरिकी चुनावमा रिपब्लिकन पार्टीको झन्डा फहरिने देखिएको छ । लामो समययता पहिलो पटक हो कि रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपतिको रूपमा ह्वाइट हाउसमा बस्नुको साथै अमेरिकी कांग्रेसको माथिल्लो सदन सिनेटमा पनि बहुमत प्राप्त गर्ने पार्टी बन्ने क्रममा छ । प्रतिनिधिसभामा पार्टी बहुमततर्फ अघि बढेको छ । अमेरिकामा तीनवटै ठाउँमा एउटै दलको वर्चस्व विरलै देखिन्छ ।
बुधवार मध्यान्ह १२ बजेसम्म इलेक्टोरल भोटको गणनामा डोनाल्ड ट्रम्प निकै अगाडि थिए । २४७ इलेक्टोरल भोट ट्रम्पले पाउँदा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले २१४ प्राप्त गरेकी छिन् । पछिल्लो प्रक्षेपणलाई हेर्दा ट्रम्पले ३०६ इलेक्टोरल भोटमा जित हात पार्ने देखिन्छ । कमला ह्यारिस २३२ इलेक्टोरल भोटका साथ निकै पछि पर्ने देखिएकी छिन् ।
जबकि १०० सदस्य रहेको सिनेटमा रिपब्लिकन पार्टीले ५१ सिट जितेर बहुमत हासिल गरेको छ । यसलाई रिपब्लिकनले अमेरिकी संसदको मुख्य सदन कब्जा गरेको भनेर भन्दा पनि भयो । यहाँ डेमोक्रेटिक पार्टीको ४२ सिट मात्रै छ । अब कुरा गरौँ तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको । यसमा रिपब्लिकन पार्टीले अहिलेसम्म १८६ सिट जितेको छ भने डेमोक्रेट १६० सिटमा पुग्न सकेको छ । यहाँ जुन पार्टीले २१८ सिट पाउँछ ? उसैको बहुमत हुन्छ । राष्ट्रपतिसँगै दुवै सदनमा रिपब्लिकन पार्टीको वर्चस्व रह्यो भने डोनाल्ड ट्रम्पका लागि आगामी कार्यकालमा सबै कुरा सहज हुनेछ ।
वासिङ्टन डीसी । पूर्व अमेरिकी राष्ट्रपति तथा यस पटकको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकाका सात स्विङ स्टेटमध्ये दुईमा विजय हासिल गरेका छन् । नर्थ क्यारोलिना र जर्जियामा ट्रम्प विजयी भएका छन् । यी दुवै राज्यमा १६–१६ इलेक्टोरल कलेज भोट छन् ।
सातमध्ये पाँच स्विङ स्टेटको नतिजा आउन बाँकी छ । प्रारम्भिक अनुमानले यी पाँचै राज्यमा ट्रम्पको अग्रता रहेको देखाएको छ । स्विङ स्टेटहरू ती राज्यहरू हुन् जहाँ चुनावमा जित वा हारबीच निकै कम अन्तर हुन्छ । एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिन स्विङ स्टेट भनेर चिनिन्छि ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउने क्रम जारी छ । यसैबिच डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आज हुने भनिएको सम्बोधन रद्द गरेकी छिन् ।
कमला ह्यारिसको कार्यालय बाहिर ठुलो सङ्ख्यामा उनका समर्थकहरू जम्मा भएका थिए । तर ह्यारिसको चुनावी अभियानमा संलग्न एक वरिष्ठ सदस्यले ह्यारिस आज सम्बोधन गर्न नआउने बताएका छन् ।
ह्यारिसको कार्यालयबाहिर उनको सम्बोधन सुन्न पर्खिरहेका कार्यकर्ता निराश भएका छन् । मतगणना जारी छ । प्रारम्भिक रुझान अनुसार कमला ह्यारिसका तुलनामा उनको प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प अगाडि छन् ।
वासिङ्टन । अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएसँगै विभिन्न राज्यमा मतगणना भइरहेको छ । निर्वाचन परिणामका लागि अमेरिकाका ७ ‘स्वीङ स्टेट’ (कसले जित्छ भन्ने अनुमान गर्न कठिन) नै निर्णायक मानिने जानकारहरू बताउँछन् ।
तिनै ‘स्वीङ स्टेट’मध्येको एक नर्थ क्यारोलाइनामा डोनाल्ड ट्रम्प विजयी भएका छन् । सात ‘स्वीङ स्टेट’मा नर्थ क्यारोलाइनाका अतिरिक्त एरिजोना, जर्जिया, मिशिगन, नेवाडा, पेन्सिलभेनिया र विस्कन्सिन छन् ।
यसमध्ये जर्जिया र पेन्सिलभेनियामा पनि ट्रम्प जितको नजिक छन् । यी राज्यका अधिकांश मत गणाना भइसक्दा ट्रम्पले अग्रता बनाइरहेका छन् ।
वासिङ्टन डीसी । बुधवार विश्व शेयर बजार उकालो लागेको छ । विश्वभर लगानीकर्ताहरू विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र अमेरिकामा मङ्गलवार भएको राष्ट्रपतिको निर्वाचनको परिणाम पर्खिरहँदा शेयर बजार बढेको हो । एसियामा बुधवार अधिकांश मुख्य शेयर परिसूचक हरियोमा छन् ।
यो समाचार तयार पार्दाखेरी नेपाली समयअनुसार बिहान १०ः ५७ बजे चीनमा साङ्हाई कम्पोजिट शून्य दशमलव १६ प्रतिशतले बढेर ३ हजार ३९२ दशमलव ३६ अङ्कमा आएको छ । हङकङमा भने हाङशेङ २ दशमलव ६८ प्रतिशतले घटेर २० हजार ४५९ दशमलव २६ अङ्कमा झरेको थियो ।
जापानमा निक्केई २५ परिसूचक २ दशमलव शून्य ३ प्रतिशतको वृद्धिसहित ३९ हजार २६५ दशमलव ७८ अङ्कमा उक्लिएको थियो । दक्षिण कोरियामा कोस्पी शून्य दशमलव ९७ प्रतिशतले घटेर २ हनार ५५१ दशमलव ८३ अङ्कमा समेटिँदा सिंगापुरमा स्ट्रेट टाइम्स शून्य दशमलव शून्य ४ अंकले बढेर ३ हजार ५८२ दशमलव ९९ अङ्कमा पुगेको थियो ।
वासिङ्टन डीसी । हवाई र अलास्का बाहेक अमेरिकाका अन्य सबै राज्यमा मतदान केन्द्र बन्द गरिएको छ । परम्परागत रूपमा रिपब्लिकन पार्टीको गढ मानिने राज्यहरूमा ट्रम्पले जित्ने अपेक्षा गरिएको भएपनि केहीमा कमला ह्यारिस विजयी हुने देखिएको छ । अमेरिकामा कुल ५० राज्यहरू छन् । अर्को एक घण्टामा घण्टामा प्रक्षेपण आउन सुरु हुनेछ ।
तर कतिपय राज्यहरूमा मतगणनाले अरूको तुलनामा धेरै समय लिनेछ । मुख्यतया मेल मार्फत मतदान भएको नेभादा राज्यको अन्तिम नतिजा आउन केही दिन लाग्न सक्छ । शनिबारसम्म मतगणना हुनेछ । कतिपय मतपत्र मतदान केन्द्रमा ढिलो पुगेकाले यस्तो भएको हो ।
काठमाडौँ । अमेरिकाका धेरै राज्यमा मतगणना सुरु भएको छ । कतिपय ठाउँमा डोनाल्ड ट्रम्पले जित्ने अनुमान गरिएको छ भने केही ठाउँमा कमला ह्यारिसले जित्ने सम्भावना छ ।