शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

‘अखण्ड भारत’ नक्साबारे जयशंकरको प्रष्टीकरण, बालेनले राखे ‘ग्रेटर नेपाल’को नक्सा

बिहीबार, २५ जेठ २०८०, २२ : ४६
बिहीबार, २५ जेठ २०८०

आज मिति २०८० साल जेठ महिनाको २५ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा समेटिएको छ ।

‘अखण्ड भारत’ नक्साबारे जयशंकर

भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको नवनिर्मित संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सालाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन् । बिहीबार मोदी सरकारको नौ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

उक्त नक्साका सम्बन्धमा यसअघि मन्त्रालयका प्रवक्ताले स्पष्ट पारिसकेको उल्लेख गर्दै विदेशमन्त्री जयशङ्करले सो नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको प्रष्टीकरण दिए ।

यसैगरी काठमाडौँ महानगरपालिका मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ । नेपालको इतिहास कसैले मेटेर मेट्न नसकिने भन्दै बालेनले उक्त नक्सा राख्न लगाएका हुन् ।

राष्ट्रियसभा गृहस्थित मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको बालेनका स्वकीय सचिव भूपदेश साहले जानकारी दिए ।   

तापक्रममा रेकर्ड

जल तथा मौसम विभागका अनुसार देशका विभिन्न स्थानमा रेकर्ड ब्रेक तापक्रम मापन गरिएको छ । विभागका अनुसार देशका ११३ जलवायु स्टेशनहरुको प्रारम्भिक तथ्यांकअनुसार ४ स्टेशनहरुले अघिल्लो उच्च रेकर्ड तोडेका छन् ।

शरणार्थी प्रकरण

नक्कली शरणार्थी प्रकरणमा परेको मुद्दामा बिहीबार पनि बहस जारी रह्यो । काठमाडौँ जिल्ला अदालतमा प्रतिवादीतर्फका वकिलहरुले बहस गरेका हुन् ।

प्रतिनिधिसभा बैठक

नेकपा एमालेको सांसद रघुजी पन्तले नेपालको चुरे पर्वतको खनिज सामग्री नबेच्न अर्थमन्त्रीलाई सचेत गराएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पन्तले देशको प्राकृतिक स्रोत साधन निर्यात गरेर देशको खर्च धान्न नसकिने बन्दै चुरे पर्वत नचलाउन चेतावनी दिएका हुन् । चुरे चलाए देशमा आगो बल्ने सांसद पन्तले चेतावनी दिए ।

बैठकमा सांसदहरू सीताकुमारी राना, लालप्रसाद सावाँ लिम्बू, मैना कार्की, एकनाथ ढकाल, सीता मिजार, प्रभु हजारा दुसाद, मनबहादुर गुरुङ, डा सुनिलकुमार शर्मा, रामकुमार राई, हरि ढकाल, ऐनबहादुर शाही ठकुरी, सूर्यप्रसाद ढकाल, लीलादेवी बोखिम, प्रतिक्षा तिवारी, नारायणी शर्मालगायतले आफ्ना धारणा व्यक्त गरे ।  प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २६ गते बिहान ११ बजे बस्नेछ ।

 

बालेनको निर्णयले यातायात क्षेत्रमा हलचल

अबको ठीक एक सातापछि तपाईं सार्वजनिक यातायातमार्फत उपत्यकाबाहिर जाने योजनामा हुनुहुन्छ भने बस चढ्न गोंगबुस्थित नयाँ बसपार्क नै जानुपर्ने भएको छ । अर्थात् तपाईं काठमाडौँको चाबहिलमा बस्नुहुन्छ भने चाबहिलबाटै उपत्यकाबाहिरको सार्वजनिक यातायात चढ्न पाउनुहुन्न । न चाबहिलमा लामो दुरीका सवारी साधन रोक्न पाइन्छ, न त यात्रु चढ्न र ओर्लन नै पाउँछन् ।

काठमाडौँ महानगरपालिकाको निर्णयअनुसार आगामी असार १ गतेदेखि उपत्यका बाहिरिने यात्रुलाई गोंगबुस्थित बसपार्कबाट मात्रै सार्वजनिक यातायातमा चढाउने र ओराल्ने (पिक एण्ड ड्रप) को व्यवस्था गरिएको हो ।

आर्थिक खबर

बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सामान्य वृद्धि देखिएको छ । कारोबार समयदेखि घट्न थाले पनि दिउँसो १ बजे तर्फबाट नेप्से परिसूचक बढ्न थालेको थियो । तर, १२३ वटा कम्पनीको मूल्य घटेसँगै अन्तिम समयमा वृद्धि खुम्चिएर सामान्यमा आएर रोकिएको हो ।

मन्त्री मोदीको पाँच महिने कार्यप्रगति

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनालाल मोदीले झन्डै पाँच महिनाको अवधिमा आफूले गरेका काम सार्वजनिक गरेका छन् ।

मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी उनले कर्मचारी व्यवस्थापनसँगै संघीय निजामती सेवा ऐन ढिलाइबारे जानकारी दिएका हुन् । उनले प्रधानमन्त्रीको निर्देशन अनुसार निजामती सेवा ऐनको ड्राफ्ट बनाएर अर्थ र कानुनमा रायका लागि पठाइएको बताए । उनले मन्त्रिपरिषद्मै ऐन अगाडि बढाएर संसदमा पठाउन प्रधानमन्त्रीलाई अनुरोध गरेको बताए ।

नेसपाको बैठक

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले क्रान्तिकारी आन्दोलनपछि हुर्केको युवापुस्तामा ऐतिहासिक क्रान्तिचेतको प्रवाहमा कमी देखिएको प्रति चिन्ता व्यक्त गरेका छन् ।

बिहीवारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको निम्ति लडेका व्यक्ति र शक्तिहरूको नै क्रमशः स्खलन र भ्रष्टीकरण, व्यवस्था परिवर्तनपछि जनजीवनमा त्यसको अपेक्षित प्रतिफलको अभाव जस्ता कमजोरीले पनि आज संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कठिन भइरहेको उनको ठहर छ ।

नेपालको पराजय

आईसीसी विश्वकप छनोट प्रतियोगिताको पहिलो अभ्यास खेलमा नेपाली टोली पराजित भएको छ । हाल दक्षिण अफ्रिकामा रहेको नेपाली क्रिकेट टोलीलाई पहिलो अभ्यास खेलमा स्कटल्यान्डले सात विकेटले पराजित गरेको हो ।

यो पनि....

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्ड जसरी पनि सत्ता लम्ब्याउने खेलमा लागेको बताएका छन् ।  बिहीबार पार्टी कार्यालयमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूको शपथ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई दुर्योधनसँग दाँज्दै प्रचण्ड पथको कुनै उद्देश्य र गन्तव्य नभए पनि सत्ता जोगाउने योजना मात्र रहेको बताए ।


गौर हत्याकाण्डसम्बन्धी रिट बिहीबार पनि हेर्न नभ्याउने सूचीमा परेको छ । बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको रिट हेर्न नभ्याउनेमा राखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत बिहीबार दिउँसो एकाएक हेटौंडा अस्पताल पुगे । अस्पतालमा छड्के अनुगमनका क्रममा आकस्मिक रुपमा हेटौंडा आइपुगेका मन्त्री बस्नेतले त्यहाँ करिब एक घण्टा बिताए ।

कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम पारित भएको छ ।

कोशी प्रदेश सरकारबाट माओवादी र जसपा बाहिरिएपछि प्रदेश सरकारले प्रदेश नामकरणको विरोधमा आन्दोलनमा उत्रिएको पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको छ । तर, वार्ता समितिलाई पहिचान पक्षधरले पूर्ण विश्वास गर्न सकेका छैनन् ।

यो पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप