१० बजे १० समाचार : एमाले नेतृत्व चयनका लागि पुस १ मा मतदान, विधान महाधिवेशनको निर्णय उल्टाइयो
आज २०८२ मंसिर २८ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा एमाले नेतृत्व चयनका लागि पुस १ मा मतदान, विधान महाधिवेशनको निर्णय उल्टायो एमालेले, कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक, पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध सर्वोच्च पुग्यो अख्तियार, गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै कांग्रेसका पूर्वसांसद विरुद्ध मुद्दा, दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो समिति लगायत छन् ।
१. एमाले नेतृत्व चयनका लागि पुस १ मा मतदान
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदान हुने गरी ११औँ महाधिवेशनको कार्यतालिका तयार पारिएको छ । आइतबार पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
२. विधान महाधिवेशनको निर्णय उल्टायो एमालेले
नेकपा एमालेले गत भदौमा सम्पन्न विधान महाधिवेशनको निर्णयलाई जारी राष्ट्रिय महाधिवेशनमा उल्टाएको छ । पदाधिकारी संख्या घटाउने विधान महाधिवेशनको निर्णय उल्टाउँदै साविककै संख्यामा पदाधिकारी राख्ने निर्णय केन्द्रीय समिति बैठकमार्फत गरिएको छ । उक्त निर्णयलाई महाधिवेशनको बन्दसत्रमा प्रस्तावका रूपमा लगेर पास गराउने योजना छ ।
३. कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक सोमबार बस्ने जनाइएको छ ।
४.पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विशेष अदालतबाट भएको फैसलामा चित्त नबुझेको भन्दै आयोगले आइतबार पुनरावेदन निवेदन दर्ता गराएको हो ।
५. गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै कांग्रेसका पूर्वसांसद विरुद्ध मुद्दा
नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।
६. चौथो पटक मन्त्रिपरिषद् विस्तारमा पनि परराष्ट्र मन्त्रालय प्रधानमन्त्रीसँगै !
प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दासमेत परराष्ट्र मन्त्रालय आफैँसँग राखेकी छन् ।
७. एक महिनाभित्र योजना आयोगलाई पूर्णता दिनुपर्ने बाध्यतामा सरकार
राष्ट्रिय योजना आयोग नेतृत्वविहीन छ । आगामी आर्थिक वर्षको बजेट तर्जुमा प्रकृया सुरु गर्नुपर्ने समयसीमा नजिकिएसँगै एक महिनाभित्र योजना आयोगलाई पूर्णता दिनुपर्ने बाध्यता सरकारका सामु उपस्थित भएको हो ।
८. मधेसका मुख्यमन्त्रीले एमाले महाधिवेशनपछि विश्वासको मत लिने
मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले एमालेको महाधिवेशनपछि मात्र विश्वासको मत लिने भएका छन् । त्यसपछि मात्र उनले मन्त्रिपरिषदलाई पूर्णता दिने योजना बनाएका छन् ।
९. बागमतीमा सभामुख चयन र प्रदेश सभा बैठक अनिश्चित
बागमती प्रदेशमा सभामुख चयन र प्रदेश सभा बैठक आह्वान अनिश्चित बनेको छ । सत्ता साझेदार दलबिच सभामुख चयनका विषयमा हानथाप भइरहेको छ ।
१०. दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो समिति
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सञ्चारमन्त्री जगदीश खरेलको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण