आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म

शनिबार, १५ मङ्सिर २०८१, ०० : ०१
शनिबार, १५ मङ्सिर २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. छ उम्मेदवारलाई कारबाही
निर्वाचन आयोगले निर्वाचन आचार संहिता विपरीत गतिविधि गर्ने ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगको टोलीले गरेको अनुगमनका क्रममा उनीहरूले आचारसंहिता विपरीत चुनावी गतिविधि गरेको पाइएपछि स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधिएका उम्मेदवारहरू कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगर वडा नम्बर १६ का रहेका छन् ।

२. बीआरआई सहकार्य फ्रेमवर्क
सत्ताधारी शक्ति कांग्रेस र एमालेले ‘बीआरआई सहकार्य फ्रेमवर्क’मार्फत चीनलाई ६ वटा पूर्वाधार परियोजना निर्माणको लागि प्रस्ताव गरेको छ । यो फ्रेमवर्क निर्माणमा सहभागि एक नेताका अनुसार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका दौरानमा पूर्वाधार विकास, खेलकुद विकास र सहरी विकास गरी ६ वटा परियोजनाको लागि प्रस्ताव गर्न लागिएको हो । सबै परियोजना नेपालले चीनलाई अनुदानमा निर्माणको लागि आग्रह गर्न लागेको हो ।

३. प्रधानमन्त्रीको चीन भ्रमण
मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा निजी क्षेत्रको प्रतिनिधित्व उल्लेख्य रूपमा हुनेछ । जसमा ४८ जना, उद्योगी व्यवसायी सहभागी हुनेछन्  ।

उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कर्मससँग आवद्ध र ऊर्जासँग सम्बन्धित उद्योगी, व्यवसायी टोलीमा हुनेछन् । त्यसैगरी चीन-नेपाल आयात, निर्यातको व्यापार गरिरहेका केही व्यवसायीसमेत सहभागी हुने जानकारी गराइएको छ ।

४. रविको बयान 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलको बैंक खाताको विवरण प्रहरीले संकलन गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानको लागि प्रहरीले उनीहरुले बैंक खाताको विवरण संकलन गरेको हो । सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गर्न भन्दै अदालतबाट म्याद लिएर थुनामा राखेको छ ।

यसैबिच, लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौंमा आजको बयान सकिएको छ । उनलाई पोखराबाट बिहीबार काठमाडौँ ल्याइएको थियो ।

५.मौद्रिक नीति समीक्षा
नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्‍यो । प्रत्येक त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने व्यवस्था अनुसार अन्तिम दिन राष्ट्र बैंकले मौद्रिक समीक्षा सार्वजनिक गरेको हो । शनिबारसम्म नीति सार्वजनिक गर्नुपर्ने भए पनि भोलि बिदा भएका कारण समीक्षाको लागि आज नै अन्तिम दिन थियो ।

मौद्रिक नीतिको समीक्षा गरे पनि राष्ट्र बैंकले यस पटक कुनै पनि परिवर्तन गरेन । सात पृष्ठ र ३८ बुँदामा सार्वजनिक गरिएको समीक्षामा नीतिगत व्यवस्था शीर्षक अन्तर्गत दुई बुँदा उल्लेख त गरिएको थियो, तर दुवैले विद्यमान व्यवस्था यथावत् राखेको मात्रै उल्लेख गरेको छ । राष्ट्र बैंकका उपनिर्देशक भागवत आचार्य तीन महिनाको समीक्षाले मौद्रिक नीतिको दिशा सही बाटोमा गइरहेको देखिएकोले यस पटकको समीक्षामार्फत कुनै पनि नीतिगत परिवर्तन नगरिएको बताउँछन् । 

६. मानव तस्करी प्रकरण
जिल्ला अदालत काठमाडौँले नक्कली कागजात तयार गरेर जापानमा मानव बेचबिखन तथा ओसार पसार गरेको अभियोगमा तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारी जोडिएको यो मुद्दामा पक्राउ परेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवारलाई थुनामा पठाउने  आदेश गरेको हो ।

७.  माओवादीको परिपत्र
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर मसान्तभित्र सबै स्थानीय तह –पालिका)मा सम्मेलन सक्न भन्दै परिपत्र पठाएको छ । मंसिर १२ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकको निर्णयअनुसार माओवादीले कार्यविधि बनाएर मातहतका समितिलाई परिपत्र पठाएको हो । गत कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले पार्टीको स्थानीय तहको सम्मेलन गर्ने निर्णय गरेको थियो ।

८. भारत भ्रमणको तयारीमा प्रधानसेनापति
नेपाल-भारत सम्बन्ध राजनीतिक तहमा त्यति सुमधुर हुन नसकेको अवस्थामा दुवै देशका सेनाबिच भने उच्चस्तरीय भ्रमण आदानप्रदान बढ्न थालेको छ । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले हालै नेपाल भ्रमण गरेका थिए । अब चाँडै नै नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल भारत भ्रमणमा जाने बताइएको छ ।

९. नक्कली भ्याट प्रकरण

नेपालमा पेप्सी, माउन्टेन ड्यू, मिरिण्डा, सलाइस लगायतको आधिकारिक उत्पादक तथा विक्रेता वरुण वेभरेज (नेपाल) प्रालिका सञ्चालकहरूले नै कर छली गरेको भनी बयान दिएको पाइएको छ ।
उनीहरुले कर छली गरेको अनुसन्धान अधिकृतसमक्ष स्वीकार गरेका छन् । कम्पनीमा वित्तको जिम्मेवारी पाएका प्रविनकुमार अग्रवालले आफूभन्दा पहिले यो जिम्मेवारीमा अर्का सञ्चालक अमितकुमार गुप्ता रहेको र अनुसन्धान प्रक्रिया सुरु हुनुभन्दा पहिले नै उनको राजीनामा स्वीकृति भएको बताएका छन् । अग्रवालले आफूले वरुण वेभरेजको खरिद, वित्त, लेखा, कर तथा भण्डारण लगायत जिम्मेवारी निभाउँदै आएको बयान दिएका छन् । 

१०. प्रसाईंको बयान
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एउटा टेलिकम कम्पनीमा लगानी रहेको भनेर सार्वजनिक गरेको कागजात ‘झुटो’ भएको स्वीकार गरेका छन् । केन्द्रीय साइबर ब्यूरोका अनुसन्धान अधिकृतहरूलाई बयान दिँदै उनले सो कागजात झुटो रहेको स्विकारेका हुन् ।  

१. भारतीय गुन्डा नाइके 
भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयल पक्राउ परेका छन् । झापाको चारआली घर भएका उनी घ्यूको व्यापार गर्छन् । झापाबाट भारतको आसाममा लगेर उनले घ्यू बेच्ने गरेका हुन् । 

२. एनपीएल
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सहभागी आठ ओटै टोलीका कप्तानहरूले आफूहरू प्रतियोगिताका लागि तयार रहेको बताएका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा शुक्रबार नेपाल क्रिकेट संघद्वारा आयोजित कार्यक्रममा कप्तानहरूले आफूहरू उपाधि जित्न लालायित रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?