शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आइतबार दिनभरका विपद्‍सम्बन्धी अपडेट एकैठाउँमा पढ्नुहोस्
LIVE UPDATES

LIVE UPDATES : आइतबार दिनभरका विपद्‍सम्बन्धी अपडेट एकैठाउँमा पढ्नुहोस्

आइतबार, १९ असोज २०८२, २२ : ५४
Live

सारांश

  • जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा गराउने न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएको छ।
  • मनसुन कमजोर भएसँगै मौसममा सुधार आएको छ र जनजीवन सामान्य बन्दै गएको छ।
  • शुक्रबारदेखिको विपद्‍बाट जनधनको क्षति भएको छ।

वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यससँगै मनसुन कमजोर भइ मौसममा सुधार आइसकेको जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् । यस्तै क्रमश: जनजीवन सामान्य बन्दै गएको छ । 

यद्यपि शुक्रबारदेखिको विपद्‍बाट जनधनको क्षति हुन पुगेको छ । 

सबै अपडेट हेर्नुहोस्

 

ललितपुरमा पनि सोमबारको बिदा खारेज, सरकारी कार्यालय खुल्ने

ललितपुर। लगातारको वर्षाका कारण दुई दिनका लागि दिइएको सार्वजनिक बिदा खारेज गर्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि सरकारी कार्यालयहरू सञ्चालन गर्न निर्देशन दिएको छ।

यसअघि सरकारले २० गतेसम्म बिदा दिने निर्णय गरेको थियो। तर आजै गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरूलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएपछि ललितपुर प्रशासनले पनि सोही अनुसार सेवा सुचारु गर्ने निर्णय गरेको हो।

यता काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पनि आइतबार सूचना जारी गर्दै सोमबारको सार्वजनिक बिदा खारेज गरेको छ। सूचनामा सबै सरकारी कार्यालय, संस्थान तथा स्थानीय तहहरू सोमबारदेखि नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिइएको उल्लेख छ।

काठमाडौँमा भोलिको बिदा खारेज, प्रशासनले निकाल्यो सूचना

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबारका लागि दिइएको बिदा खारेज गर्दै सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सञ्चालन गर्न निर्देशन दिएको छ ।

विगत दुई दिनदेखिको लगातारको वर्षाका कारण काठमाडौँ प्रवेश मार्गहरू अवरुद्ध भई उद्धार तथा राहतमा ध्यान केन्द्रित गर्न असोज १९ र २० गते दुई दिन सार्वजनिक बिदा घोषणा गरिएको थियो। तर, मौसममा सुधार आएपछि प्रशासनले भोलि (सोमबार) बिहान १० बजेबाट कार्यालय खुला हुने जनाएको छ। 

प्रशासनले आइतबार राति जारी गरेको सूचनामा भनिएको छ, ‘मौसममा सुधार भएको र जोखिमको अवस्था टरीसकेको हुँदा मिति २०८२/०६/ २० गते सोमबारका दिन बिहान १० बजे देखि कार्यालय समयसम्म काठमाडौँ जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न तथा तदनुरूप कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन अनुरोध छ।’

केही सडकमा अझै समस्या, जानकारी लिएर यात्रा गर्न विभागको आह्वान

काठमाडौँ । केही सडकमा अझै पहिरो र बाढीले समस्या भइरहेकाले जानकारी लिएर मात्र यात्रा गर्न सडक विभागले अनुरोध गरेको छ ।

विभागले आज साझा सार्वजनिक गरेको सडकको अवस्थासम्बन्धी विवरणमा पूर्वपश्चिम राजमार्गको पूर्वी खण्डमा अझै समस्या भइरहेको जनाइएको छ । उक्त राजमार्गको काँकडभिट्टा र कालीखोला क्षेत्रमा पहिरो पन्छाउने काम भइरहेको विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिए । 

यसैगरी मेची राजमार्गको इलाम खण्डमा धेरै समस्या आएको र बीपी राजमार्ग बाढी रोकिएको सात दिनपछि मात्र सञ्चालन हुन सक्ने अवस्था रहेको विभागले जनाएको छ ।

सप्तकोसीका तीन नदीमा जलसतह खतराको तहमाथि

काठमाडौँ । सप्तकोसीका तीन नदीमा जलसतह खतराको तहमाथि पुगेको छ । जल तथा मौसम विज्ञान विभागले अरुण, तमोर र सुनकोसीमा जलसतहले खतरा तह पार गरेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सचेत हुन आह्वान गरेको छ । 

सुनसरीको चतरा क्षेत्रमा बिहानैदेखि खतरा तह पार गरेर कटान भइरहेको विभागका वरिष्ठ जलविज्ञ विनोद पराजुलीले जानकारी दिए । त्यस क्षेत्रमा बिहानदेखि वर्षा रोकिए पनि सप्तकोसीको माथिल्लो भेगमा परेको पानीले यस्तो भएको उनले सुनाए । सप्तकोसीका सहायक नदीको बाढी चतरामा पुग्न १८ घण्टासम्म लाग्छ ।  

यही असोज २० गते मङ्गलवार बिहानसम्म यस क्षेत्रमा खतराको तहबाट सतर्कताको तहमा झर्ने अनुमान गरिएको विभागले जनाएको छ । सिन्धुपाल्चोकको नाकोतेमा भने हिउँ पग्लिएर जल सतह बढी आज सतर्कताको तहमा पुगेको छ । यसबाट आत्तिनुपर्ने अवस्था नरहेको वरिष्ठ जलविज्ञ पराजुलीले बताए । 

दुई मन्त्री सोमबार इलाम जाँदै

काठमाडौँ । विपद्को घटनामा सबैभन्दा बढी प्रभावित भएको इलाममा सोमबार दुई मन्त्री जाने भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, सहरी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ सोमबार प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्नका लागि जान लागेका हुन् ।

सो क्रममा उनीहरुले क्षतिको अनुगमन गर्नुका साथै आवश्यक राहत र पुनर्स्थापनाबारे पहलकदमी लिने घिसिङको सचिवालयले जनाएको छ । शुक्रबारदेखिको अविरल वर्षाका कारण इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । 

अविरल वर्षाका कारण फसेका नागरिकलाई सेनाले गर्‍यो उद्धार

असोज १७ गते बेलुकीदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा फसेका नागरिकलाई नेपाली सेनाले उद्धार गरेको छ ।

मोरङ्गको कटहरी गाउँपालिका–४ नयाँबजार इलाकास्थित लोहन्द्रा खोलामा आएको बाढीका कारण सुकुम्बासी टोल डुबानमा परेर फसेका छ जना बालबालिकालाई शिवदल गणको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

यस्तै, झापाको झापा गाउँपालिका–१ मिलनबस्तीमा डुबानमा परेका १० जना पुरुष र पाँच जना महिला गरी १५ जनालाई अरिदमन गणबाट खटिएको टोलीले मोटरबोटबाट उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । 

कोशीमा ४३ जनाको मृत्युमा माओवादी नेता जनार्दन शर्माद्वारा दुःख व्यक्त

काठमाडौँ । कोशी प्रदेशमा बाढी र पहिरोका कारण ४३ जनाको ज्यान गएको घटनाप्रति माओवादी केन्द्रका नेता जनार्दन शर्माले गहिरो दुःख प्रकट गरेका छन्।

नेता शर्माले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले लेखेका छन्, ‘फेरि अर्को विपत  कोशी प्रदेशमा बाढी–पहिरोले ४३ जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’

शर्माले यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै पीडितहरूलाई सहयोग र उद्धारका लागि सबैलाई एकजुट हुन पनि आग्रह गरेका छन्।

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग राति ९ बजेदेखि बन्द गरियो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा आज राति ९ बजेपछि बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार र शनिबार परेको वर्षाका कारण पहिरोको उच्च जोखिम भएकाले अहिले राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि सडकमा आवागमन बन्द गरिएको हो ।  

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले चितवनबाट पोखरा र काठमाडौँतर्फ जाने सवारीसाधनलाई राति ९ बजेपछि सडक प्रयोग नगर्न आग्रह गरिएको बताए । 

यसअघि नै जिल्ला भित्रने सवारीसाधनका लागि समेत ९ बजेभित्र जिल्ला प्रवेश गर्न सूचना जारी गरिसकेको उनले बताए । 

जनताले ‘सरकार छ’ भन्ने अनुभूति गर्न पाए : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद्का बेला सरकारले देखाएको तदारुकताको सराहना गरेको छ । आइतबार बसेको सो पार्टीको बृहत् भर्चुअल बैठकका निर्णय सार्वजनिक गर्दै रास्वपाले सरकारको नेतृत्व गम्भीर र इमानदार हुँदा जनताले सरकार छ भन्ने अनुभूति गर्न पाएको जनाएको हो ।

‘सरकारको नेतृत्व गम्भीर र इमानदार हुँदा जनताले ‘सरकार छ’ भन्ने अनुभूति गर्न पाएको छ । सरकार बलियो सांसदको धेरै सङ्ख्याले हैन, बलियो सार्वजनिक सेवाले हुने हो’, प्रवक्ता मनिष झाले जारी गरेको निर्णयमा भनिएको छ ।

बैठकले विपद्मा रास्वपाले आफ्नो ठाउँबाट गर्दै गरेको समन्वय र सहयोगलाई निरन्तरता दिने र आवश्यक उद्धार कार्यमा आफ्नो सीप र दक्षता अनुसार संलग्न हुन पार्टीको सबै तहमा अनुरोध गरेको छ । त्यस्तै आवश्यकता अनुसार राजमार्गहरूमा यथाशीघ्र ‘हेल्प डेस्क’ स्थापना गर्न पनि रास्वपाले आव्हान गरेको छ ।

ज्योतिषको गलत सूचनाले लाङटाङ ट्रेकिङमा जाँदा मानवीय क्षति भयो : कुलमान घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले केही ज्योतिषले सामाजिक सञ्जालमा लेखेको स्टाट्सका कारण लाङटाङमा मानवीय क्षति भएको हुनसक्ने बताएका छन् । आइतबार भौतिक पूर्वाधार मन्त्रालयमा मन्त्री घिसिङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन । 

उनले सरकारले त्यति धेरै सतर्कता अपनाउन सूचना जारी गरिरहँदा केही ज्योतिषले केही नहुने भन्दै सामाजिक सञ्जालमा राखेको स्ट्याटसको कुरामा विश्वास गर्दा मानवीय क्षति पुगेको हुनसक्ने बताए ।

भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्री समेत रहेका घिसिङले भने–  ‘मैले सुनेको कुरा तपाईंहरूलाई भन्छु, केही ज्योतिषीहरूले यो हुँदैन, यो गलत हो भनेको कारणले पनि लाङटाङमा ट्रेकिङमा जानुभयो कि भन्ने कुराहरू छन् । हामीले त पटक पटक भन्या थियौँ । सबैले जानकारी दिएका छौँ । तर पनि ज्योतिषीको विश्वास गर्दा मानवीय क्षति हुन पुगेको देखिन्छ ।’

विपद्‍मा मृत्यु भएका ५३ जनाको सनाखत (सूचीसहित)

काठमाडौँ । शुक्रबारदेखिको अविरल वर्षापछिको विपद्मा मृत्यु भएका ५३ जनाको सनाखत भएको छ ।

सशस्त्र प्रहरीका सह-प्रवक्ता शैलेन्द्र थापाले मृतक ५३ जनाको खनाखत भएको जानकारी दिए । यस्तै अन्य ७ जना बेपत्ता भएका छन् ।

विपद्‍को घटनामा सबैभन्दा धेरै क्षति इलाममा भएको छ । 

वैशाखयता विपद्‍मा परेर २८५ को मृत्यु, २७ बेपत्ता

काठमाडौँ । यस वर्षको वैशाखयता हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ । 

आजसम्मको विवरणअनुसार अन्य २७ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणकी प्रवक्ता शान्ति महतले आज मात्रै ४४ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको बताइन् । सबैभन्दा बढी आज इलाममा ३७ जनाको पहिरोमा परेर ज्यान गएको र पछिल्लो प्रणालीबाट ५० जिल्ला प्रभावित भएको उनले जानकारी दिइन् ।

कोशीमा बाढी पहिरोको वितण्डाः कहाँ कहाँ के के भयो ?

विराटनगर । कोशी प्रदेशमा मनसुनजन्य विपद्का कारण ठुलो जनधनको क्षति भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी हालसम्म ४३ जनाले ज्यान गुमाएका छन् भने दशौं हजार मानिस विस्थापित भएका छन् । 

विपद्बाट इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । त्यसैगरी, पाँचथर र मोरङमा २–२ जना, उदयपुरमा २ जना र खोटाङमा ३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । इलाममा एक जना अझै बेपत्ता छन् । 

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका छन् । विपद्मा फसेका ५३२ जनाको उद्धार गरिएको छ । विवरणअनुसार १६ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । जसमा इलाममा १४ र पाँचथरमा २ घर रहेका छन् ।

नेपाल एयरलाइन्सले सोमबार उद्धार उडान गर्दै, कति छ भाडादर ?

काठमाडौं । बाढी र पहिरोका कारण देशभर सिर्जित विषम परिस्थितिमा नेपाल एयरलाइन्सले भोलि (सोमबार) एक विशेष उद्धार उडान सञ्चालन गर्ने भएको छ।

राष्ट्रिय ध्वजावाहकको जिम्मेवारी र नेपाल सरकारको निर्देशनअनुसार काठमाडौं–भैरहवा–काठमाडौं सेक्टरमा उद्धार उडान सञ्चालन गर्न लागेको एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ।

एयरलाइन्सका अनुसार उक्त उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुहरूलाई विशेष प्राथमिकता दिइने छ।

काभ्रेमा पहिरोसँगै आएको  ढुंगाले लागेर एक जनाको मृत्यु

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–११ मा पहिरोसँगै आएको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भैंसे घर भएकी ५६ वर्षीया बिमलादेवी तामाङ छिन् ।

आइतबार अपराह्न ४ बजेतिर वर्षा रोकिएपछि आएको पहिरोसँगै खसेको ढुंगाले लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर ईश्वर कार्कीले रातोपाटीलाई बताए ।

कोशीमा मृत्यु हुनेको संख्या ४३ पुग्यो, २६ हजारभन्दा बढी विस्थापित

विराटनगर । कोशी प्रदेशमा मनसुनजन्य विपद्का कारण ठुलो जनधनको क्षति भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी हालसम्म ४३ जनाले ज्यान गुमाएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन् । 

प्रहरीका अनुसार बाढी–पहिरोमा परी मृत्यु हुनेमा १८ जना पुरुष र २५ जना महिला रहेका छन् । विपद्बाट सबैभन्दा बढी इलाम प्रभावित भएको छ । इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । जसमा १३ पुरुष, १४ महिला, ३ बालक र ७ बालिका रहेका छन् । त्यसैगरी, पाँचथर र मोरङमा २–२ जना, उदयपुरमा २ जना र खोटाङमा ३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । 

विपद्का घटनामा परी प्रदेशभरी १० जना घाइते भएका छन् । घाइते हुनेमा ५ पुरुष र ५ महिला छन् । पाँचथर, खोटाङ र भोजपुरमा घाइतेको संख्या बढी छ । तथ्याङ्कअनुसार प्रदेशमा केही व्यक्ति बेपत्तासमेत भएका छन् । जसमा इलाममा १ जना रहेको छ ।  

महाकाली नगरपालिकामा जीप दुर्घटना, एक जनाको मृत्यु

धनगढी । दार्चुलाको महाकाली नगरपालिका–६ निसिलमा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी गौरव महतका अनुसार आइतबार महाकाली नगरपालिकाको वडा नम्बर ९ साकारबाट निसिल जाँदै गरेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप वडा नम्बर ६ को बजगाडी भन्ने ठाउँमा दुर्घटना भएको थियो ।

साकारमा क्रिकेट प्रतियोगिता हेरेर घर फर्किदै गरेका यात्रु बोकेको जीप दुर्घटना भएको हो । 

बागमती प्रदेशमा एक जनाको मृत्यु, ४ जना बेपत्ता

हेटौँडा । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले बागमती प्रदेशका विभिन्न जिल्लामा एक जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । 

हेटौँडास्थित बागमती प्रदेश प्रहरी कार्यालयको विपद् सम्बन्धी घटना विवरणअनुसार रसुवा, काभ्रे र सिन्धुपाल्चोकमा बाढी तथा पहिरोका घटनाहरू भएका छन् । 

कार्यालयका अनुसार पहिरोमा परेर काभ्रेको रोशी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । रोशी–११ भैँसेकी ५७ वर्षिया विमला देवी तामाङको घर भन्दा तल रहेको धारामा लुगा धुन जाने क्रममा पहिरोसँगै खसेको ढुङ्गाले लागेर आइतबार दिउँसो मृत्यु भएको हो ।

उद्धार तथा राहत कार्यमा लाग्न जसपा नेपालको निर्देशन

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले बाढी पहिरोका कारण विपद्मा परेकालाई उद्धार तथा राहत कार्यमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ । 

जसपा नेपालका महासचिव लालबाबु राउतले आज एक विज्ञप्ति जारी गरी असोज १७ गतेदेखि सुरु भएको वर्षका कारण विपद्मा परेका जनसमुदायलार्य स्थानीय प्रशासन तथा निकायसँग समन्वय तथा सहकार्य गरी उद्धार तथा राहत कार्यमा लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेका हुन् । 

दुई दिनदेखिको लगातार भारी वर्षाको कारणबाट बाढी पहिरो र डुबानका कारण देशका धेरै जसो भूभागमा जनसमुदायको अवस्था चिन्ताजनक रहेको उनले उल्लेख गरेका छन् । 

विपद्सँग जुध्न कांग्रेसले ‘स्वयंसेवी समूह’ मार्फत काम गर्ने

काठमाडौं । नेपाली काँग्रेसले विपद्सँग जुध्न भ्रातृ संस्थामा आबद्ध युवाहरूको स्वयंसेवी समूहमार्फत काम गर्ने भएको छ । 

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीका सबै भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूको ’विपद् केन्द्रित विशेष बैठकले यस्तो निर्णय गरेको कांग्रेसले जनाएको छ ।  महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा बसेको बैठकले ठाउँठाउँमा भ्रातृ संस्थाका स्वयंसेवक स्थानीय रूपमा परिचालित भइसकेपनि थप सक्रियताका लागि अपिल गरेको छ । 

साथै कांग्रेसले भारी वर्षा र पहिरोका कारण विभिन्न जिल्लामा भएको मानवीय क्षतिले पुरै देशलाई मर्माहत बनाएको भन्दै इलाम, रौतहट, खोटाङ, उदयपुर लगायतका जिल्लामा भएको मृत्युका घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । 

काठमाडौँ जाने सवारी आइतबार पनि हेटौँडामा रोकिए

हेटौँडा । शुक्रबारदेखिको अविरल वर्षा रोकिएपछि आइतबार बिहानबाट मकवानपुरको भीमफेदी-कुलेखानी- फाखेल -फर्पिङ मार्ग हुँदै काठमाडौँका लागि सवारीसाधन आवतजावत खुलेको भएपनि आइतबार साँझबाट पुनः रोकिएको छ ।

सुरक्षाको कारण देखाउँदै हेटौँडाबाट मकवानपुरका विभिन्न सडक भएर काठमाडौँ उपत्यका प्रवेशमा अस्थायी रोक लगाइएको हो । यससँगै मकवानपुर हुँदै संघीय राजधानी काठमाडौँ जाँदै गरेका केही सवारीसाधन हेटौँडामा रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–काठमाडौँ जोड्ने मार्गमा सुरक्षाको खतरा बढेकाले उपमहानगरपालिकाको वडा नम्बर १, चौकी टोलबाट सवारीसाधनलाई अगाडि जान रोक लगाइएको हो । यात्रु र सवारी चालकहरुलाई प्रहरीले सम्झाई बुझाई फर्काएको छ ।

पानीमा डुबेर एक जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–१६ को सुगरमिल नजिक रहेको कलभर्टमा डुबेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा विराटनगर १६ मा डेरा गरी बस्ने अन्दाजी ३५ वर्षीय अनिता राउत रहेकी छिन् । उनी भारतीय नागरिक हुन् ।

 उनको पानीको भेलले बगाएपछि डुबेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । 

कसरी भयो इलाममा यति ठुलो मानवीय क्षति ?

विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । इलामको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दिएको जानकारी अनुसार अझै १ जना बेपत्ता छन् भने २० जना घाइते भएका छन् । 

इलामका ७ वटा स्थानीय तहमा ठुलो मानवीय क्षति भएको हो । पहिरोले घरहरू पुरिँदा र बगाउँदा सुतिरहेका अवस्थामा धेरैले ज्यान गुमाए । प्राप्त विवरणअनुसार सबैभन्दा बढी क्षति देउमाई नगरपालिका र माईजोगमाई गाउँपालिकामा भएको छ । दुवै पालिकामा ८–८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा ६–६ जनाले ज्यान गुमाएका छन् । सूर्योदय नगरपालिकामा ५ जना, माङ्सेबुङ गाउँपालिकामा ३ जना र फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेहरूमा १७ जना पुरुष र २० जना महिला रहेका छन् । 

दुई दिनमा विभागले पठायो ६५ लाखभन्दा बढी बाढी पूर्वसूचना एसएमएस

काठमाडौँ । पछिल्ला दुई दिनमा देशभरका नागरिकलाई करिब ६५ लाखभन्दा बढी बाढी पूर्वसूचना सन्देश पठाइएको छ।

जल तथा मौसम विभागले असोज १८ गतेदेखि हालसम्म नेपाल टेलिकम र एनसेल एक्जीयटा मार्फत जम्मा ६५ लाख १६ हजार २९६ वटा एसएमएस पठाइएको जानकारी दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया