सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार

आइतबार, १४ माघ २०८०, २० : ५१
आइतबार, १४ माघ २०८०

आज २०८० माघ १४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा गठबन्धन तोड्न एमाले उद्यत रहेको माधवकुमार नेपालको आरोप, नेपालका प्रमुख दलसँग चिनियाँ नेतृको अन्तरक्रिया, सेयर ब्रोकरमाथि सीआईबीको निगरानी, संवैधानिक परिषदमा माओवादीको प्रतिनिधित्व शून्य हुने खतरा, प्रमुख जिल्ला अधिकारीलाई प्रदेशमातहत राख्न सुझाव, ओलीले फिल्ममा प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्ने, सूर्यदर्शन सहकारीका थप दुई जनाविरुद्ध डिफ्युजन नोटिस लगायत छन् ।

१. गठबन्धन तोड्न एमाले उद्यत रहेको माधवकुमार नेपालको आरोप
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष नेकपा एमाले अत्यन्त गैर जिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको आरोप लगाएका छन् । एमाले विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्यत रहेको अध्यक्ष नेपालको भनाइ छ ।

२. नेपालका प्रमुख दलसँग चिनियाँ नेतृको अन्तरक्रिया
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल र चीनको सम्बन्धमा अन्य मुलुकले खेल्न खोजेको बताएकी छन् । नेपालको तीन दिने भ्रमणका क्रममा आइतबार काठमाडौँमा विभिन्न राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो रहेको बताउँदै अन्य केही मुलुकले यस्तो देख्न नचाहेको बताएकी हुन् ।

३. सेयर ब्रोकरमाथि सीआईबीको निगरानी
करिब १ खर्ब रुपैयाँ बराबरको अवैध क्रिप्टो करेन्सी र हुण्डीमा सेयर ब्रोकर कार्यालयका सञ्चालककै संलग्नता देखिएसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सेयर ब्रोकरहरुमाथि निगरानी राख्न थालेको छ । ठुलो रकमको कारोबार हुने सेयर ब्रोकरहरुलाई एकदुई दिन सेयर खरिद बिक्री गर्नेहरुको रकम चलाउन समस्या नहुने भएकाले यही पैसा प्रयोग गरेर अवैध कारोबारमा संलग्न रहेको आशंकामा ब्यूरोले उनीहरुमाथि आँखा लगाउन थालेको हो ।

४. संवैधानिक परिषदमा माओवादीको प्रतिनिधित्व शून्य हुने खतरा
प्रधानमन्त्री प्रचण्डले पूर्वसहमति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरेको अवस्थामा संवैधानिक परिषदमा माओवादी केन्द्रको प्रतिनिधित्व शून्य हुने खतरा देखिएको छ । राष्ट्रियसभा अध्यक्ष कांग्रेसले लिएको अवस्थामा सत्ता हस्नान्तरणपछि संवैधानिक परिषदमा कांग्रेसबाट प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षको हैसियतमा प्रतिनिधित्व हुनेछ । विपक्षी दलको नेता र सभामुखकको हौसियतमा एमालेका दुई जना रहनेछन् । परिषदमा प्रतिनिधित्व गर्ने उपसभामुख इन्दिरा राना रास्वपाकी हुन् । 

५. प्रमुख जिल्ला अधिकारीलाई प्रदेशमातहत राख्न सुझाव
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूले प्रमुख जिल्ला अधिकारीलाई पनि प्रदेशको संरचनामा राख्न सुझाव दिएका छन् । गृह मन्त्रालयमा आयोजित प्रहरी समायोजनबारे छलफलमा प्रदेश मन्त्रीहरूले यस्तो सुझाव दिएका हुन् ।

६. ओलीले फिल्ममा प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्ने
फिल्म ‘नमेटिने घाउ’ निर्माणको घोषणा भएको छ । आइतबार राजधानीको नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा उक्त फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्ममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसमेत देखिने भएका छन् । उक्त फिल्ममा ओलीले ‘प्रधानमन्त्री’को भूमिका निर्वाह गर्ने बताइएको छ ।

७. सूर्यदर्शन सहकारीका थप दुई जनाविरुद्ध डिफ्युजन नोटिस
पोखरास्थित सूर्यदर्शन सहकारीका अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ । यसअघि संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।

८. देउवा पुत्रको विवाहमा फूलमाला र खादा निषेध
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर सिंह देउवाको बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ । देउवा पुत्रको बिहे माघ २१ गते बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुनेछ भने भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टी आयोजना गरिने भएको छ ।

९. संसदीय दलको नेता फेर्ने निर्णय सच्याउन माओवादी प्रदेश कमिटीको निर्देशन
नेकपा माओवादी केन्द्र सुदूरपश्चिममा प्रदेश संसदीय दलको नेता परिवर्तनपछि लफडा भएको छ । एक पक्षले प्रदेश संसदीय दलको नेता परिवर्तन गरे लगत्तै उक्त निर्णय तत्काल सच्याउन पार्टीको प्रदेश कमिटीले निर्देशन दिएको छ ।

१०. काठमाडौँमा आज यस वर्षकै सर्वाधिक चिसो
काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । आज बिहान ८ः४५ बजे काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप