शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: जेनजीका मागबारे एमालेको ‘यूटर्न’, निष्कर्षमा पुग्न कांग्रेसको अलमल

सोमबार, १७ कात्तिक २०८२, २३ : ५५
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • नेकपा एमालेले जेनजीका माग जायज भएको निष्कर्ष निकाल्यो र चुनावमा जान सानेपातिर नजर लगाएको छ।
  • कांग्रेस महाधिवेशनबारे अलमलमै छ भने प्रहरीले डीआईजीमा ५ जनाको बढुवा गरेको छ।
  • दोलखामा हिमपहिरोमा ७ जनाको मृत्यु भयो र सर्वोच्चको आदेशपछि राजदूतबारे मन्त्रिपरिषद्मा छलफल भयो।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. जेनजीका मागबारे एमालेको ‘यूटर्न’

जेनजी आन्दोलनको दुई महिना पुग्न लाग्दा नेकपा एमाले बल्ल उनीहरूले उठाएका माग जायज भएको निष्कर्षमा पुगेको छ । ती माग पूरा गर्न सकिने खालको भएको एमालेको भनाइ छ ।

२. निष्कर्षमा पुग्न कांग्रेसको अलमल

नेपाली कांग्रेस आफ्नो महाधिवेशनको सन्दर्भमा अझै निष्कर्षमा पुग्न सकेको छैन । पार्टीभित्र विशेष कि नियमित महाधिवेशन भन्नेबारे बहस जारी छ । यद्यपि पार्टीले ठोस दिशा पहिल्याउन अलमल गरिरहेको छ ।

३.  डीआईजीमा पाँच जना बढुवा

नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएका छन् । बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको हो ।

४. हिमपहिरोमा ७ जनाको मृत्यु

दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा  रोल्वालिङ हिमशृङ्खला आरोहणका लागि गएका ५ विदेशीसहित ७ जनाको मृत्यु भएको छ । हिमपहिरोमा परेर उनीहरूको मृत्यु भएको हो ।

५. राजदूतबारे सर्वोच्चको अन्तरिम आदेशपछि भ्याकेटमा जानेबारे मन्त्रिपरिषद्मा छलफल

सर्वोच्च अदालतले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको भोलिपल्टै सरकारले उनीहरूलाई ३ दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन पत्राचार गरेको छ ।

६.  प्रधानमन्त्रीको १४ बुँदे निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले कर्मचारी र सुरक्षा निकायलाई १४ बुँदे निर्देशन दिएकी छन् । उनले कानुनको शासन प्रत्याभूत गर्न सबैखाले आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने क्रममा कुनै सम्झौता नगर्न निर्देशन दिएकी हुन् । 

७. कुलमानको निर्णयलाई चुनौती दिँदै अदालत गए हितेन्द्र

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य उत्प्रेषणको आदेश माग गर्दै सर्वोच्च अदालत गएका छन् । जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारका ऊर्जामन्त्री कुलमान घिसिङले प्राधिकरणबाट सरुवा गरेकोमा उक्त निर्णयलाई चुनौती दिँदै शाक्य अदालत गएका हुन् ।

८. एकता घोषणासँगै माओवादी र एकीकृत समाजवादी विभाजनतर्फ

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ८ दलबिच एकता हुने सहमति भइसकेको छ । एकता प्रक्रिया अघि बढेसँगै दुई प्रमुख दल माओवादी केन्द्र र एकीकृत समाजवादी विभाजनतर्फ अग्रसरसमेत देखिएका छन् । दुवै दलका केही नेताले एकता प्रक्रियाप्रति असहमति राखेका छन् ।

९. जेनजी आन्दोलनका ४५ सहिदको नाम सार्वजनिक

सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले ४५ जनालाई सहिद घोषणा गरेको हो । गृह मन्त्रालयले सोमबार नै सहिदहरूको सूची सार्वजनिक गरेको छ ।

१०. अशोकको संघर्ष

 करिब सात वर्ष पहिले ‘मनबिनाको धन’ गीतबाट रातारात चर्चाको शिखरमा पुगेका बालगायक अशोक दर्जी आफ्नो परिचय फराकिलो पार्दै छन्, अर्थात् गायकबाट नायक हुँदै छन् । 

कात्तिक २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘मनबिनाको धन’बाट अशोकले अभिनयमा डेब्यु गर्ने भएका हुन्, जुन उनको लागि एक अनपेक्षित तर सुन्दर यात्रा हो । फिल्म यात्रा ‘लक’ तथा ‘एक्कासि आएको सरप्राइज’ बताउने उनी आफ्नै कहानीको हिरो भएका छन्, सँगै दंग छन् ।  

११. ‘टीओबी’ समूहका लिडर तेन्जिङको डेराबाट गाँजा बरामद

जेनजी प्रदर्शनमा ‘टीओबी’को टिसर्ट लगाएर आतङ्क मच्चाएको आरोप लागेका तेन्जिङ दावा लामाको डेरा खानतलासी गर्दा प्रहरीले ‘गाँजा’ भेट्टाएको छ । प्रहरीले उनलाई असोज २६ मा पक्राउ गरेर अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

१२. गोपाल किराती नेतृत्वको मोर्चा माओवादीमा समाहित

तीन बुँदे सहमतिसँगै सोमबार गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा समाहित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप