शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: विपिनको शव सोमबार नेपाल आइपुग्ने, नर्सहरूका माग पूरा गर्न सातै प्रदेशमा कार्यदल गठन

सोमबार, ०३ कात्तिक २०८२, ०० : ००
सोमबार, ०३ कात्तिक २०८२

सारांश

  • सरकारले नर्सहरूको समस्या समाधानका लागि सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ।
  • हमासको नियन्त्रणमा मारिएका नेपाली युवक विपिन जोशीको शव भोलि नेपाल आइपुग्ने भएको छ, र इजरायलले सम्मान प्रकट गरेको छ।
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिम सरकारलाई 'असंवैधानिक' संज्ञा दिएका छन्, र निर्वाचन गराउन सरकार इच्छुक नदेखिएको बताए।
  • स्वास्थ्य मन्त्रालयका पूर्वअतिरिक्त सचिव संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
  • अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष खड्काको पत्र आधिकारिक नभएको जनाएको छ।
  • नेपाल विद्युत् प्राधिकरणले तिहारमा विद्युतको कमी नहुने जनाएको छ, जति मन लाग्छ बत्ती बाल्न भनेको छ।
  • जेनजी आन्दोलनमा टीओबी समूहका लिडर तेन्जिङको नागरिकतासम्बन्धी विवरण फेला परेको छैन।
  • जेनजीका विभिन्न समूह वैचारिक रूपमा विभाजित देखिएका छन्।
  • क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यले राजीनामा दिएका छन्, र सीपी गजुरेल महासचिव चयन भएका छन्।
  • गृहसचिवले ७७ सीडीओलाई ११ शीर्षकमा ७ पेज लामो निर्देशन दिएका छन्।
  • विप्लव नेतृत्वको नेकपाले नोटबन्दीदेखि पार्टी एकतासम्म १७ बुँदे निर्णय गरेको छ।
  • जेनजी आन्दोलनका कारण प्रदेश सरकारहरूले खर्च कटौती सुरु गरेका छन्।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. नर्सहरूका माग पूरा गर्न सातै प्रदेशमा कार्यदल गठन

पारिश्रमिकलगायत विभिन्न माग पूरा गर्न सङ्घर्षरत नर्सहरूको समस्या समाधानका लागि सरकारले सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमेत रहेकी सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिको आइतबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो।

२. विपिनको शव भोलि नेपाल आइपुग्ने

हमासको नियन्त्रणमा रहँदा मारिएका नेपाली युवक विपिन जोशीको शव भोलि नेपाल आइपुग्ने भएको छ । जोशीको शव नेपाल पठाउनु अघि इजरायलमा उनीप्रति सम्मान प्रकट गरिएको छ ।

३. ओलीको अडान

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमबारे धारणा सार्वजनिक गर्दै अन्तरिम सरकारलाई ‘असंवैधानिक’ संज्ञा दिएका छन् । आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले निर्वाचन गराउन सरकार नै इच्छुक नदेखिएको बताए । उनले आफ्नातर्फबाट कुनै प्रकारको गलत काम नभएको अडानलाई दोहोर्याए ।

४. संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा

स्वास्थ्य मन्त्रालयको पूर्वअतिरिक्त सचिव संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी लगायत केही कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो ।

५. एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले संघका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काद्वारा महासचिव किरण राईलाई पठाइएको भनिएको स्पष्टीकरण पत्र र निलम्बन पत्र दुवै आधिकारिक नभएको जनाएको छ।

एन्फाका प्रवक्ता सुरेश शाहले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै एन्फा सचिवालयलाई ती पत्रहरू सम्बन्धी कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताएका हुन्। शाहका अनुसार ती पत्रहरूमा दर्ता–चलानी, संस्थाको आधिकारिक छाप प्रयोग भएको छैन ।

६. तिहारमा विद्युत् कमी नहुने

नेपाल विद्युत् प्राधिकरणले तिहारमा विद्युतको कमी नहुने जनाएको छ । प्राधिकरणले ग्राहकलाई मनलागे जति बत्ती बाल्न भनेको छ ।

७. टीओबी समूहका लिडर तेन्जिङको नागरिकता सम्बन्धी विवरण फेला परेन

जेनजी आन्दोलनमा ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावा लामाको नागरिकतासम्बन्धी विवरण जिल्ला प्रशासन कार्यालय काठमाडौँमा फेला नपरेको जनाइएको छ । कार्यालयले काठमाडौँ जिल्ला अदालतलाई उनको नागरिकता सम्बन्धी विवरण नभेटिएको जबाफ पठाएको हो ।

८. जेनजी समूहभित्र वैचारिक अस्पष्टता

जेनजीका विभिन्न समूह वैचारिक रूपमा विभाजित देखिएका छन् । उनीहरू आन्दोलनको जस लिन तम्सिए पनि देशलाई निकास दिने सवालमा विभाजित देखिएका छन् ।

९. मोहन वैद्यले दिए राजीनामा

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत गर्दै चन्द्रप्रकाश (सीपी) गजुरेललाई महासचिव चयन गरिएको सो पार्टीका नेता हुकुम सिंहले जनाएका छन् ।

१०. सीडीओलाई गृह सचिवको ७ पेज लामो निर्देशन

गृहसचिव रामेश्वर दंगालले ७७ ओटै प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई विभिन्न ११ शीर्षकमा ७ पेज लामो निर्देशन दिएका छन् । 

११. नोटबन्दीदेखि पार्टी एकतासम्म-विप्लवको पार्टीले गर्यो १७ बुँदे निर्णय 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको हालै सम्पन्न केन्द्रीय समिति बैठकले १७ बुँदे निर्णय गरेको छ । नोटबन्दीदेखि पार्टी एकताका सन्दर्भमा पार्टीले निर्णय गरेको हो ।

१२. प्रदेश सरकारहरू धमाधम खर्च कटौती गर्दै 

जेनजी आन्दोलनका क्रममा भौतिक संरचना लगायतमा क्षति व्यहोरेका प्रदेश सरकारहरू धमाधम खर्च कटौती गर्न थालेका छन् । गण्डकी सरकारले मर्मत गर्न मिल्ने भवनलाई मर्मत गरेरै सेवा प्रवाहको तयारी गरेको छ । गण्डकी सरकारले नयाँ गाडी नकिन्ने निर्णयसमेत गरेको छ । यस्तै कर्णाली सरकारले पनि खर्च कटौतीका लागि पहल थालेको छ ।

  • थप समाचारहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप