शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: सङ्घीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित, प्रचण्ड र माधवबिच भेटवार्ता

मङ्गलबार, १७ भदौ २०८२, २३ : ५१
मङ्गलबार, १७ भदौ २०८२

सारांश

  • मन्त्री र सचिवबीचको विवाद र निजामती विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेकपा एसका अध्यक्षबीच भेटवार्ता भएको छ भने वीरगञ्जमा हैजाको प्रकोप अझै नियन्त्रणमा आएको छैन।
  • गोंगबुमा नगद र सुन बरामद, विद्यालय बन्द स्थगित, र हिमाल आरोहणको नयाँ शुल्क लागू भएको छ।

काठमाडौँ।  आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. मन्त्री–सचिव विवाद

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले सञ्चार माध्यममा आएजस्तो आफूले सचिवको गाडीको चाबी नखोसेको बताएका छन् ।

२. निजामती विधेयक

बहुचर्चित सङ्घीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । मंगलबारको बैठकले सर्वसम्मत विधेयक पारित गरेको हो । उक्त विधेयक गत असार १५ गते प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएको थियो । प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन विधेयक पारित भएको हो ।

३. एकताका लागि पहल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच भेटवार्ता भएको छ । नेकपा एसको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार उनीहरूबिच भेटवार्ता भएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले बताए । 

४. वीरगञ्ज हैजा प्रकोप

वीरगञ्जमा हैजा सङ्क्रमण देखिएको डेढ साता बितिसकेको छ । तर हैजा कसरी सुरु भयो भन्ने हालसम्म पहिचान हुन सकेको छैन । सरकारले परीक्षणका लागि नमुना पठाएको बताए पनि डेढ सातासम्म पनि रिपोर्ट नआउनुले विभिन्न आशङ्का उब्जाएको छ ।

५. लिपुलेक विवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको विषयमा चीनका राष्ट्रपति सी चीनफिङसमक्ष उनकै भूमिमा कुरा राखे । जसको चर्चा यतिवेला देशभित्र मात्र होइन, बाहिर पनि छ । 

६. उपनिर्वाचन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय समितिको बैठक मंगलबार बसेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले रुपन्देहीको क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि नवीन अभ्यासको रूपमा प्रारम्भिक निर्वाचन प्रणाली अवलम्बन गर्ने निर्णय गरेको छ । 

निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ जिल्ला, प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. २ को रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।

७. गोंगबुमा नगद र सुन

मंगलबार प्रहरीले छापा मारेर गोंगबु स्थित विनोद श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार नगद बरामद गरेको छ । गोरखाको गोरखा नगरपालिका वडा नम्बर–१ घर भएर काठमाडौँ–२६ मा घर बनाएर बसेका श्रेष्ठको घरमा त्यति नगद मात्र भेटिएन, सुनका गहना पनि अत्यधिक भेटिएको छ । 

८. ‘काउन्टर’ प्रस्ताव

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन नजिकिँदै गर्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता विवाद प्रकरण थप पेचिलो बन्ने देखिएको छ । पार्टीको नवौँ केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता कायम रहन नसक्ने निर्णय गरेपछि चर्किएको विवाद विधान महाधिवेशनसम्मै पुग्ने देखिएको छ । 

९. रोकियो विद्यालय बन्द घोषणा

आन्दोलनरत निजी विद्यालय संगठनहरूले तत्काल विद्यालय बन्द गर्ने कार्यक्रम स्थगित गरेका छन् । 

प्रतिनिधि सभामा विधेयकमाथिको छलफलको मिति सरेपछि तत्काल बन्दको परिस्थिति टरेको हो । शिक्षा विधेयकमा प्रस्तावित केही प्रावधानको विरोधमा आन्दोलनरत निजी विद्यालयका छाता संगठनहरूले आफ्नो आन्दोलन जारी राख्ने तर तत्काल विद्यालय बन्द नहुने जनाएका हुन् ।

१०. नयाँ शुल्क 

हिमाल आरोहणमा नयाँ शुल्क कार्यान्वयनमा आएको छ । सरकारले २०८१ माघमा जारी गरेको पर्वतारोहण नियमावली अनुसार सेप्टेम्बर महिनादेखि नयाँ शुल्क कार्यान्वयन गरिएको हो । 

११. सडकको अवस्था

अहिले दसैँ–तिहार, छठजस्ता ठुला चाडपर्व नजिकिइसकेका छन् । चाडपर्वको समयमा सडक यातायातमार्फत ठुलो सङ्ख्यामा मानिस आउजाउ गर्छन् । यसलाई मध्यनजर गर्दै सडक विभागले विशेष गरी काठमाडौँलाई जोड्ने मुख्य राजमार्गलाई चुस्त–दुरुस्त राख्नका नियमित रूपमा मर्मत सम्भार तथा खाल्डाखुल्डी पुर्ने कार्य भइरहेको जनाएको छ । 

१२. नजिरकै भर

सर्वोच्च अदालतले संयुक्त आत्महत्या (सुसाइड प्याक्ट) लाई कसुर परिभाषित गरी सजायको व्यवस्था गर्न कानुन बनाउन निर्देशनात्मक आदेश जारी गरेको चार वर्ष भयो, तर कानुन बन्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप