१२ बजे १२ समाचारः रातोपाटी १२ वसन्त पार, नेपालको शान्दार जित

काठमाडौँ । रातोपाटी डटकम वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ–
१. रातोपाटी १२ वसन्त पार
अनलाइन न्युज पोर्टल रातोपाटी डटकमको सङ्घर्षपूर्ण तर सफल यात्राले मंगलबारबाट १२ वसन्त पार गरेको छ ।
सबैको र सबैभन्दा राम्रो हुने सङ्कल्प गरेको रातोपाटी डटकम समयको भरपर्दो साक्षी हो । यसले डिजिटल अक्षर, स्वर र दृश्यका माध्यमबाट प्रतिक्षण वर्तमानको सही अभिलेख राख्छ । घटना सँगसँगै समाचार पस्कने रातोपाटी डटकम अहोरात्र अर्थात् चौबिसै घण्टा जागा रहने अग्रणी न्युज पोर्टल समेत हो भन्न पाउनु हाम्रा लागि गौरवको कुरा हो ।
२. नेपालको शानदार जित
विश्व कप लिग २ अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३६ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो । जवाफी लक्ष्य पछ्याउन उत्रिएको नेदरल्याण्ड्स ४९.२ ओभरमै २२० रनमा अलआउट भएसँगै नेपालले १६ रनले जित हासिल गरेको हो।
३. देवी खड्का, जसले पितृसत्तामाथि दावानल झोँसिदिइन्
जनयुद्धमा पितृसत्ता विरुद्धको योद्धा बनेँ, शान्तिकालमा महिला समानताका लागि लडेँ र आज म आफैँले रोजेको बाटोमा रुमलिएकी छु । म र मजस्ता साथीहरूको हिंसाका बारेमा वर्षौं चुप रहेँ, म कस्तो योद्धा रहेछु । मैले नबोले कसैले नबोल्ने रहेछ— ‘देवी’ नाम दिइएको डकुमेन्ट्रीमा देवी खड्काको संवाद छ ।
सामान्य किसान परिवारमा ०३६ जेठ १५ गते दोलखाको गौरिशंकर– २, जुँगुमा जन्मिएकी खड्काले सामन्ती समाजले आर्जन गरेको विभेदकारी चेतनाका असाधारण पर्खाल नाघेर नेपाली समाज र नेपाली महिलाका अघिल्तिर एउटा नयाँ मानक स्थापित गरेकी छन् ।
४. बैशाखसम्मको मूल्यवृद्धि दर २.७७ प्रतिशतमा झर्यो
मूल्यवृद्धिदर निरन्तर घट्दै गएको छ । २०८२ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशतमा झरेको हो । यो दर चैत महिनासम्म ३.३९ प्रतिशत रहेको थियो भने अघिल्लो वर्षको मुद्रास्फीति ४.४० प्रतिशत रहेको थियो । पछिल्ला महिनामा घट्दै गएको मूल्यवृद्धि दरले यो महिना पनि निरन्तरता पाएको हो ।
५. पार्टी एकताबारे माधव र विप्लवसँग छलफल भइरहेको छ: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा आबद्ध पार्टीसँग एकताबारे छलफल भइरहेको दाबी गरेका छन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी माओवादी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई मंगलबार खुमलटारमा स्वागत गर्ने क्रममा उनले एकताबारे छलफल भइरहेको दाबी गरेका हुन् ।
६. विदेशी विनिमय सञ्चिति २५ खर्ब नाघ्यो, साढे १४ महिनाको आयात धान्ने
काठमाडौँ । नेपालको विदेशी मुद्राको सञ्चिति २५ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्म कुल सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको हो । चैत महिनाको अन्त्यसम्म यस्तो सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रहेको थियो ।
रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक सुधार हुँदा यो महिना विदेशी विनिमय सञ्चिति बढेको हो । वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । योसँगै यो अवधिमा कुल रेमिट्यान्स रकम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ ।
७. टोखामा प्रहरीले लागुऔषध कारोबारीमाथी गोली चलायो
लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले काठमाडौँको टोखामा गोली चलाएको छ ।
गोली प्रहार गरेर दुई जना कारोबारीलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
८. तीनकुने घटना
तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न आरोपमा थुनामा रहेका दुर्गा प्रसाईँको तर्फका कानुन व्यवसायीको बहस अन्तिम चरणमा पुगेको छ ।
मंगलबार वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रसाईँको तर्फबाट अन्तिम बहस गर्दै छन् । यसअघि प्रसाईँको तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, टङ्क दुलाल, डा. भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लव कुमार मैनाली, अधिवक्ता दीपेन्द्र झा, रेनुका देवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र अधिवक्ता मनिष पाण्डेले बहस गरेका थिए ।
९. अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्ः अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्त नीति र मौद्रिक नीतिका बीचमा दरारको खोजी गर्नेहरू आउने दिनमा निराश हुने बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले मौद्रिक नीति र वित्त नीतिबिचको आपसी सन्तुलन, अर्थ मन्त्रालय र राष्ट्र बैंकका बिचको आपसी सम्बन्ध, अर्थमन्त्री र गभर्नरबिचको सम्बन्धको विषय केही समयदेखि छलफल र चर्चाको विषय बन्ने गरेको उल्लेख गर्दै यस्तो देख्दा दुःख लाग्ने बताए ।
१०. अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक, बुधबार मतदान हुने
नेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । नेतृत्वका लागि सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचन हुने भएको हो । निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
११. मर्छु भन्दै गोक्यो ताल क्षेत्र पुगेका चिनियाँ नागरिकको उद्धार
मर्छु भन्दै सोलुखुम्बु स्थित गोक्यो ताल क्षेत्र पुगेका चिनियाँ नागरिकको प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिक छुई हुवाङलाई मंगलबार एभरेष्ट हेलिकप्टरमार्फत उद्धार गरिएको पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका डीएसपी रिपेन्द्र कुमार सिंहले रातोपाटीलाई बताए ।
१२ यसरी व्यवस्थापन गर्दैछ बिपी कोइराला क्यान्सर अस्पतालले फोहर
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट निस्केको फोहरलाई पर्यावरणमैत्री रूपमा व्यवस्थापन गर्दै आइएको छ । अस्पतालले फोहरको स्रोतमा नै वर्गीकरण गरी दुई प्रविधि र अन्य विधि प्रयोग गरेर व्यवस्थापन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ जुनभित्र एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई श्रेष्ठ नेतृत्वको एनआरएनएको आग्रह
-
कस्तो हो बोइङ ७८७–८ ड्रीमलाइनर विमान ?
-
५ बजेसम्म अनेरास्ववियुको निर्वाचनमा ९०५ मत खस्यो
-
अस्पतालको होस्टेलमा खसेको थियो विमान
-
कैलालीमा फरार प्रतिवादीमाथि गोली प्रहार, दुई जना पक्राउ
-
सौर्यबत्ती जडानमा साढे २ करोड भ्रष्टाचार, पूर्व गाउँपालिकाअध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर