आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, २३ वैशाख २०८१, २१ : ५८
आइतबार, २३ वैशाख २०८१

आज २०८१ वैशाख २३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा गण्डकीका मुख्यमन्त्रीको विश्वासको मत विवादमा, जसपा नेपाल विभाजनतिर, नेपालको जनसङ्ख्या वृद्धिदर ८० वर्ष यताकै न्यून, रवि लामिछानेमाथिको छानबिनलाई कांग्रेसले बनायो ‘बटमलाइन’, नेपाल–भारत सर्वोच्च अदालतबिच हुने भनिएको एमओयू किन रोकियो ?, २६ गतेपछि कोशी सरकार गुमाउने कांग्रेसको निष्कर्ष, त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रकसहितलाई कारबाही गर्न सिफारिस लगायत छन् ।

१. गण्डकीका मुख्यमन्त्रीको विश्वासको मत विवादमा
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार लिएको भनिएको विश्वासको मत विवादमा तानिएको छ । प्रदेश सभामा ६० सदस्यमध्ये मुख्यमन्त्री अधिकारीको पक्षमा ३० मत मात्र परेको थियो । यद्यपि प्रदेश सभाका सभामुखले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित भएको घोषणा गरेका हुन् ।

२. जसपा नेपाल विभाजनतिर
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन उन्मुख देखिएको छ । सो पार्टीका बहुमत सांसदले निर्वाचन आयोगमा छुट्टै दल दर्ताको प्रक्रिया थालेका हुन् ।

३. नेपालको जनसङ्ख्या वृद्धिदर ८० वर्ष यताकै न्यून
नेपालमा वार्षिक रूपमा ०.९२ को दरले जनसङ्ख्या वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसाङ्ख्यिक सूचकहरूअनुसार नेपालमा २ करोड ९१÷९२ लाखको हाराहारीमा जनसङ्ख्या छ । जनसङ्ख्याको यो वृद्धिदर विगत ८० वर्ष यताकै न्यून रहेको जनाइएको छ ।

४. रवि लामिछानेमाथिको छानबिनलाई कांग्रेसले बनायो ‘बटमलाइन’
नेपाली कांग्रेसले सहकारी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथिको छानबिनलाई ‘बटमलाइन’ बनाएको छ । वैशाख २७ गते बस्ने संसदीय दलको बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने मागबारे नयाँ रणनीति बनाउने प्रमुख सचेतक रमेश लेखकले बताए ।

५. नेपाल–भारत सर्वोच्च अदालतबिच हुने भनिएको एमओयू किन रोकियो ?
भारतका प्रधान न्यायाधीश डा. धनञ्जय यशवन्त (डीवाई) चन्द्रचूड नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनको भ्रमणको कार्यसूचीमा नेपालको सर्वोच्च अदालतसँग द्विपक्षीय आदानप्रदानका लागि एमओयू गरिनेसमेत उल्लेख थियो । तर उक्त कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको थियो । 

६. २६ गतेपछि कोशी सरकार गुमाउने कांग्रेसको निष्कर्ष
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार २६ गतेपछि नरहने निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ । कांग्रेसकै नेताहरूका अनुसार बहुमत (५२ सांसद)ले प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित गरेको आधारमा पनि अब सरकारमा बसिरहन मुख्यमन्त्रीलाई नैतिकताले दिँदैन ।

७. त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रकसहितलाई कारबाही गर्न सिफारिस
त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय समितिले परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीसहित जिम्मेवार पदाधिकारीहरूलाई आवश्यक कारबाही गर्न सिफारिस गरेको छ ।

८. ललितपुरमा आगलागी हुँदा पाँच जना घाइते
ललितपुर महानगरपालिका वडा नम्बर १७ स्थित एक टहरोमा आइतबार आगलागी भएको छ । मोबिल स्टोर भएको उक्त टहरोमा आगलागी हुँदा तीन जना बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जनकारी दिए ।  

९. मौसमविद् भन्छन्– अब पानी पर्छ
यो वर्षको हिउँदमा सुक्खा याम लम्बिँदा देशका विभिन्न भागमा डढेलो र आगलागीका घटनाहरू बढिरहेको छ । मौसमविद्का अनुसार नेपालमा पश्चिमबाट पानी पार्ने प्रणाली प्रवेश गरिरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुका कारण अहिले अकासमा बादल बन्ने प्रक्रिया बढिरहेको मौसमविद्को भनाइ छ ।

१०. जीबी राईबारे मलेसियाका समकक्षीसँग कुरा गरे गृहमन्त्री लामिछानेले
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र मलेसियाका गृहमन्त्री सैफुद्धिन नसुत्तिन इस्माइलबिच फोनवार्ता भएको छ । गत १८ वैशाखमा दुई मन्त्रीबिच कुराकानी भएको मलेसियाका गृहमन्त्री इस्माइलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप