सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

दिनभरका शीर्ष समाचार : ‘ठुला माछा’ पक्राउ, निजी क्षेत्रमा तरंग

बिहीबार, १८ माघ २०८०, २२ : ०४
बिहीबार, १८ माघ २०८०

आज मिति २०८० साल माघ महिनाको १८ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

अरुण चौधरी पक्राउ

प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपका सदस्य अरुण चौधरी पक्राउ परेका छन् । बाँसबारी जुत्ता चम्पल कारखानाको १० रोपनी जग्गा नियमविपरीत आफ्नो बनाएको आरोपमा उनी पक्राउ परेका हुन् ।

 

चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका पूर्वअध्यक्ष अजित नारायण सिंह थापा र चाँदबाग रेसिडेन्सी प्रालिका वर्तमान अध्यक्ष संजय ठाकुरलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । यसैबीच चौधरी र थापा अस्पताल भर्ना भएका छन् ।

निजी क्षेत्रको आपत्ति

निजी क्षेत्रलाई त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी अरुण चौधरीलाई पक्राउ गरिएको भन्दै नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ ।

परिसंघले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारले निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी चौधरीलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो । परिसंघले चौधरी नेपालका एक प्रतिष्ठित उद्यमी भएको र देश छाडेर नभाग्ने भएपनि सरकारले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरिनु निजी क्षेत्र माथिको प्रहार भएको बताएको छ ।

भिजिट भिसा प्रकरण

त्रिभुवन विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको हो ।

अमेरिकाको ई–डिभी लट्रीको  भिसा प्रक्रियाका लागि लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा १० जनालाई नेपाल प्रहरीले पक्राउ परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार भिसा प्रयोजनका लागि एसएलसी तथा प्लस टूको नक्कली शैक्षिक सर्टिफिकेट बनाई पेस गरेको गोप्य सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको हो ।

मधेसको मुख्यमन्त्रीका कांग्रेसको माग

जनमत पार्टीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै एक प्रकारको अन्योल सिर्जना भएको छ । जनमत पार्टीले मधेस सरकारको नेतृत्व जसपाले पहिलो एक वर्ष गर्ने सहमति भएको भन्दै मुख्यमन्त्रीलाई राजीनामाका लागि दबाब बढाइरहेको छ ।

पूर्वसहमति अनुसार अब मधेस सरकारको नेतृत्व आगामी दुई वर्षका लागि आफूले पाउनुपर्ने जनमत पार्टीको दाबी छ । जसपाले भने त्यसप्रकारको सहमति नभएको जिकिर गर्दै आएको छ ।

मधेस सरकारको नेतृत्वका लागि जसपा र जनमत पार्टीबिच हानथाप चलिरहेको समयमा सत्ता गठबन्धनकै प्रमुख घटक कांग्रेसले नेतृत्व लिनुपर्नेबारे पार्टीभित्र छलफल सुरु गरिसकेका छन् ।

प्रदेशका थप समाचार

 

मन्त्रिपरिषद्को निर्णय

नेपाल सरकार मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहट निवासी उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।

 

उपनिर्वाचनको तयारी

निर्वाचन आयोग उप निर्वाचनको तयारीमा जुटेको छ । आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी आयोगले सरकारसँग प्रारम्भिक छलफल सुरु गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश र स्थानीय तहमा अनुत्पादक र आफू अनुकूलका नियुक्ति रोक्न सर्कुलर जारी गरेको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तह र प्रदेशमा सर्कुलर जारी गरेको हो ।

यो पनि...

भारत सरकारले नेपालका लागि ११ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट छुट्टाएको छ । बिहीबार वित्त वर्ष २०२४÷२५ का लागि ४७.६६ लाख करोड अनुमानित बजेट ल्याएको भारत सरकारले विदेश नीति (क्षेत्र)का लागि अनुदान र ऋण सहायता शीर्षकमा ८६ अर्ब ३२ करोड २० लाख भारु छुट्टाएको हो ।

काठमाडौँमा हल्का वर्षा भएको छ । बिहीबार राजधानीमा हल्का वर्षा भएपछि जाडो पनि बढेको छ । यस्तै जनजीवन समेत प्रभावित समेत भएको छ ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप