सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, ०२ वैशाख २०८१, २१ : ५४
आइतबार, ०२ वैशाख २०८१

आज २०८१ वैशाख २ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुई जनाको दाबी, संसदको हिउँदे अधिवेशन अन्त्य, सहकारी ठगीमा जीबी राईसहित २८ प्रतिवादी, कांग्रेसमाथि ओलीले लगाए आरोप, वैशाख ४ गते मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने, सट्टाबाजीमा संलग्न तीन जना पक्राउ, ट्राफिक जनचेतना र्यालीमा गृहमन्त्री रवि लामिछाने लगायत छन् ।

१. सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुई जनाको दाबी
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी परेको छ । प्रदेश प्रमुखसमक्ष दुई फरक गठबन्धनबाट मुख्यमन्त्री दाबी गरिएको हो । 

२. संसदको हिउँदे अधिवेशन अन्त्य
संघीय संसदको हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ । आइतबार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेर अधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जानकारी गराए ।

३. सहकारी ठगीमा जीबी राईसहित २८ प्रतिवादी
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटालाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको रुपन्देहीका एसपी रन्जित सिंह राठौरले रातोपाटीलाई बताए । ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन प्रहरीले सरकारी वकिललाई राय दिएको छ ।

४. कांग्रेसमाथि ओलीले लगाए आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन आइतबार रातिदेखि अन्त्य हुनु स्वाभाविक भएको बताए । 

५. वैशाख ४ गते मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिने तयारी गरेका छन् । सत्ता गठबन्धन फेरिएसँगै सरकारबाट नेपाली कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको हो । प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलका अनुसार वैशाख ४ गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिनेछन् ।

६. सट्टाबाजीमा संलग्न तीन जना पक्राउ
विश्वमा सञ्चालन हुने विभिन्न खेलहरूमा सट्टाबाजी गर्न प्रयोग हुने बेटिङ एप वान एक्स बेटमार्फत सट्टाबाजी गराउन संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–९ बस्ने ३१ वर्षीय सञ्जय कुमार साह र १९ वर्षीय रामजी साह तथा सोही नगरपालिकाको वडा नम्बर १० मा बस्ने ३० वर्षीय राकेश चौधरी छन् ।

७. ट्राफिक जनचेतना ¥यालीमा गृहमन्त्री रवि लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा आइतबार ट्राफिक जनचेतना ¥याली निकालिएको छ । सुन्धाराबाट सुरु भएको ¥याली रत्नपार्क, पुरानो बसपार्क हुँदै सभा गृह पुगेको थियो । ट्राफिक नियमबारे जनचेतना फैलाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको हो ।

८. सिन्दूर जात्रा मनाइयो 
भक्तपुरको मध्यपुर थिमिमा हरेक नयाँ वर्षको पहिलो आइतबार मनाइने सिन्दूर जात्रा भव्यताको साथ मनाइएको छ । चलन अनुसार मध्यपुर ठिमीवासीहरूले एक आपसमा सिन्दूर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाएका हुन् । 

९. नाउपा सांसद गिरीमाथिको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश
सुदूरपश्चिम प्रदेश सभाकी सदस्य इन्दिरा गिरीलाई नागरिक उन्मुक्ति पार्टीले गरेको कारबाहीविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कारबाहीको निर्णय कार्यान्वयन नगर्न भन्दै आइतबार अन्तरिम आदेश जारी गरेको हो ।

१०. सामान्य अङ्कले घट्यो सेयर बजार
नयाँ वर्षको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य गिरावटसँगै बन्द भएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको सेयर बजार अन्तिमसम्ममा २.३५ अङ्कले घटेर बन्द भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप