शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अनिश्चित, आलमविरुद्ध सर्वोच्च जाने पीडित

आइतबार, २२ असार २०८२, २३ : ५८
आइतबार, २२ असार २०८२

आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

१. विद्यालय शिक्षा विधेयक अनिश्चित

विद्यालय शिक्षा विधेयक पारित गर्ने उद्देश्यले बोलाइएको संसदीय समितिको बैठक स्थगित भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूका मागका विषयमा थप छलफल गर्न समय माग गरेपछि विधेयक पारित गर्ने कार्यसूची प्रभावित बनेको हो ।

२. आलमविरुद्ध सर्वोच्च जाने बम विस्फोटका पीडितको जिकिर

२०६४ चैत २७ मा रौतहटको राजपुर फरहदवामा भएको विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनाका पीडित गौरीशङ्कर राम चमारले काठमाडौँमा पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा उनले मोहमद अफताव आलमविरुद्ध आफू सर्वाेच्च अदालतसम्म न्यायका लागि जाने बताएका छन् ।

३. सवारी दुर्घटनामा ११ वर्षमा २३ हजारको मृत्यु

सवारी दुर्घटनामा ११ वर्षमा २३ हजार जनाको मृत्यु भएको पाइएको छ । सवारी दुर्घटनाबारे केन्द्रित रहेर रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

४. एसपीलाई तथानाम भनेर फरार जसपा नेता फेसबुक लाइभमा झुल्किए

एसपीलाई तथानाम भनेर फरार भएका जसपा सर्लाही जिल्ला अध्यक्ष अशोक यादवले आइतबार फेसबुक लाइभमा आएर आफूविरुद्ध झुटा आरोप लगाइएको आरोप लगाएका छन् । उनले आफू छोराको उपचारमा रहेको पनि बताएका छन् ।

५. राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्ला

राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी एकमात्र जिल्ला हुम्लाको परिचय आइतबारदेखि फेरिएको छ । हुम्ला आइतबारदेखि राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।

६. विद्या भण्डारी सक्रिय राजनीतिमा आएपछि एमालेभित्र ध्रुवीकरण

पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आएपछि एमालेभित्र ध्रुवीकरण प्रस्ट रुपमा बढ्न थालेको छ । भण्डारी पक्षका नेताहरू ११ औँ महाधिवेशन केन्द्रित हुँदै गर्दा अध्यक्ष केपी शर्मा ओली पक्ष भने ‘मिसन ०८४’को रट लगाएर नेतृत्व परिवर्तनको एजेण्डालाई पन्छाउने प्रयासमा जुटेको छ ।

७. कांग्रेसभित्र उजुरीका चाङ

सत्तारुढ दल नेपाली कांग्रेसभित्र उजुरीका चाङ लागेका छन् । पार्टीको अनुशासन समितिमा ५० जिल्लाबाट दुई हजार १०० उजुरी आएको संयोजक आनन्द ढुंगानाले जानकारी दिए । उनले आइतबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै ११ केन्द्रीय सदस्य, एक प्रदेश सभापति र ७ जिल्ला सभापतिविरुद्ध समेत उजुरी आएको बताए । 

८. बालेनसँगको द्वन्द्वबारे प्रशासकीय अधिकृत गुरागाइँ बोले 

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले महानगर प्रमुख बालेन (बालेन्द्र) शाहसँगको द्वन्द्वबारे धारणा राखेका छन् । उनले मेयर, उपमेयर र अन्य जनप्रतिनिधिको निर्णयमा आफू बाधक नबन्नेसमेत प्रस्ट पारे ।

९. चार जनाको हत्यापछि प्रहरी कन्ट्रोल रुममा फोन– मलाई पक्रिन आउनु

भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ मा गएराति चार जनाको हत्या भएको छ । हत्यामा संलग्न युवकले प्रहरी कन्ट्रोल रुपमा फोन गर्दै आफूलाई पक्रिन आउन भनेको तथ्य प्रकाशमा आएको छ ।

१० .त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम टुङ्गियो

त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले तीन जनाको नाम टुङ्गो लगाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले तीन जनाको नाम टुङ्गो लगाएको हो ।

११. ऊर्जामन्त्री खड्कालाई सांसदका प्रश्नैप्रश्न

आइतबार बसेको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कामाथि प्रश्न बर्साएका छन् । सांसदहरूले जलस्रोत, विद्युत् र नवीकरणीय ऊर्जा विधेयक लामो समयदेखि अघि नबढेको र सुनकोशी मरिण डाइभर्सनको काम सुस्त भएको विषयमा मन्त्री खड्काको कार्यशैलीमाथि प्रश्न उठाए । 

१२. नेपाली टोली स्वदेश फर्कियो

एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किएको छ । 

सिंगापुरमाथि २ विकेटको जित निकाल्दै नेपाल च्याम्पियन बनेको हो । खेलाडीहरूलाई क्यानका सचिव पारस खड्का लगायतले विमानस्थलमा स्वागत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप