सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी बिफिङः १२ बजे, १२ समाचार

सोमबार, ०२ असार २०८२, ०० : ००
सोमबार, ०२ असार २०८२

काठमाडौँ । रातोपाटी डटकमले वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ–

१.प्रदेश सरकारले ल्याए बजेट
प्रदेश सरकारहरूले आइतबार आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेका छन् ।  असार १ गते प्रदेशहरुले बजेट ल्याउनै पर्ने कानुनी व्यवस्था छ ।  

२. बूढानीलकण्ठ घटना

 बूढानीलकण्ठमा एक घरमा भारतीय नागरिक र एक नेपाली महिला मृत फेला परेका छन्। मृतक भारतीय नागरिक फोटोग्राफर थिए र महिला घरमा काम गर्थिन्, दुवै जनाको शवसँगै विषको बट्टा भेटिएको छ। 

३.बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्मा छलफल

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेको १७ दिनपछि आजबाट प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफल प्रारम्भ भएको छ। जेठ १५ गते संसद्मा बजेट प्रस्तुत भए पनि प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण छलफल अघि बढ्न सकेको थिएन।

४. लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्धा दर्ता 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी कोष अपचलनसम्बन्धी मुद्दा दर्ता भएको छ। वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको अभियोगसहित आइतबार पर्सा जिल्ला सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ता गरिएको हो।

५.  अस्ट्रेलियामा सर्भर राखेर नेपालमा कर छली

राजस्व अनुसन्धान विभागले सर्भर विदेशमा राखेर अनलाइनमार्फत कारोबार गरी कर छली गरेको आरोपमा एक कुरियर कम्पनीविरुद्ध १ अर्ब ३६ करोड ८८ लाख रुपैयाँभन्दा बढीको माग दाबीसहित मुद्दा दायर गरेको छ।  विभागले आइतबार काठमाडौँको तीनकुनेस्थित ‘नेपाल क्यान मुभ प्रालि’ र त्यसका सञ्चालकसहित ६ जनाविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो। 

६. रास्वपा र राप्रपाको विरोधकै बिच प्रतिनिधिसभा बैठक 

रास्वपा र राप्रपाको विरोधकै बिच प्रतिनिधिसभा बैठक बसेको छ । सोमबारको बैठकमा विपक्षी दल रास्वपा र राप्रपाले सुरुदेखि विरोध जनाए । राप्रपाले बजेटमाथिको छलफल समेत बहिष्कार गरेको छ ।

७. बंगलादेशमा विद्युत् व्यापार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बंगलादेशमा विद्युत् व्यापारबाट मासिक २५ करोड भन्दा बढी आम्दानी हुने बताएका छन् । ऊर्जा मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालबाट बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यात गरि मासिक २५ करोड भन्दा बढी आम्दानी गरि पाँच महिनामा एक अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने बताएका हुन् ।

८. प्रभावहीन बने संघीय लोकतान्त्रिक मोर्चाका निर्णय

तराई–मधेसका सात दलको संघीय लोकतान्त्रिक मोर्चाले विभिन्न माग राख्दै चार वटा बैठक सम्पन्न गर्यो, तर निर्णय कार्यान्वयनमा समस्या देखिएको छ।

९. त्रिवि तोडफोडमा संलग्नलाई काठमाडौँका सीडीओले सामान्य धरौटीमा छाडे

त्रिभुवन विश्वविद्यालय तोडफोडमा संलग्न नेविसंघका नेताहरूलाई जिल्ला प्रशासन कार्यालयले रिहा गरेको छ । २७ जेठमा पक्राउ परेका दिक्पाल कार्की र लोकेश कुँवरलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले सामान्य धरौटीमा रिहा गर्ने निर्णय गरेका हुन् ।

१०. इरान र इजरायलमा नेपाली नागरिक सुरक्षित 

परराष्ट्र मन्त्रालयले इरान र इजरायलबिच जारी युद्धमा त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जनाएको छ ।  परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ढकालले इरान र इजरायलबिच जारी द्वन्दलाई नेपालले नजिकबाट नियालिरहेको बताएका छन् ।

११. नेसपा (नयाँ शक्ति) को ११ बुँदे राजनीतिक प्रस्ताव पारित

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक जेठ ३१ र असार १ गते काठमाडौंमा सम्पन्न भएको छ । बैठकले हालको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक र कूटनीतिक परिस्थितिका विषयमा छलफल गर्दै ११ बुँदे प्रस्ताव पारित गरेको छ ।

१२. जलथल जङ्गलमा भेटियो दुर्लभ कछुवा

यहाँको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा आज दुर्लभ कछुवा फेला परेको छ । पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वन नजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा पहेंलो रङ्गको कछुवा फेला पारेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप