वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामा ठूलो स्तरको सैन्य हमला गरिएको र त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको सनसनीपूर्ण दाबी गरेका छन्।
शनिबार बिहान सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत सन्देश दिँदै ट्रम्पले अमेरिकी सुरक्षा निकायको सहयोगमा गरिएको विशेष कारबाहीका क्रममा मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी देश बाहिर लगिएको उल्लेख गरेका छन्। ट्रम्पले यस अपरेशनलाई ‘अत्यन्त सफल’ भन्दै यसबारे थप जानकारी दिन फ्लोरिडास्थित आफ्नो निवास मार–ए–लागोमा पत्रकार सम्मेलन गर्ने बताएका छन्।
यसअघि भेनेजुएलाको राजधानी काराकाससहित विभिन्न सहरहरूमा शनिबार बिहानैदेखि भीषण विस्फोट र कम उचाइमा उडेका विमानहरूको आवाज सुनिएको थियो। ला कार्लोटा सैन्य विमानस्थल लगायतका रणनीतिक क्षेत्रहरूमा हमला भएको र धेरै स्थानमा बिजुली आपूर्ति बन्द भएको बताइएको छ। भेनेजुएला सरकारले यसलाई 'गम्भीर सैन्य आक्रामकता' भन्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष निन्दा गरेको छ। साथै, राष्ट्रपति मादुरो र प्रथम महिलाको अवस्थाबारे तत्काल ’प्रमाण’ दिन समेत अमेरिकालाई माग गरेको छ।
अमेरिकी सेनाको विशेष दस्ता 'डेल्टा फोर्स' ले यो कारबाही गरेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्। भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर पाड्रिनोले विदेशी सेनाको उपस्थितिको सशक्त प्रतिरोध गर्ने घोषणा गर्दै नागरिकहरूलाई सडकमा उत्रन आह्वान गरेका छन्। अमेरिकाले लामो समयदेखि मादुरोमाथि लागुऔषध तस्करीको आरोप लगाउँदै उनको पक्राउका लागि ५ करोड डलरको पुरस्कार समेत घोषणा गरेको थियो। यो घटनाले दक्षिण अमेरिकी क्षेत्रमा ठूलो राजनीतिक उथलपुथल र तनाव पैदा गरेको छ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले संयुक्त राज्य अमेरिकाको ट्रम्प प्रशासनले सार्वभौम राज्य भेनेजुएलाविरुद्ध गरेको आक्रमणको भर्त्सना गरेको छ ।
पार्टीले शनिबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सरकारको कदम भेनेजुएलाका आमजनताको आत्मनिर्णयको अधिकारविरुद्ध रहेको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सरकारको यो कदम सार्वभौम सम्पन्न भेनेजुएलाका आमजनताको आत्मनिर्णयको अधिकारको बिलकुलै विपरीत छ।’
सार्वजनिक अन्तर्राष्ट्रिय कानुनविरुद्ध गरिएको यस कार्यप्रति आपत्ति जनाउँदै पार्टीले नेपाल सरकारलाई पनि उक्त कदमविरुद्ध आवाज उठाउन आग्रह गरेको छ । साथै, भेनेजुएलाका सार्वभौमसत्ता सम्पन्न आमजनताप्रति दृढ ऐक्यबद्धता व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ, ‘बाह्य दबाब र हस्तक्षेपविना आफ्नै राजनीतिक, आर्थिक र सामाजिक भविष्य निर्धारण गर्ने पूर्ण अधिकार छ। प्रगतिशील लोकतान्त्रिक पार्टी साम्राज्यवादविरुद्ध उभिएका र लोकतन्त्र, स्वाधीनता तथा सामाजिक न्यायका लागि संघर्षरत सबै जनताको पक्षमा दृढतापूर्वक उभिनेछ ।’
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी सैन्य जहाजमा रहेको दाबी गर्दै एक तस्बिर सार्वजनिक गरेका छन् । ट्रम्पले उक्त तस्बिर सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा साझा गरेका हुन् ।
तस्बिरमा मादुरोजस्तै देखिने व्यक्ति आँखामा मास्क र कानमा हेडफोन लगाएर खैरो रंगको ट्र्याकसुटमा देखिन्छ । यसअघि ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा मादुरोलाई यही जहाजमार्फत अमेरिका ल्याइँदै गरेको बताएका थिए ।
यसैबिच, बीबीसीले स्रोतलाई उद्धृत गर्दै मादुरोलाई बोकेको अमेरिकी सैन्य विमान आजै न्यूयोर्कको स्टुअर्ट विमानस्थलमा अवतरण गर्ने अपेक्षा गरिएको छ । यो विमानस्थल न्यूयोर्क राज्यको अरेन्ज काउन्टीमा पर्छ र म्यानहट्टनबाट करिब ६० माइल उत्तरमा अवस्थित छ ।
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलामा आक्रमणपछि अमेरिकी सेनाले त्यहाँका राष्ट्रपति मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लगिएको बताएका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मदुरोलाई उहाँकी पत्नीसहित पक्राउ गरिएको छ र देश बाहिर लगिएको छ । यो कारबाही अमेरिकी कानून प्रवर्तनसँग मिलेर गरिएको थियो। थप विवरणहरू पछि प्राप्त हुनेछन् ।’
त्यस्तै, ट्रम्पले फक्स न्यूज टिभीमा बोल्दै राष्ट्रपति मादुरोलाई एक हप्ताअघि ‘आत्मसमर्पण’ गर्न भनिएको समेत बताएका छन् । ट्रम्पले मादुरोसँग आफूले कुरा गरेको बताउँदै त्यसबेला उनलाई ‘तपाईंले हार मान्नुपर्नेछ, तपाईंले आत्मसमर्पण गर्नुपर्नेछ’ भनेर सम्झाएको समेत बताएका छन् ।
भेनेजुएला । काराकसलगायतका क्षेत्रमा अमेरिकी आक्रमणपछि भेनेजुएलाले यसबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको छ ।
भेनेजुएलाका विदेशमन्त्री इभान गिलले अन्तर्राष्ट्रिय कानुनको सम्मान सबैले गर्नुपर्ने भन्दै यसका लागि तत्काल सुरक्षा परिषद्को बैठक बोलाउन माग गरेका छन् ।
भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकी सेनाको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै काराकासमा भएको आक्रमणको उद्देश्य आफ्नो देशको स्रोतसाधन कब्जा गर्ने अमेरिकी रणनीति बताएका थिए ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सार्वभौम मुलुक भेनेजुएलामाथि अमेरिकाले गरेको 'विनाशकारी सैन्य हमला'को कडा निन्दा गरेको छ ।
पार्टीले अमेरिकाको यस कार्यलाई 'साम्राज्यवादी–सैन्यवादी हस्तक्षेप'को संज्ञा दिँदै तत्काल आक्रमण रोक्न माग गरेको छ ।
पार्टीका महासचिव विप्लवले शनिबार जारी गरेको प्रेस वक्तव्यमा अमेरिकाले भेनेजुएलामाथि लागुपदार्थ ओसारपसारको झूटा आरोप लगाएर सैन्य हमला गरेको उल्लेख छ, जसले विश्वलाई स्तब्ध बनाएको छ । वक्तव्यमा भनिएको छ– हामी यो विध्वंसात्मक र अतिक्रमणकारी हमलाको घोर भर्त्सना गर्दछौँ ।'
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले भेनेजुएलाको आन्तरिक राजनीतिक मामिलामा सैन्य बल प्रयोग गरी राष्ट्रपतिलाई नै देशबाहिर पुर्याइएको घटनाप्रति गम्भीर र चिन्ताजनक विषय भन्दै भर्त्सना गरेका छन् ।
यस्तो कदमले सार्वभौमिकता, जनताको जनादेश, अन्तर्राष्ट्रिय सुरक्षा र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रश्न उठाएको उनको भनाइ छ ।
शर्माले शनिबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, 'यस्तो कदमले न केवल त्यस देशको सार्वभौमिकता र जनताको जनादेशमाथि प्रश्न उठाएको छ, बरु अन्तर्राष्ट्रिय सुरक्षा, लोकतान्त्रिक मूल्य र राज्यहरूबिचको मर्यादालाई समेत जोखिममा पारेको छ, यो कार्य भत्सर्नायोग्य छ ।'
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला र त्यहाँका राष्ट्रपति निकोलस मादुरोविरुद्ध ठूलो परिमाणमा आक्रमण गरेको बताएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै ट्रम्पले यो अपरेसनपछि मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको दाबी गरेका छन्।
उनले यो कारबाही अमेरिकी कानुन कार्यान्वयन गर्ने निकायसँगको समन्वयमा भएको बताए पनि यसको विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन्। शनिबार बिहानै अमेरिकाले भेनेजुएला भित्र आक्रमण गरेको थियो, जसको डर त्यहाँका नागरिकमा हप्तौँदेखि थियो।
फक्स न्युज र सीबीएस न्युजजस्ता अमेरिकी मिडियाले पनि दक्षिण अमेरिकी मुलुकमा आक्रमण भएको पुष्टि गरेका थिए। अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डाउले सामाजिक सञ्जाल एक्समा लेख्दै यसलाई भेनेजुएलाका लागि ‘नयाँ बिहानी’ को संज्ञा दिएका छन्। उनले तानाशाह सत्ताबाट हटेको र अब उसले आफ्ना अपराधको सजाय भोग्ने बताएका छन्।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र त्यहाँका राष्ट्रपति निकोलस मादुरोको अपहरणलाई अन्तर्राष्ट्रिय कानुनको भद्दा उल्लङ्घन भएको बताएका छन्। संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रमाथि भएको यस प्रकारको नाङ्गो हस्तक्षेपले विश्व स्थापित अन्तर्राष्ट्रिय प्रणालीलाई चुनौती दिएको उनको ठहर छ।
भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकी कदमको सबै सार्वभौम राष्ट्र र विश्व जनसमुदायले कडा शब्दमा विरोध गर्नुपर्नेमा जोड दिएका छन्। अमेरिकाको यो व्यवहारलाई उनले ‘जसको लाठी उसको भैँसी’ प्रवृत्तिका रूपमा चित्रण गर्दै यस्तो दादागिरीलाई बेलैमा रोक्न नसके विश्वभर नै गम्भीर अनिष्ट आउन सक्ने चेतावनी दिएका छन्।
भेनेजुएलाको आन्तरिक राजनीतिक मामलामा सैन्य बल प्रयोग गरेर राष्ट्रपतिलाई नै देश बाहिर पुर्याउनुले अन्तर्राष्ट्रिय सुरक्षा र मर्यादालाई जोखिममा पारेको भट्टराईको विश्लेषण छ।
काराकास । अमेरिकी सेनाको डेल्टा फोर्सले भेनेजुएलाको राजधानीमै घुसेर राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको भन्ने दाबी यदि सत्य हो भने, यो घटना विश्व राजनीतिका लागि बिल्कुलै नौलो परिदृश्य हो।
यसलाई सन् १९८९ मा पानामाका नेता म्यानुएल नोरिएगालाई अमेरिकी विशेष फौजले पक्राउ गरेको घटनासँग तुलना गर्न सकिन्छ। मादुरो र नोरिएगा दुवैले हालसालैका विवादास्पद चुनावमा जितको दाबी गरेका थिए, दुवैमाथि अमेरिकाले लागुऔषध ओसारपसारमा संलग्न भएको आरोप लगाएको थियो र दुवै घटनाअघि अमेरिकी सैन्य गतिविधि बढेको थियो।
तथापि, नोरिएगाको पक्राउ दुई देशबिचको छोटो तर निर्णायक युद्धपछि मात्र सम्भव भएको थियो, जसमा पानामाको सेना छिट्टै पराजित भएको थियो। नोरिएगा भ्याटिकन दूतावासमा ११ दिनसम्म लुकेका थिए र अमेरिकी सेनाले चर्को आवाजमा रक संगीत बजाएर ‘मनोवैज्ञानिक युद्ध’ गरेपछि मात्र उनले आत्मसमर्पण गरेका थिए।
वासिङ्टन डिसी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी हिरासतमा परेपछि अब त्यहाँ थप सैन्य कारबाहीको आवश्यकता नरहेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्पष्ट पारेका छन्।
रिपब्लिकन सिनेटर माइक लीले विदेशमन्त्री रुबियोसँगको टेलिफोन संवादपछि यस कुराको पुष्टि गरेका हुन्। मादुरो अहिले अमेरिकी सुरक्षा निकायको नियन्त्रणमा आइसकेकाले भेनेजुएलामा अब अरू कुनै सैन्य एक्सन नहुने रुबियोको प्रक्षेपण रहेको लीले बताएका छन्।
सिनेटर लीका अनुसार भेनेजुएलामा गरिएका अमेरिकी हवाई हमलाहरू राष्ट्रपति मादुरोविरुद्ध जारी गरिएको गिरफ्तारी पुर्जी कार्यान्वयन गर्ने टोलीको सुरक्षा र बचाउका लागि मात्र केन्द्रित थिए।
काराकास । भेनेजुएलाकी उपराष्ट्रपति डेलसी रोड्रिगेजले राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सिलिया फ्लोरेसको अवस्थाबारे सरकारलाई कुनै जानकारी नभएको बताएकी छिन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिबार बिहानै भेनेजुएलामाथि ‘ठूलो स्तरको आक्रमण’ गरी मादुरो दम्पतीलाई पक्राउ गरेर देश बाहिर लगिएको दाबी गरेपछि उपराष्ट्रपतिको यस्तो भनाइ आएको हो।
सरकारी टेलिभिजन भीटीभीसँगको कुराकानीमा रोड्रिगेजले राष्ट्रपति र प्रथम महिलाको अवस्थाबारे तत्काल ’प्रमाण’ दिन अमेरिकालाई माग गरेकी छिन्।उपराष्ट्रपति रोड्रिगेजले अमेरिकी हमलाका कारण देशका विभिन्न भागमा सरकारी अधिकारी, सैन्य कर्मचारी र सर्वसाधारणले ज्यान गुमाएको जानकारी दिएकी छिन्।
उनले यस आक्रमणलाई सार्वभौम मुलुकमाथिको नाङ्गो हस्तक्षेप भन्दै कडा आपत्ति जनाएकी छिन्। भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर पाड्रिनोले पनि एक भिडियो सन्देश जारी गर्दै विदेशी सेनाको उपस्थितिलाई कुनै पनि हालतमा स्वीकार नगर्ने र त्यसको सशक्त प्रतिरोध गर्ने घोषणा गरेका छन्।
बोगोटा । भेनेजुएलामा भएका शृंखलाबद्ध आक्रमण र अमेरिकासँगको बढ्दो तनावका बिच छिमेकी मुलुक कोलम्बियाले संयुक्त राष्ट्रसंघ र अमेरिकी राज्यहरूको संगठन (ओएएस) लाई हस्तक्षेप गर्न आग्रह गरेको छ। कोलम्बियाको बोगोटाबाट अल जजिराका संवाददाताले जनाएअनुसार यो घटना कोलम्बियाका लागि निकै संवेदनशील बनेको छ।
लामो र खुला सीमा जोडिएको कोलम्बियामा पहिले नै करिब ३० लाख भेनेजुएलाली आप्रवासीहरू आश्रित छन्। सीमा क्षेत्रमा नेसनल लिबरेसन आर्मी (ईएलएन) जस्ता विद्रोही समूहहरू वर्षौँदेखि सक्रिय रहेकाले सुरक्षा चुनौती थपिएको छ।
यसैलाई मध्यनजर गर्दै कोलम्बियाको रक्षा मन्त्रालयले भेनेजुएलासँग जोडिएको मुख्य सहर कुकुटामा मानवीय सहायताका लागि एकीकृत कमान्ड पोस्ट सक्रिय बनाएको छ। यो योजना आप्रवासीहरूलाई आवश्यक सहयोग प्रदान गर्न र ईएलएनलगायतका अवैध समूहहरूबाट हुन सक्ने सम्भावित आक्रमण रोक्न सुरक्षा फौजलाई उच्च सतर्कतामा राख्नका लागि लागू गरिएको हो।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि ठूलो स्तरको सैन्य हमला गरिएको र त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा एक सन्देश लेख्दै ट्रम्पले अमेरिकी सुरक्षा निकायको सहयोगमा गरिएको विशेष अपरेशनका क्रममा मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देश बाहिर लगिएको उल्लेख गरेका छन्। यसबारे थप जानकारी दिन उनले फ्लोरिडास्थित मार–ए–लागोमा पत्रकार सम्मेलन गर्ने समेत बताएका छन्।
यसअघि भेनेजुएलाको राजधानी काराकास र वरपरका क्षेत्रमा शनिबार बिहानैदेखि भीषण विस्फोट र कम उचाइमा उडेका विमानहरूको आवाज सुनिएको थियो। भेनेजुएला सरकारले विज्ञप्ति जारी गर्दै अमेरिकाले आफ्नो भूभागमा ‘गम्भीर सैन्य आक्रामकता’ देखाएको र काराकाससहितका विभिन्न राज्यमा हमला गरेको पुष्टि गरेको छ। भेनेजुएलाले यसलाई देशको तेल र खनिज स्रोत कब्जा गर्ने उद्देश्यले गरिएको साम्राज्यवादी आक्रमणको संज्ञा दिएको छ।
काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले राष्ट्रिय संकटकाल घोषणा गरेका छन्।
भेनेजुएला सरकारले आधिकारिक विज्ञप्ति जारी गर्दै आफ्नो भूभागमा अमेरिकाले गम्भीर सैन्य आक्रमण गरेको भन्दै त्यसको कडा शब्दमा निन्दा र भत्सर्ना गरेको छ। राजधानी काराकासमा भएका हवाई हमलाहरू भेनेजुएलाको तेल र खनिज लगायतका रणनीतिक स्रोतहरू कब्जा गर्ने उद्देश्यले प्रेरित रहेको सरकारको दाबी छ।
राष्ट्रपति मादुरोले ‘बाह्य अशान्ति’ को अवस्थालाई मध्यनजर गर्दै राज्यको विशेष आदेशमा हस्ताक्षर गरी तत्काल लागू गर्न निर्देशन दिएका छन्। भेनेजुएलाले अन्तर्राष्ट्रिय समुदायसमक्ष अमेरिकाको यस कदमलाई ‘अत्यन्त गम्भीर सैन्य आक्रामकता’ को संज्ञा दिँदै यसले राष्ट्रको राजनीतिक स्वतन्त्रतालाई जबरजस्ती तोड्न खोजेको आरोप लगाएको छ। राष्ट्रपतिले उपयुक्त समय र परिस्थितिमा सबै राष्ट्रिय रक्षा योजनाहरू कार्यान्वयन गर्न सेनालाई आदेश समेत दिएका छन्।
काराकास । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका विभिन्न स्थानमा आक्रमण गर्न आदेश दिएका छन्। अमेरिकी अधिकारीहरूले बीबीसीको साझेदार सीबीएस न्युजलाई दिएको जानकारी अनुसार भेनेजुएलाका सैन्य अखडाहरूलाई निशाना बनाएर यो आक्रमण गरिएको हो।
शनिबार बिहानैदेखि भेनेजुएलाको राजधानी काराकासमा ठुला विष्फोटका आवाजहरू सुनिएका छन् भने आकाशमा विमानहरू उडेको देखिएको छ।
प्रत्यक्षदर्शीका अनुसार सहरको मध्यभागमा रहेको ‘ला कार्लोटा’ सैन्य एयरफिल्ड र मुख्य सैन्य आधार शिविर ‘फुएर्टे ट्युना’ मा आक्रमणको प्रभाव देखिएको छ। यी दुवै स्थानमा विस्फोट भएको भिडियोहरू सार्वजनिक भएका छन्। आक्रमण लगत्तै वरपरका बस्तीहरूमा विद्युत् सेवा अवरुद्ध भएको छ। सहरका विभिन्न स्थानमा एकैसाथ विस्फोटको आवाज सुनिएको र राजधानी माथि धुवाँको मुस्लो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।