आइतबार, ०९ असार २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, १६ जेठ २०८१, २२ : ००
बुधबार, १६ जेठ २०८१

आज २०८१ जेठ १६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा सर्वोच्चको परमादेशपछि गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त, विपक्षी गठबन्धनको बैठकमा माधवकुमार नेपालको ‘इन्ट्री’, सन्दीपको भिसाका लागि युवाहरूको दबाबमूलक प्रदर्शन, बजेटबारे अर्थमन्त्रीको ब्रिफिङ, समानताको हकमा विश्वका कयौँ मुलुक नेपालभन्दा पछाडि ः ओली, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया हाजिर जमानीमा रिहा, मापसे तथा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकका रूपमा खटाउन थालियो, बालेनविरुद्ध सडक विभागको ‘एक्सन’ लगायत छन् ।

 १. सर्वोच्चको परमादेशपछि गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

सर्वोच्च अदालतले परमादेश जारी गरेपछि गण्डकीको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । उनी प्रदेश सभामा सबैभन्दा ठुलो दलको नेताका रूपमा मुख्यमन्त्री नियुक्त भएका हुन् । सर्वोच्चले यसअघि खगराज अधिकारीले मुख्यमन्त्रीका रूपमा प्रदेश सभाबाट लिएको विश्वासको मतमा कैफियत देखिएको भन्दै बदर गरेको थियो ।

२. विपक्षी गठबन्धनको बैठकमा माधवकुमार नेपालको ‘इन्ट्री’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान राजनीतिक अवस्था र मधेस सरकारबारे छलफल गर्न बोलाएको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सामेल भएका छन् । कांग्रेस सभापति देउवाले विपक्षी गठबन्धनमा रहेका जसपा नेपाल, लोसपा नेपालसहित सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी पार्टीका शीर्ष नेतासँग छलफल गरेका हुन् । सत्तामा रहेकै समयमा एकीकृत समाजवादी पार्टीले विपक्षी गठबन्धनको बैठकमा सहभागिता जनाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।  

३. सन्दीपको भिसाका लागि युवाहरूको दबाबमूलक प्रदर्शन

क्रिकेटर सन्दीप लामिछानेको भिसाका लागि युवाहरूले दबाब दिएका छन् । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि युवाहरूले दबाबमूलक प्रदर्शन गरेका हुन् । 

४. बजेटबारे अर्थमन्त्रीको ब्रिफिङ

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबारे पत्रकारहरूलाई ब्रिफिङ गरेका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री पुनले बजेटका समग्र विषयमा प्रस्ट पारेका हुन् ।

५. समानताको हकमा विश्वका कयौँ मुलुक नेपालभन्दा पछाडि : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लैंगिक समानताको हकमा विश्वका कयौँ मुलुक नेपालभन्दा पछाडि रहेको बताएका छन् । पार्टीले आयोजना गरेको महिला भेलालाई सम्बोधन गर्दै उनले नेपालको उपलब्धिबाट विश्वले सिक्नुपर्ने तर्क गरे । 

६. कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया हाजिर जमानीमा रिहा

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले सिरोहियालाई हाजिर जमानीमा छाड्ने निर्णय गरिएको बताए । 

७. मापसे तथा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकका रूपमा खटाउन थालियो

काठमाडौँका विभिन्न स्थानबाट पछिल्लो समय मापसे (मादक पदार्थ सेवन) लगायत ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको छ । गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री रवि लामिछानेले सो घोषणा गरेका थिए । 

८. सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले कसरी गर्दैछ काम ? 

विभिन्न सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले सभामुख देवराज घिमिरेसँगको छलफलपछि काम सुरु गर्ने भएको छ । समितिका संयोजक सूर्य थापाले समितिको कार्यालय कहाँ रहने, कसरी काम गर्ने भन्नेबारे सभामुखसँग छलफल गरेर टुङ्गोमा पुग्ने बताए । 

९. बालेनविरुद्ध सडक विभागको ‘एक्सन’

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहविरुद्ध सडक विभागले ‘एक्सन’ लिएको छ । बुधबार काठमाडौँ महानगरलाई पत्र लेख्दै सडक विभागअन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले भत्काइएको सडक खण्ड २ दिनभित्र पुनर्स्थापना गर्न भनेको हो ।

१०. गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथि सुनुवाइ स्थगित

गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ । निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले बुधबार सुनुवाइ नगरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप