बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
आज के-के हुँदैछ एमाले महाधिवेशनमा ?  [Live Updates]
LIVE UPDATES

LIVE UPDATES : आज के-के हुँदैछ एमाले महाधिवेशनमा ? [Live Updates]

सोमबार, २९ मङ्सिर २०८२, १० : ००
Live

काठमाडौँ । नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आइतबारदेखि सुरु भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज उम्मेदवारीसँग सम्बन्धित मुख्य कार्यक्रमहरू सञ्चालन हुँदैछन् ।

निर्वाचन तालिकाअनुसार भोलि (मंगलबार) बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ।

एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो भने आइतबारदेखि बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ ।  

एमाले पदाधिकारी : ओलीले छानेको टिममा अधिकांश अनुहार साविककै पदमा निरन्तर

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षबाट पदाधिकारीको नाम फाइनल गरेका छन् ।

ओली पक्षबाट अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको नाम फाइनल भएको छ । १०औँ महाधिवेशनबाट पनि अध्यक्षमा ओली र महासचिवमा पोखरेल नै चयन भएका थिए । ओलीले पार्टीको दुई मुख्य पदमा उही नामलाई यो पटक निरन्तरता दिएका हुन् ।

जारी महाधिवेशनमा ओली पक्षले उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, गुरु बराल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई अघि सारेको छ । १०औँ महाधिवेशनबाट उपाध्यक्ष पदमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र गुरु बराल चयन भएका थिए । यीमध्ये युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले ११औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् । पाण्डेले भने ओली इतर पक्षबाट महासचिव पदमा उम्मेदवारी दिने भएका छन् । बाँकी रहेका थापा, पौडेल र बराललाई ओलीले फेरि सोही पदमा निरन्तरता दिने गरी टिम छनोट गरेका हुन् ।

केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म यस्तो छ ओलीको प्यानल (सूची)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ कमिटी चयनका लागि केपी ओली समूहले आफ्नो प्यानल टुंगो लगाएको छ । 

ओली समूहले पदाधिकारीसहित केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा आयोगमा रहनेहरूको सूची टुंगो लगाएको हो । जसमध्ये सचिवको सूचीमा रहेका लेखराज भट्टलाई पछि उपमहासचिव दिइएको छ भने उपमहासचिवको सूचीमा रहेका भानुभक्त ढकाललाई सचिवको सूचीमा राखिएको छ । 

महिला कोटामा ओली प्यानलबाट रामकुमारी झाँक्री र कोमल वलीसहित ५२ जनालाई समेटियो (सूचीसहित)

काठमाडौँ । केपी शर्मा ओली प्यानलबाट केन्द्रीय समिति सदस्य (महिला)तर्फ ५२ जनाको सूची तयार गरिएको छ । जसमा रामकुमार झाँक्री र  कोमल वलीको समेत नाम छ । 

यस्तै एलिजा गौतम, भगवती चौधरी, बालिका गिरी, प्रभा कोइराला, सरिता भुसाल, निरुदेवी पाल, सिता सिग्देललगायत रहेका छन् । एमालेको केन्द्रीय कमिटी चयनका लागि मंगलबार निर्वाचन हुँदैछ । 

123

हाम्रो तर्फबाट लगभग सबैको टुंगो लागिसकेको छ : गोकर्ण विष्ट

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा ईश्वर पोखरल समूहको प्यानलले आफ्नो तर्फबाट उठ्ने पदाधिकारीको टुंगो लगाएको छ ।  सो समूहले अध्यक्षमा पोखरेल र महासचिवमा सुरेन्द्र पाण्डेलाई अघि सारेको नेता गोकर्ण विष्टले जानकारी दिए  । सो प्यानलले उपाध्यक्षम विष्टलाई अघि सारेको छ । 

त्यस्तै उपमहासचिवमा योगेश भट्टराई अघि सारिएको नेता विष्टले सञ्चारकर्मीलाई जानकारी दिए । उनले भने, हाम्रो तर्फबाट लगभग सबैको टुंगो लागिसकेको छ ।

अध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा सुरेन्द्र पाण्डेको टुंगो लगाइसकेका छौँ । म उपाध्यक्षमा छु । उपमहासचिवमा योगेश भट्टराई अघि सारेका छौँ । यो प्रतिस्पर्धामा हामी सबैलाई एकताबद्ध बनाएर जान्छौ’ 

एमाले महाधिवेशनः लेखराज भट्टलाई सचिवमा नदोहोरिन दबाब

धनगढी । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा नेतृत्व चयनको विषय पेचिलो बन्दै गएको छ । विशेषगरी पूर्वमाओवादी खेमाबाट एमालेमा समाहित भएको समूहले सचिव लेखराज भट्टलाई पुरानै पदमा नदोहोरिन चर्को दबाब दिएको छ ।

स्रोतका अनुसार सो समूहका ४२ जना केन्द्रीय सदस्यको विशेष बैठकले भट्टलाई आगामी कार्यकालका लागि साविकको पदबाट माथिल्लो तह वा उपाध्यक्षमा दाबी गर्नुपर्ने निष्कर्ष निकालेको छ । उनीहरूले भट्टलाई सचिव पदमै चित्त नबुझाउन दबाब बढाएका हुन् । स्रोतका अनुसार, ४२ जना केन्द्रीय सदस्यले भट्टलाई सचिवभन्दा माथिल्लो पदमा प्रतिस्पर्धा गर्न सुझाएका हुन् ।

यद्यपि अध्यक्ष केपी शर्मा ओलीको टिममा भट्टलाई सचिव पदकै उम्मेदवारका रूपमा राखिएको छ । भट्टले सचिवमै दोहो¥याउन खोजिएकोमा असहमति जनाइसकेका छन् ।

ओलीले टुंगो लगाए पदाधिकारीको टीम, दुई जनाको असन्तुष्टि

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन अघि तेस्रो पटक  अध्यक्ष बन्ने धुनमा रहेका केपी शर्मा ओलीले आफ्नो प्यानलबाट पदाधिकारी लड्ने नेताहरुको नाम टुङ्गो लगाएका छन्। 

स्रोतका अनुसार अध्यक्ष ओलीले तयार पारेको सूचीमा उनीपक्षीय दुई नेताले भने असन्तुष्टि व्यक्त गरेका छन्। नेताहरु नेता प्रदीप ज्ञवाली र लेखराज भट्टले असन्तुष्टि जनाएका हुन् । 

स्रोतका अनुसार, प्रदीप ज्ञवालीलाई उपाध्यक्षको सूचीमा राखिए पनि उनले महासचिवमा दाबी छोडेका छैनन्। महासचिव नपाए केन्द्रीय सदस्यमा मात्र उठ्ने चेतावनी उनले दिएका छन्। त्यस्तै, सचिवको सूचीमा राखिएका लेखराज भट्टले आफू सचिवमा नलड्ने र उपमहासचिव पाउनुपर्ने अडान राखेका छन्।

भृकुटीमण्डपमा रामकुमारी झाँक्री : ‘मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु’

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रतिनिधिहरूसँगको भेटघाटमा आफूले विगतको गल्ती स्वीकार गर्दै मत मागिरहेको बताएकी छन् । एमालेबाट विद्रोह गरेर तत्कालीन एकीकृत समाजवादीमा लागेकी उनी केहीअघि मात्रै पुरानै घर फर्किएकी थिइन् । 

पत्रकारको यो प्रश्न भुइँमा खस्न नपाउँदै झाँक्रीले हाँस्दै जवाफ दिइन्, ‘मैले भन्ने कुरा जम्मै तपाईंले सिकाइदिनुभयो, अस्तिदेखि त्यही भनिरहेकी छु ।’

अहिले महाधिवेशन स्थलमा उनी प्रतिनिधिहरूसँग बाक्लो भेटघाट र छलफलमा व्यस्त छिन् ।

ओलीको टीमबाट को नेता कुन पदमा उम्मेदवार ?

काठमाडौं । राजधानीमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ । महाधिवेशनको सरगर्मी बढिरहँदा अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिन लागेका छन् ।

ओलीको टीमबाट पदाधिकारीमा उठ्ने नेताहरूको मोटामोटी खाका तयार भएको एक नेताले बताए । जसअनुसार ओली समूहबाट महासचिवमा शंकर पोखरेललाई नै अघि सार्ने तयारी गरेको छ । पोखरेललाई पुनः महासचिवको उम्मेदवार बनाउने गरी ओली निवास गुण्डुमा मोटामोटी समझदारी बनेको एक नेताले बताए । 

यसैगरी उपाध्यक्ष पदमा रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने तय भएको छ । 

३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण

काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। सहमतिको प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको छ । सोमबार बिहान मनोनयन दर्ताका लागि फाराम वितरण हुँदा आकाङ्क्षीहरूको संख्या अत्यधिक देखिएको छ।

एमाले महाधिवेशन प्रचार कमिटीका सदस्य चेतन अधिकारीका अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटी (पदाधिकारी सहित) का लागि १४ सय भन्दा बढी मनोनयन फारम वितरण भइसकेको छ। फारम वितरण र दर्ताका लागि आज दिउँसो साढे १ बजेसम्मको समय तोकिएको छ।

 महाधिवेशन स्थलमा भृकुटीमण्डपमा कार्यकर्ता तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ भने निर्वाचन आयोगले आफ्नो तयारी तीव्र पारेको छ।

उम्मेदवारको नाम टुङ्ग्याउन ओली पक्षीय नेताहरूको गुन्डुमा जमघट

काठमाडौँ । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पक्षबाट पदाधिकारीका उम्मेदवारहरू टुङ्गो लगाउन सकस देखिएको छ ।  सीमित पदमा धेरै आकाङ्क्षी देखिएसँगै ओलीले हालसम्म आफ्नो पक्षबाट नाम सार्वजनिक गर्न सकेका छैनन् ।

अध्यक्षमा आफूले उम्मेदवारी दिने टुङ्गो लागे पनि उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायत पदमा कसले उम्मेदवारी दिने भन्ने स्पष्ट भएको छैन । नाम टुङ्ग्याउन हाल अध्यक्ष ओलीसहित उनी पक्षका नेताहरू सोमबार बिहानदेखि निजी निवास गुन्डुमा छलफलमा जुटेका छन् । ‘छलफलपछि उम्मेदवारको नाम फाइनल हुनेछ,’ एक नेताले भने ।

निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज उम्मेदवारीसँग सम्बन्धित मुख्य कार्यक्रमहरू सञ्चालन हुँदैछन् । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाद्वारा जारी कार्यतालिका अनुसार आज बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। त्यस लगत्तै बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

परशुराम मेघी गुरुङले उपाध्यक्षमा उम्मेदवारी दिने

काठमाडौँ । नेकपा एमालेका नेता परशुराम मेघी गुरुङले पार्टीको जारी ११ औँ महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । उम्मेदवार मनोनयन पत्र लिँदै गुरुङले उम्मेदवारीबारे जानकारी दिएका हुन् ।

उनी ईश्वर पोखरेल पक्षबाट उपाध्यक्षको उम्मेदवार बन्ने छन् । ईश्वर समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार बन्ने निश्चित भएको छ भने उपाध्यक्षमा गोकर्ण विष्टको नाम पनि निश्चित भएको छ ।

पाँच उपाध्यक्षमा विष्ट र गुरुङसँगै बिन्दा पाण्डे, अरुण नेपालको लगभग टुङ्गिए पनि फाइनल हुन बाँकी रहेको बताइएको छ । त्यस्तै उपमहासचिवमा योगेश भट्टराईको नाम कन्फर्म भएको छ ।

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा नेताहरू

काठमाडौँ । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय सदस्यमा इन्ट्री गर्दैछन् । यी चर्चित अनुहार प्रतिनिधि नभएकोले केही दिन अघिसम्म संशयमा थिए तर प्रतिनिधि मनोनयनमा परेपछि उनीहरू उत्साहित भएका छन् ।

केन्द्रीय कमिटीमा इन्ट्री हुन लागेका एमालेका चर्चित युवा नेतामध्ये एक हुन् सुनिता डङ्गोल हुन् । काठमाडौँ महानगरकी उपमेयर डङ्गोल स्पष्ट वक्ता तथा मोटिभेसन स्पिकर पनि  हुन् । 

महानगरमा मेयर बालेनसँगको द्वन्द्वमा कहिले पार्टीको पक्षमा कहिले सँगै भिडेरै र कहिले समन्वय गरेर पार्टी भित्र आफ्नो स्पेस बनाइरहेकी छिन् । हिजो महाधिवेशन प्रतिनिधि मनोनयनमा परेपछि केन्द्रीय सदस्य हुने उनको बाटो खुलेको छ । 

ईश्वर समूहबाट यी हुन सक्छन् उपाध्यक्ष र सचिवका उम्मेदवार

काठमाडौँ। नेकपा (एमाले) को ११औँ महाधिवेशनमा संस्थापन अर्थात् केपी शर्मा ओली पक्षलाई आफ्नो प्यानल सार्वजनिक गर्न कठिन भइरहेका बेला ईश्वर पोखरेल पक्षले भने आफ्नो प्यानलका पदाधिकारी धमाधम टुङ्गो लगाउन थालेको छ।

नेताहरूका अनुसार ईश्वर समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार बन्ने निश्चित भएको छ भने उपाध्यक्षमा गोकर्ण विष्टको पनि निश्चित भएको छ। उपमहासचिवमा योगेश भट्टराईको नाम कन्फर्म भएको छ।

त्यस्तै पाँच उपाध्यक्षमा विष्टबाहेक परशुमेघी गुरुङ, बिन्दा पाण्डे, अरुण नेपालको लगभग टुङ्गिए पनि फाइनल हुन बाँकी रहेको बताइएको छ। पोखरेल समूहबाट सचिवमा ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, इन्द्रलाल सापकोटा र रचना खड्काको नाम फाइनल गर्ने तयारी भएको छ।

ईश्वर समूहबाट तीन जनाको नाम टुंगियोः महासचिवको उम्मेदवार पाण्डेलाई बनाउने निर्णय

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेको बेला ईश्वर पोखरेल समूहले प्यानल सार्वजनिक गर्न थालेको छ । 

पोखरेल समूहले महासचिवमा सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको एक नेताले बताए । 

अन्य पदका उम्मेदवार पनि टुंगो लगाउन छलफल चलिरहेको ती नेताको भनाइ छ । 

नेकपा एमालेको नेतृत्व चयनमा आज उम्मेदवारी मनोनयन, भोलि मतदान

काठमाडौँ ।  नेकपा एमालेको जारी ११औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र आज बिहान ८ बजेबाट भृकुटीमण्डपमा सुरु हुँदैछ । पार्टीको  निर्वाचन आयोगले हिजोसाँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी बिरोधको समय राखिएको छ । 

 आयोगका प्रमुख बिजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर भोलि मतदान गर्ने तयारी छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी बिरोधको छानबिन बिहान १० बजेसम्ममा सकिने छ । १०.१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । 

 आयोगले बिहान ९ बजे देखि १२ बजेसम्म नै उम्मेदवारीको फारम वितरण गर्दैछ । ‘मतदाता नामावलीको दाबी विरोधमा छानबिन हुँदै गर्छ । उम्मेदवारीको फारम पनि वितरण गर्दैगर्छौं’ सुब्बाले भने, ‘उम्मेदवारी दर्ता बिहान १०.३० देखि दिउसो १.३० बजेसम्ममा सकिनेछ । ’ उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउसो २.३० बजे हुनेछ । उम्मेदवारका विरुद्ध उजुरी दिने समय २.३० देखि  आधा घण्टालाई राखिएको छ । उम्मेदवार विरुद्धको छानबिन १० मिनेटमै सक्ने आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ । 

एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्म

काठमाडौँ। नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आइतबारदेखि सुरु भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज उम्मेदवारीसँग सम्बन्धित मुख्य कार्यक्रमहरू सञ्चालन हुँदैछन् ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाद्वारा जारी कार्यतालिका अनुसार आज बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। त्यस लगत्तै बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

दरखास्त दर्ता सकिएपछि दिउँसो २ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । प्रारम्भिक नामावली सार्वजनिक भएपछि उम्मेदवारविरुद्ध उजुरी दिने समय दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म तोकिएको छ । सबै प्रक्रिया पूरा भएपछि आजै साँझ ६ः०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

महाधिवेशनको निर्णय र छलफललाई अभिलेखीकरण गर्न माइन्युट कमिटी गठन

काठमाडौँ । नेकपा (एमाले) ले ११औँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ ।

महाधिवेशनअन्तर्गत गठन गरिएको उक्त समितिको संयोजकमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ रहेका छन् । समितिमा सूर्यबहादुर थापा क्षेत्री, ज्वालाकुमारी साह, ईश्वरी रिजाल, लीला भण्डारी, विष्णु रिजाल र नीरज आचार्य सदस्य रहेका छन् ।

महाधिवेशनका क्रममा प्रस्तुत प्रस्ताव, छलफल, निर्णय र निष्कर्षहरूलाई व्यवस्थित रूपमा अभिलेख राख्ने जिम्मेवारी उक्त समितिलाई दिइएको छ ।

जेनजी घटनामा तत्कालीन प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ भन्ने तर्कमा नबहकिऔँ : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा भएका घटनाको तत्कालीन प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ भन्ने खालका तर्कहरुमा पार्टीका नेताहरु बहकिन नहुने बताएका छन् ।

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको आजदेखि सुरु भएको बन्दसत्रमा सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । 

अध्यक्ष ओलीले राष्ट्रिय राजनीति, विकास र समृद्धिका पक्षमा पार्टी एक लय र सुरका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिए। 

विधानमाथि ओलीको पश्चगमन

काठमाडौँ । भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा भएको नेकपा एमालेको दोस्रो विधान महाअधिवेशनले अनुमोदन गरेको विधान तीन महिनामै संशोधन भयो । एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आइतबार भृकुटीमण्डपमा बसेको पार्टीको अन्तिम केन्द्रीय समिति बैठकले विधान महाधिवेशनले अनुमोदन गरेको विधानलाई संशोधन गर्ने निर्णय गर्‍यो ।

बैठकमा १९ जना पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय समिति बनाउने अध्यक्ष केपी ओलीले गरेको प्रस्ताव बहुमतले अनुमोदन भएको थियो । पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने प्रस्तावप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका नेताहरूले आपत्ति जनाएका थिए । विधान महाधिवेशनले १५ जना पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय समिति बनाउने क्रान्तिकारी प्रस्ताव महाधिवेशन हलले अनुमोदन गरेको थियो । 

तर महाधिवेशनको निर्णयलाई उल्टाउने गरी केन्द्रीय समिति बैठकले प्रस्ताव महाधिवेशनमा हलमा टेबुल भएकोमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले तीव्र असन्तुष्टि पोखे । विधान महाधिवेशन अगाडि संख्या घटाऔं भन्ने अहिले फेरि कोटाका नाममा त्यहि संख्या बढाऔं भन्नु सरासरी मनपरी होइन भनेर नेतृत्वप्रति उनले गम्भीर प्रश्न उठाएका छन् ।

एमालेकाे निर्वाचन तालिका सार्वजनिक, मतदान पुस १ मा (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ । यसैबिच नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको निर्वाचन तालिका सार्वजनिक गरेको हो । 

आज बेलुकी ७ बजे मतदाता नामावली प्रकाशन गरिने छ । यस्तै सोमबार बिहान साढे १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले बताए ।

एमालेले छुट्यायो युवालाई पाँच प्रतिशत क्लस्टर

काठमाडौँ । नेकपा एमालेले ११औँ महाधिवेशनमा युवालाई पाँच प्रतिशत अर्थात् १५ जनाको कोटा छुट्याएको छ । एमालेले आइतबार सार्वजनिक गरेको समावेशी क्लस्टरमा युवालाई जम्मा पाँच प्रतिशत कोटा छुट्याएको हो ।

बिहान बसेको केन्द्रीय समिति बैठकमा ईश्वर पोखरेल पक्षका नेताहरूले कम्तीमा १५ प्रतिशत युवा प्रतिनिधित्व हुनुपर्ने माग गरेका थिए ।

युवालाई छुट्याएको क्लस्टर अनुसार भूगोल र गैर भूगोल गरी हरेक प्रदेशबाट एक/एक जना रहेका छन् । यसैगरी खुलातर्फ २ जना, जनजाति/आदिवासीतर्फ २ जना, मधेसीतर्फ २ जना, दलिततर्फ एक गरी १५ जना कोटा छुट्याइएको छ । 

युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य जारी महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने भएका छन् । नयाँलाई अवसर दिने भन्दै उनीहरू प्रतिस्पर्धाबाट पछि हटेका हुन् । 

जारी केन्द्रीय कमिटी बैठकमा उनीहरुले यस्तो घोषणा गरेका हुन् । उनीहरू दुवै जना ईश्वर पोखरेल पक्षमा खुलेर लाग्दै आएका छन् । 

केन्द्रीय कमिटी बैठक अहिले जारी छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी सङ्ख्या बढाएर १९ सदस्सीय बनाउने प्रस्ताव अघि सारेका छन् । तर ओलीको यो प्रस्तावलाई ईश्वर पक्षको अस्वीकार गर्दै आएको छ । 

एमालेमा यसरी निर्वाचित हुँदैछन् ३०१ जना केन्द्रीय सदस्य

काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशनमार्फत ३०१ केन्द्रीय सदस्य निर्वाचित हुने भएका छन् । 

एमालेले निर्माण गरेको संरचना अनुसार ३०१ जनाबाटै १९ पदाधिकारी पनि निर्वाचित हुनेछन् । जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना हुनेछन् ।

त्यस्तै प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट नौ जनाका दरले ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

एमालेको विधानमा ‘मनपरीतन्त्र’ : के पार्टी विधानहरू अस्थायी हुन् ?

काठमाडौँ । विधान महाधिवेशनले पारित गरेको पार्टीको विधान ३ महिना नबित्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू अनुकूल संशोधन गरेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले चर्को असन्तुष्टि जनाएको छ । यो निर्णयले एमालेको विधान महाधिवेशनको औचित्यमाथि मात्र होइन, यसैगरी राजनीतिक पार्टीहरूका विधान नेताले आफू अनुकूल संशोधन गर्दै जाने हो त ? भन्ने गम्भीर प्रश्न उठ्न पुगेको छ ।

महाधिवेशनको दोस्रो दिन आइतबार महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्षले आफू निकटका नेताहरूमार्फत एजेन्डा प्रवेश गराएर विधान संशोधन गराएको असन्तुष्ट पक्षको आरोप छ ।

विधान संशोधन प्रस्तावप्रति एमाले नेताहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईले विरोध गरेका थिए ।

ईश्वर पोखरेलले राखे छुट्टै अवधारणापत्र

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा जारी बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो अवधारणापत्र राखेका छन् ।

बन्द सत्रको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले धारणा राखेपछि नेता पोखरेललाई बोल्न समय दिइएको थियो । पोखरेलले बन्द सत्रमा यसअघि सार्वजनिक भएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको अवधारणा पत्र वाचन गरेका हुन् ।

शुक्रबार बसेको सचिवालय बैठकले पोखरेललाई आफ्नो पालोमा अवधारणापत्र राख्न दिने सहमति भएको थियो । पोखरेलको अवधारणा पत्रमा पार्टीको लोकतान्त्रिकरण माथि प्रश्न उठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया