शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
१२ बजे १२ समाचार

रातोपाटी ब्रिफिङ: यी हुन् आजका प्रमुख समाचार

बिहीबार, ११ मङ्सिर २०८२, ०० : ००
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • प्रधानमन्त्रीले सचिवालयका १४ जना सहयोगी हटाएकी छिन्।
  • विवेकशील साझा पार्टी र रास्वपाबीच एकीकरण हुने निर्णय भएको छ।
  • एमालेका नेताहरूले सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै रिट दायर गरेका छन्।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर आएका छौँ–

१. प्रधानमन्त्रीको सचिवालयबाट १४ जना आउट

प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयमा सहयोगीहरूको सङ्ख्या घटाएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयमा हाल रहेका २० जनामध्ये ६ जनामात्रै राखेर अन्य १४ जनालाई हटाउने निर्णय गरेकी हुन् । 

२. दल खोल्न होडबाजी 

दल दर्ताका लागि पूर्वप्रशासक, नागरिक अगुवा, कलाकारदेखि पत्रकारसम्म आकर्षित देखिएका छन् । पुराना दल विभाजन गरी नयाँ दर्ता गर्नेदेखि समान विचारधार भएका दलहरू मिलेर नयाँ दर्ता गरिएका समेत भेटिएका छन् । वर्षौंदेखि खोलेर पनि निर्वाचनमा भाग नलिएका दलले पनि यसपटक दर्ता गराएका छन् । 

३. जाँचबुझ आयोगको काम अन्तिम चरणमा

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका विभिन्न घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको काम अन्तिम चरणमा पुगेको छ । तीन महिनाभित्र अनुसन्धान सकेर प्रतिवेदन बुझाउने म्यान्डेट पाएको आयोगले बयान लिने काम यो साताभित्र सक्ने तयारी रहेको जनाएको छ ।

४. एमालेमा दुई नेताको शक्तिबारे जोडघटाउ सुरु

मंसिर २७ गतेदेखि सुरु हुने नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल आमनेसामने हुने निश्चित भएसँगै पार्टीभित्र दुई नेताको शक्तिबारे जोडघटाउ सुरु भएको छ । ओली हाल अध्यक्ष र पोखरेल वरिष्ठ उपाध्यक्ष छन् ।

५. कांग्रेसका कार्यवाहक सभापति खड्काको चेतावनी

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र विवाद ल्याउने प्रस्ताव ल्याउन परेमा भूमिकाबाट अलग्गिने चेतावनी दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्यजन्य कारण देखाउँदै गत असोज २८ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पिएका थिए । 

६. ‘लुकाइयो’ चार सचिवको सरुवा

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार सचिवको सरुवा गर्ने निर्णय गर्‍यो । तर, सरकारले उक्त निर्णय सार्वजनिक गरेन । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले पत्रकार सम्मेलन गरी सोमबारको मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक गरेका थिए । 

७. विवेकशील साझा र रास्वपाबिच एकीकरण हुने 

समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझा पार्टीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकीकरण गर्ने निर्णय गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले  रास्वपासँग एकीकरण गर्ने निर्णयलाई पारित गरिएको हो ।

८. एनपीएल

चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा चितवनले विराटनगर किङ्समाथि चितवन राइनोजले ४८ रनको जित निकालेको हो ।

९. नवनियुक्त मुख्य सचिव अर्यालको  पदबहाली 

नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालले पदबहाली गरेका छन् । बुधबार उनले पदबहाली गरेका हुन् । पदबहालीसँग मुख्यसचिज अर्यालले आफ्ना प्राथमिकतालाई २५ बुँदामा प्रस्तुत गरेका छन् ।

१०. एमालेको रिट सर्वोच्चमा दर्ता

नेकपा (एमाले) ले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट दर्ता बुधबार दर्ता भएको छ । एमालेका तर्फबाट नेता महेश बर्तौला र सुनिता बरालले मंगलबार पेस गरेको रिट बुधबार दर्ता भएको बर्तौलाले जानकारी दिए ।

११. पार्टी छाडेर गएकालाई फकाउने प्रयासमा उपेन्द्र र महन्थ

प्रतिनिधिसभा चुनाव आउन अब तीन महिना बाँकी छ । बुधबार निर्वाचन प्रयोजनका निर्वाचन आयोगमा दल दर्ता गराउने अन्तिम दिन थियो । सबैजसो दल चुनावमा भाग लिन तयार देखिएका छन् । चुनावका लागि गठबन्धन र ध्रुवीकरणका कुरा पनि निकै चलेका छन् ।

१२. टाइमको शीर्ष १०० तस्बिरमा नेपालका दुई वटा पनि समावेश

अमेरिकी अनलाइन पत्रिका टाइम डटकमले नेपालको दृश्य खिचिएका दुई तस्बिरलाई आफ्नो उत्कृष्ट सयभित्र समावेश गरेको छ । टाइमले यी सय तस्बिरहरूलाई सन् २०२५ को टाइमको शीर्ष १०० तस्बिरहरू भनेको छ । यी तस्बिरहरूले एक वर्षको भाव मात्र नझल्काउने, युगकै परिवर्न मानेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप